यस्तो छ मिटरब्याजीको डरलाग्दो जालो

काठमाडौँ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटरब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटरब्याज लिएको अभियोगमा पक्राउ परेका थिए ।
प्रहरीका अनुसार मिटरब्याजको रमाइलो पक्ष के हुन्छ भने मिटरब्याजीहरू बेरोजगार हुन्छन् तर ब्याज दिनेहरू व्यापारी÷व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ । ‘ह्यान्ड टु ह्यान्ड’ र ‘क्यास टु क्यास’ कारोबार हुने गर्छ ।
यस्तैमा हालै मात्र एउटा ठूलो मिटरब्याजीको जालोमा काठमाडौँ उपत्यकामा लामो समयदेखि मदिराको व्यापार व्यवसाय गर्दै आएको सम्पन्न परिवार परेको छ । काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीकै तनावमा गत पुस २१ गते बेपत्ता भएको घटना सार्वजनिक भएको छ ।
बेपत्ता अग्रवाल परिवारको खोज तथा अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको निवासबाट ‘मिटरब्याजीले दिएको शारीरिक तथा मानसिक यातना सहन नसकेर भाग्न बाध्य’ भएको पत्र फेला पारेको थियो । “एक अर्बभन्दा बढी ऋणमा डुबेकाले अग्रवाल परिवार नेपाल छाडेर भारत पुगेको रहेछ”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्नुभयो, “ऋण लिएकाहरूबाट चरम यातनासँगै मरिने वा बाँच्ने टुङ्गो नभएको समेत पत्रमा उल्लेख थियो ।”
सो घटनाको केही दिनपछि अग्रवाल परिवार पुनः नेपाल फर्किएको छ । अग्रवाल परिवारबाट पूर्वएसएसपी दीपक रञ्जित, घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो ।व्यवसायी ओमप्रकाशका छोराद्वय अमित तथा अभिषेक अग्रवालले पनि मिटरब्याजमा लिएको २५ करोड ऋण तिर्न नसक्दा विभिन्न व्यक्तिले दिएका बारम्बारको शारीरिक तथा मानसिक यातना सहन नसकेर भाग्नु परेको पीडा व्यक्त गर्नुभयो । त्यसै कारण उहाँहरूले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शान्तिसुरक्षाका लागि निवेदन दिनुभयो । त्यससँगै महानगरीय प्रहरी परिसर काठमाडौँले पनि आरोपितहरूमाथि सोधपुछ सुरु गरेको छ ।पीडित नै पीडक
दुईजना ऋणीविरुद्ध चाररचार करोड ठगीको उजुरी बोकेर प्रहरी कार्यालय पुगेका दोलखा मैलुङ घर भई हाल ललितपुर भैँसेपाटी बस्दै आएका ३३ वर्षीय गणेश उप्रेती सुरुमा प्रहरीको आँखामा पीडित देखिए । तर, ऋणी भनिएका प्रकाश कार्की र हेमराज गुभाजू स्वयं प्रहरी कार्यालयमा उपस्थित भएपछि भने पीडित भनिएका उजुरीकर्ता उप्रेती नै पीडक भएको रहस्य खुल्यो । बेरोजगार उप्रेतीले ऋण दिनसक्ने आर्थिक हैसियतको खोजी गर्दा पीडित भनिएका पीडक र पीडक भनिएका पीडित देखिएका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गत साउन ४ गते मिटरब्याजीको अभियोगमा अभियुक्त उप्रेतीलाई चाबहिलबाट पक्राउ गरी उल्टै ठगीमा मुद्दा चलाएको थियो । उनको पक्राउसँगै मिटरब्याज जोडिएर कार्कीलाई दिएको १६ लाख र गुभाजूलाई दिएको १४ लाख दुवैको चार÷चार करोड बनाएको तथ्य खुलेको हो । पीडितको बयानका आधारमा प्रहरीले उप्रेतीको साथबाट १९ करोड ४३ लाख रकम उल्लेख गरिएका ६० थान चेक बरामद गरेको थियो । त्यसअघि ललितपुरबाट महेशबहादुर सिंह र कोटेश्वरबाट राजु अवाले पनि यस्तै मिटरब्याजीको अभियोगमा पक्राउ परेका थिए ।