सिन्धुपाल्चोक एमालेलाई धक्का,पालिका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश

काठमाडौं, २४ फागुन  । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसमा अन्य दल परित्याग गरी प्रवेश गर्नेको देशभरि नै लर्को लाग्ने गरेको छ ।

विशेष गरी नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला अगाडि रहेको छ । स्थानीय निकायको चुनाव आगामी बैशाख ३० गते मिति तोकेपछि विभिन्न दलबाट चुनाव जितेका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी कांग्रेसमा धमाधम प्रवेशको लर्को नै लागेको छ ।

एमालेबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा जितेका केदार क्षेत्री स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच क्षेत्रीसहित अन्य २ नेतालाई कांग्रेसमा प्रवेश गराएका हुन् । एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिनासहित दर्जनौ नेता कांग्रेस प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका क्षेत्री अघिल्लो स्थानीय निकायको चुनावमा एमालेबाट जितेर गाउँपालिकाको अध्यक्ष भएको थिएँ । तर अहिले पाँच वर्ष कार्यकाल पूरा गरेपछि म पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेको क्षेत्रीले बताएका छन् । चुनाव जिते लगत्तैदेखि कम्युनिष्ट पार्टीका गतिविधिमा मेरा असहमति थिए । तर जनताको लागि काम गर्छु भनेर विजयी भएपछि कार्यकाल पूरा गर्नुपर्ने आफ्नो दायित्य रहेको थियो ।

एउटा जिम्मेवार नेताले बीचमै छोड्नु हुन्न भनेर कार्यकालको अन्तिममा मैंले एमाले परित्याग गरेर कांग्रेस रोजेको क्षेत्री बताउँछन् । एमाले मन नपरेपछि अर्को पार्टी रोज्न पाउनु मेरो स्वतन्त्रता अधिकार हो । मेरो अध्ययन र अनुभवले पनि के भन्यो भने अब लोकको प्रगति, उन्नति र मुलुकको भलो र हित गर्ने पार्टी नेपाली कांग्रेस हो । यसैले मेरो रोजाईमा कांग्रेस परेको हो । यो पार्टीमा सहभागी हुन ढिलो गरेकोमा म क्षमायाचना पनि माग्छु, क्षेत्रीले प्रवेश कार्यक्रममा बताएका थिए ।

अवसर पाएर पनि एमालेले यति लामो समयसम्म गतिलो काम गरेन । राजनीतिक गतिविधिमा सही दृष्टिकोण राखेन । सही अडान लिएन । यसैले यस्तो पार्टीमा बसेर अलमलिनु हुँदैन । सही कुरा र काम यता गर्न सकिन्छ भनेर कांग्रेसमा प्रवेश गरेको हुँ । एमाले छोडेर कांग्रेसको नेता हुनका लागि आएको होइन । कांग्रेसको, नीति सिद्धान्त र विचारलाई जनतासमक्ष पु¥याउन नेपाली कांग्रेसमा प्रवेश गरेका क्षेत्रीले बताएका थिए ।

Facebook Comments Box
TOP
Shares