उपत्यकाको सबै फोहोर उठ्न अझै एक साता लाग्ने

काठमाडौं ।उपत्यकाको विभिन्न ठाउँमा थुप्रिएको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । स्थानीयले बन्चरेडाँडालाई केन्द्रबिन्दु मानेर तीन किलोमिटर वरपरका जग्गा पनि अधिग्रहण गरेर मुआब्जा दिनुपर्ने माग राख्दै २५ फागुनदेखि सिसडोलमा फोहोर लैजान अवरोध गरेका थिए । जसकारण एक साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन । पासाङ ल्हामु राजमार्ग निर्माणको ढिलाइका कारण त्यहाँका स्थानीयले सडक अवरोध गर्दा नउठेको फोहोर पनि सडकमै जम्मा भएकाले उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने भएको हो । काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ वटै स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तर, वर्षौंदेखि सिसडोलको विकल्प नखोजिँदा बर्सेनि पटक–पटक समस्या दोहोरिने गरेको छ । निजी र महानगरपालिकाका गरी दैनिक दुई सयभन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।                                                                    मुआब्जाको समस्या समाधानका लागि बनाइयो समिति                                                                                                काठमाडौं महानगरका अनुसार उपत्यकाको घर, चोक, गल्ली र सडकमा थुप्रिएका फोहोर उठ्न अझै हप्ता दिन लाग्ने भएको हो । महानगरका सहायक प्रवक्ता महेश काफ्लेले मुख्य लाइनका फोहोरलाई प्राथमिकतामा राखेर मंगलबारबाट फोहोर उठाउन थालेको जानकारी दिए । ‘बन्चरेडाँडावासीसँग मंगलबार भएको सहमति भएपछि फोहोर उठाउन सुरु भएको छ । हामीले हिजोेदेखि नै मुख्य लाइनका फोहोर उठाउन थालेका छौँ,’ काफ्लेले भने, ‘मुख्य लाइनको फोहोर उठेपछि अन्य भित्री सडक र घरका फोहोर उठाउँछौँ ।’ बन्चरेडाँडावरपरको जग्गा अधिग्रहण गर्न मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा एउटा टोली गठन भएको छ । मुख्य लाइनमा बानेश्वर, राष्ट्रपति भवन र मुख्य सडक पहिलो प्राथमिकतामा छन् । मंगलबार दुई–तीन गाडी मात्र सिसडोल ल्यान्डफिल साइट फोहोर पुगे पनि बुधबार दिउँसोसम्म करिब ६० ट्रक फोहोर व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।फागुनको पहिलो र दोस्रो साता पनि ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि स्थानीयले सडक ठप्प पार्दा उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको थियो । शैलुङ कन्स्ट्रक्सनले समयमै पासाङ ल्हामु राजमार्ग निर्माण नसकेको भन्दै स्थानीयले सडक अवरोध गर्दा ११ दिनसम्म काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको थियो । उपत्यकाको फोहोर सिसडोल पुर्‍याउन यही राजमार्ग प्रयोग गर्नुपर्छ । तर, शैलुङले दुई वर्षभित्र निर्माण सक्ने गरी ५ जेठ ०७१ मा सम्झौता गरेकोमा अहिलेसम्म ५० प्रतिशत मात्र काम सकेको थियो । समयमै फोहोर उठाउने प्रतिबद्धतापछि फोहोर उठ्न थालेको थियो ।२६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि देखिएको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिसकेकाले फोहोर व्यवस्थापन छिट्टै हुने सम्भावना भने देखिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

Facebook Comments Box
TOP
Shares