एमसीसी अनुमोदन गरे रक्तपात हुन्छ -विप्लव

काठमाडौं, ९ फागुन । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी सहयोग, अनुदानको विरोधी होइनौं । तर राष्ट्रघाती प्रावधान नभएको भए एमसीसी देशको हितमा उपयोग गर्न पनि सकिन्थ्यो । तर विश्व राजनीतिको अन्तरविरोधमा खेल्ने र नेपाललाई स्वार्थअनुकूल प्रयोग गर्न खोजेकाले यसको लोकतन्त्रवादी र प्रगतिशील शक्ति लामो समयदेखि प्रतिरोधमा छन् । यथास्थितिमा एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेसले दुर्दशा भोग्नुपर्ने हुन्छ । र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने भोग्ने सम्भावना हुन्छ । देशले पनि दुःख पाउँछ ।”एमसीसीको विरोध कम्युनिस्ट मात्र नभएर गैरकम्युनिस्ट शक्तिले पनि गरिरहेको उनको दाबी छ । चन्दले थपे, “एमसीसी अगाडि डलर देखाएर पछाडि बन्दुक र हैकम जमाउने दाउमा छ । तर यसलाई राजनीतिक रंग दिन खोजेको देखियो । पहिलो कुरा त कम्युनिस्ट र गैरकमयुनिस्टको कुरा होइन । यो कम्युनिस्ट र कांग्रेसको कुरा पनि होइन । यो त तीन करोड नेपाली जनताको स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको मुद्दा हो । यसको विरोधमा कम्युनिस्टमात्र होइनन्, नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि छ । यो आन्दोलन कांग्रेसविरुद्ध होइन । विदेशी हस्तक्षेप विरुद्धमा हो । हामीले झगडा गर्ने मात्र होइन, राष्ट्रिय मुद्दामा मिल्न पनि सक्नु पर्यो ।”

सरकार बसेका तर सडक प्रदर्शनमा उत्रिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि उनले एमसीसी अनुमोदन गर्नु महाभूल हुने चेतावनी दिए । उनले थपे, “जनताको चाहना र देशको हित मुख्य कुरा हुन्छ । प्रचण्ड र माधवकुमार ेनेपालजीमा अहिले द्वैधवादी र अवसरवादी चरित्र देखा परेको छ । प्रचण्डले शान्ति प्रक्रिया सुरु भएदेखि नै अन्तिममा गएर पार्टी र देशको हितलाई छाड्ने गल्ती गर्नुभएको छ । सामान्य अवस्थामा विरोध गर्ने, निष्कर्षमा पुर्याउन नसक्ने हो भने त्यसको औचित्य रहँदैन । एमसीसीमा पनि सरकार देश र जनताको हित छाडन्ु महाभूल हुनेछ । उनीहरुलाई राष्ट्रघात गर्ने अधिकार छैन ।”

नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेल मैदान बन्न नदिन सत्ता साझेदार पार्टीले हेक्का राख्नुपर्ने उनले औंल्याए । चन्दले भने, “एमसीसी अमेरिका र चीनको कुरा होइन, अमेरिका र नेपालको कुरा हो । आर्थिक परियोजना नभईकन आईपीएसको अंग बनाएकाले एमसीसी अनुमोदन गर्दा नसोचेको परिस्थिति बन्न सक्छ । यस्तो डरलाग्दो सम्झौता गरेर देशलाई खेल मैदान बनाउन पाइँदैन ।”

कम्युनिस्टहरु जहिल्यै विदेशी सहयोगको विरोध गर्छन्, विकास आयोजनाको विरोध गर्छन्, अब देशलाई कंगाल बनाउने कि विकास गर्ने ? विदेशीको इसारामा चल्ने कि आफ्नै स्वार्थमा निर्णय गर्ने भन्ने पत्रकार धमलाको प्रश्नमा चन्दले थपे, “हामीलाई पनि देशमा शान्ति, विकास, समृद्धि र स्वाधीनता चाहिएको हो । हामी त्यसैका लागि लडेका हौं । विदेशी अनुदानले मात्र देश बन्दैन । आफ्नो लाखौं जनशक्तिलाई विदेश पठाएर लाहुरे, दरवान, भिखारी प्रवृत्ति नछाड्ने हो भने कुनै पनि देश माथि उठ्दैन । आफ्नो खुट्टामा माथि नउठाएसम्म देश उँभो लाग्दैन ।

तपाईं माओवादी केन्द्रसँग एकता गरेर महासचिव बन्ने लाइनमा हो भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा उनले भने, “महासचिव त म अहिले पनि छु नि । हामीबीच राजनीतिक कुरा मिलेकै छैन । अहिले त्यतातिरको कुरा छैन । मुख्य कुरा हामीले स्वाधीनताको रक्षा गर्नुपर्छ, समृद्धिमा जानुपर्छ ।”

Facebook Comments Box
TOP
Shares