बैङ्किङ कसुर ९बाउन्स चेक० ठगी मुद्दाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ऋण दिएको रकम उठाउन ‘बाउन्स चेक’ बोकेर उजुरी दिन प्रहरी कार्यालय पुग्नेहरू नै मिटरब्याजीको अभियोगमा पक्राउ पर्ने गरेका छन् । यस्ता व्यक्तिले ऋणीबापत दिएको रकमको ‘चेक बाउन्स’ गरी ठगीमा मुद्दा दिने गरेको पाइएको छ । बाउन्स चेक ठगीमा मुद्दा चलाउन उच्च अदालत र प्रहरीले १० लाख रुपियाँभन्दा बढी रकमको स्रोत खोज्ने भएकाले प्रायः ठूलो रकम ऋण दिनेहरू मिटरब्याजी हुने गरेका छन् ।लेनदेनबाट सिर्जित अपराध
महानगरीय प्रहरी अपराध महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला मिटरब्याज आर्थिक लेनदेनबाट सिर्जित अपराध भएको बताउनुहुन्छ । “मिटरब्याजीविरुद्ध स्पष्ट कानुनी उपचार छैन”, उहाँले भन्नुभयो, “प्रमाण नपुगे मुद्दा चलाउनै समस्या हुन्छ ।”
स्रोत नखुलेको सम्पत्तिसम्बन्धी छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइन्छ । उहाँका अनुसार ऋण वा रकम लिँदा–दिँदा दुवै पक्ष लिखत कागजमै सहमत हुन्छन्, ऋण दिनेले लिने पक्षसँग हस्ताक्षरसहितको खाली चेक लिन्छन् ।
ऋणीले भाका अवधिमा लिखत कागजअनुसारको रकम दिन नसकेमा सोही चेक उपयोग गरी साहु स्वयंले मिति र रकम आफैँले खुलाई चेक बाउन्समा उजुरी दिने गर्छन् । सम्बन्धित बैङ्कले तीन पटक चेक बाउन्स गरेमा बैङ्किङ कसुरअन्तर्गत ठगी मुद्दा लाग्ने कानुनी व्यवस्था छ ।डरलाग्दो कारोबार =
घरायसी सरसापट तथा खर्च टार्न एकले अर्कोलाई आर्थिक सहयोग गर्नुलाई प्रचलित कानुनले रोकतोक गरेको छैन । तर, यसलाई कतिपयले आयआर्जनको मुख्य आधार बनाई अकुत सम्पति कमाउने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार मिटरब्याजी भनेर नभई बैङ्किङ कसुर ठगीअन्तर्गत चेक बाउन्सका उजुरी दिनेमध्ये केही मिटरब्याजीको आशङ्कामा पक्राउ पर्ने गरेका छन् ।प्रहरीका अनुसार यस्तो धन्दामा बेरोजगार तथा गुण्डागर्दीमा संलग्न बढी देखिन्छन् । प्रहरीका बहाल तथा अवकाशप्राप्त उच्च अधिकारी, पूर्वराष्ट्रसेवक कर्मचारी र राजनीतिक तथा प्रशासनिक पहुँच भएकाहरूको संलग्नता पनि बढी छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार बैङ्किङ कसुरअन्तर्गत चेक बाउन्स ठगीमा मासिक ४५० देखि पाँच सयसम्म उजुरी पर्छन् । तीमध्ये ५० प्रतिशत ब्याजसँग सम्बन्धित हुन्छन् । मिटरब्याजीले २४ देखि शतप्रतिशतसम्म ब्याज लिने गरेको पीडितहरू बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box
TOP
Shares