ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं फागुन  ९   ।   ठगी गरेको अभियोगमा रौतहट माधबनारायण नगरपालिका-२ घर भई पर्सा वीरगञ्ज बस्ने सुभम साह र बारा महागढिमाई नगरपालिका-१० घर भई पर्सा वीरगञ्ज बस्ने सर्फराज आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ई-सेवाले बोनस बाँड्दैछ, आफ्नै ई-सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी बिश्वासमा पारी ई-सेवा आईडीको ओटिपी प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

ठगी गरेको उक्त रकमले टिकटकमा विक्रीको लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी उनीहरूले पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ ।

Facebook Comments Box
TOP
Shares