युरेनियम जस्तो देखिने धातुसहित कांग्रेस ललितपुरका नेता महत बौद्धबाट पक्राउ

काठमाडौं फागुन ३ ।
रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको अभियोगमा ललितपुरका एक कांग्रेसका नेतासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत हायत होटलको पार्किङबाट पक्राउ परेका हुन् । उनी माओवादी केन्द्रका राजकाजी महर्जनसँग पराजित भएका थिए । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा ललितपुर जिल्लाको पार्टी उपसभापतिमा समेत निर्वाचित भएका थिए । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहितका व्यक्तिहरु पक्राउ परेका हुन् । महतसँगै पूर्व अर्थराज्य मन्त्री उदयशम्शेर राणाको पनि यस घटनामा संलग्न रहेको हुन सक्ने उच्च प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् ।
प्रहरीको विशेष ब्युरोका सहयोगमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको बा ५च ८२०९ नम्बरको हुण्डाई गेटज कारबाट कालो छालाको झोलामा राखिरहेको अवस्थामा युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको हो । वृत्त बौद्धले सोमबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

Facebook Comments Box
TOP
Shares