आयातको विकल्प आत्मनिर्भरता

रूसले युक्रेनमाथि आक्रमण गर्नुलाई मानवीय हिसाबमै पनि नेपालको असहमति र विरोध दुवै रह्यो। कुनै पनि देशको सार्वभौम सत्ताको अतिक्रमणको पक्षधर नेपाल हुन सक्ने कुरै भएन। कुनै पनि देशका जनताको जिउज्यान नजाओस् र कसैलाई मर्का नपरोस् भन्ने सद्भाव र सहानुभूति छँदै छ। अर्काेतिर त्यो युद्धको सीधा असर नेपालीकै जीवनमा पनि परेको छ। नेपालको भान्छामा त्यसले असर पुर्‍याइसक्यो। भान्छाको साह्रै आधारभूत आवश्यकता भनेको नुनभुटुन हो। भुटुन अर्थात् घिउ/तेल। नुन नभए बरु अलिनो चल्ला तर भुटुन नभई त केही पनि पकाउनै सकिन्न। त्यही भुटुनका लागि पनि हामी परनिर्भर छौं। त्यसमाथि पनि हामीलाई आपूर्ति गरेको भनेको युक्रेनले पनि हो।धेरै नेपालीले खासै नाम पनि नसुनेको हुन सक्ने देश, खासै सरोकार पनि नराखेको देश युक्रेनबाट नेपालले दैनिक अत्यावश्यक हुने तोरीको तेल आयात गर्दै आएको छ। अझ रोचक त के भने धनियाँसमेत नेपालमा युक्रेनबाट आइरहेको हो। रूस—युक्रेनको तनावले आयात निर्यातको सन्तुलन खल्बलिएको छ। संसारै त्यसको प्रत्यक्ष असर भोगिरहेको छ। पेट्रोलियम पदार्थको भाउ अकासिएको त्यही युद्धले हो। पेट्रोलको भाउ बढ्दा यातायातका साधनको भाडा बढ्ने र ढुवानी लागत महँगो पर्नेलगायत ‘चेन इफेक्ट’ पर्दा महँगी चौतर्फी चुलिएको हो। नेपालमा त तोरीको तेल मात्रै कहाँ हो र ? युक्रेनबाट आयात भइरहेका सामानहरूको सूची निकै लामो छ। रोचकै वस्तु मात्रै तोरीको तेल र धनियाँ (बिउ) हुन्।युक्रेनबाट नेपालले यति धेरै आयात गरेछ कि त्यसबाट उठेको राजस्वबाट अनुमान गर्न सकिन्छ। यो आवको अहिलेसम्म युक्रेनी आयातबाट संकलित राजस्व पौने तीन अर्बभन्दा बढी छ। त्यस्तै, सम्बन्धमा रूससँग पौने अर्बभन्दा बढीको हिसाब निस्किएको छ। मानिसका लागि उपभोग्य सामग्रीका अलावा कुकुर र बिरालोको खाना आयात भएको देखिन्छ। नेपालले युक्रेनमा १५ र रूसमा २१ प्रकारका सामान पठाएको छ। यी तथ्यांकले हामी कस्ता कुरामा कतिसम्म परनिर्भर छौं। हाम्रो निर्यात कतिसम्म निरीह अवस्थामा छ भन्ने देखाउँछ।एक त नेपाल सधैं शान्तिको पक्षमा छ। विश्वभर शान्ति छाउनुपर्छ भन्ने मान्यता यो देशले राख्छ। विश्वशान्तिको पैरवी नेपालले गर्छ। गर्नुपर्छ। अर्काे, तत्कालका लागि नेपालले अत्यावश्यक वस्तुहरू जुन ती देशबाट ल्याउँदै आएको थियो, त्यसको विकल्प खोज्नुको विकल्प छैन। यो तात्कालीक विकल्प मात्रै हो। पूर्ण साध्य होइन। साध्य त देशलाई आत्मनिर्भर बनाउनु हो। हो, कतिपय वस्तु त्यस्ता छन्, जुन रूसबाट नल्याई धर नहोला, जस्तो हवाईजहाज र हेलिकोप्टरका पार्टपुर्जा। तर तोरीको तेल, केराउ, धनियाँ, सूर्यमुखी, भटमास युक्रेनबाटै ल्याउनुपर्छ भन्ने छैन। प्रत्यक्ष नै रूसबाट भित्रिने सामानबाहेक पेट्रोलियम पदार्थ विश्वबजार हुँदै नेपाल आइपुग्छ। युरोपली मुलुकहरूले त रूसबाट पेट्रोलियम आयात कटौती गर्न नसकिरहेको अवस्था छ।नेपालले सक्ने कुरै भएन। नेपालले रूसबाट सीधा आयात गरिरहेको अवस्था पनि हैन। विकल्प चाहिँ प्रत्यक्ष आयातीत वस्तुमै खोज्नुपर्छ। एकाध महिनालाई पुग्ने स्टक अझै नेपाली बजारैमा भएका बेला राज्यले त्यो विकल्प पहिल्याउनुपर्छ। त्यो व्यवस्था मिलाउनुपर्छ। यी घटनाक्रम र आयातको यो अत्यासलाग्दो अवस्था, परनिर्भरताको हदबाट पाठ सिक्नुपर्छ। कि, मुलुकलाई कृषिजन्य थुप्रै वस्तुहरूमा आत्मनिर्भर नबनाई धरै छैन। कृषिमा व्यवसायीकरण, बाँझो जमि(नको सदुपयोग, कृषिमा यान्त्रिकीकरणलगायत केवल भाषण र नारामा मात्रै सीमित गर्‍यौं भने हाम्रो कृषिभूमि जस्तै हाम्रो अर्थतन्त्र पनि बाँझो पल्टिन समय धेरै लाग्दैन। मुलुक ओरालो लाग्न सक्छ भन्ने हेक्का राख्नुपर्छ। यस्ता उदाहरणबाट पनि चेतेनौं भने कहिले चेत्ने ? यो समाचार अन्नपूर्ण पोस्टमा छ।

Facebook Comments Box
TOP
Shares