गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने
काठमाडौं, ३० फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । जजिराले बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि कुबेत–भैरहवा–कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।
प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । “अहिलेसम्म जजिराले कुवेत सिटीबाट भैरहवा र भैरहवाबाट कुवेत सिटी दैनिक उडान गर्न निवेदन दिएको छ”, उनले भने, “जेठ २ गते बुद्ध जयन्ती पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्नेछ ।” सरकारले बुद्ध पूर्णिमाको दिन अर्थात जेठ २ गतेदेखि विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा गरेको थियो ।
त्यसअघि वैशाख १ गते नेपाल एयरलाइन्सले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ गतेदेखि विमानस्थल व्यवसायिक उडानका लागि खुला हुने कर्णले बताए । विमानस्थलमा ७ गतेदेखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।
वैदेशिक रोजगारीमा जाने धेरै नेपाली भएका देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने अपेक्षा प्राधिकरण अधिकारीहरुको छ ।
यसअघि विमानस्थलमा एरो थाइको जहाजबाट क्यालिब्रेसन फ्लाइट गरिएको थियो । त्यसपछि विमानस्थल उडान योग्य भइसकेको प्राधिकरणले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको खण्डमा यही विमानस्थलमा डाइभर्ट गरिनेछ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको अवस्थामा बंगलादेश वा भारतका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता छ । अब त्यो बाध्यता हट्ने प्राधिकरणको विश्वास छ ।
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
2.0kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…