आइजीपी निरिह, अपराधीले प्रहरीको हत्या गर्नेदेखि धम्क्याउन थाले

काठमाडौं चैत १०  । नेपाल प्रहरीको इतिहासमा आफूलाई सोझो देखाउने आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरीलाई भने निरिह बनाएर छाडे । अवस्था यस्तो भयो कि प्रहरीलाई अपराधीले धम्क्याउन थाले । भीडमा आएर प्रहरीको हत्या गर्नेसम्मको गतिविधि गरे । अपराधीको मनोबल यतिसम्म उच्च भयो कि गाउँमा दिनदहाडै लखेटेर परिवार नै सखाप पार्ने गतिविधि भए । बलात्कारका घटनाहरु अत्याधिक भए । पेशेवर अपराधीहरु लगाएर मान्छे मारेर गाडिएका घटनाहरु समेत घटे । तर, आइजीपीले प्रहरीलाई लठ्ठी समेत नचलाउन निर्देशन दिए । 

नेपाल प्रहरीको इतिहासमा शैलेश थापा क्षेत्रीको पालामा एउटा पनि इनकाउन्टर भएनन् । उनी एक महिनापछि घर जाँदैछन् । आफूलाई पवित्र देखाएर भक्तपुर फर्कने तयारीमा छन् । सेवानिवृत्त समय अध्यापन गर्ने योजना समेत बनाएको बुझिएको छ । क्षेत्री आफूलाई सोझो देखाउन त सफल भए तर प्रहरीको मनोबल यतिसम्म कमजोर भएको छ कि अपराधीले हेप्न थालेका छन् ।

क्षेत्री आफूलाई प्रहरीभन्दा प्राध्यापक नै हुँ जसरी प्रस्तुत हुने गरेको चर्चा उच्च अधिकृतहरुमाझ नै चल्ने गर्छ । यसको परिणाम भीडले प्रहरीको हत्या गर्नेदेखि मान्छेको टाउको काटेर हिंडेका एक हुल युवाहरुले प्रहरीलाई चुनौती दिएको घटनाबाट पनि बुझ्न सकिन्छ । मोरङको लेटाङमा भीडले महिला प्रहरीको हत्या गरेको छ । शिक्षकमाथि यौन दुव्यर्वहारको आरोप लगाई आक्रमणमा उत्रिएको भीडलाई रोक्न खोज्दा छुरी प्रहार भएको थियो । घाँटीमा छुरी लागेकी प्रहरीको मृत्यु भयो । भीडको मनोबल बढ्दा प्रहरीले उल्टो कुटाई खाएका घटनाहरु धेरै देखिन थालेका छन् ।

आइजीपी क्षेत्री लौरो समेत नहान्न आदेश दिन्छन् । मानवअधिकारको कुरा गर्दै कतै पनि बल प्रयोग नगर्ने आदेश दिने गरेका छन् । जसका कारण प्रहरीलाई बलमिच्याईं गर्नेहरुले टेर्नै छाडेका छन् । कैलालीमा एकजना युवकको टाउको काटेर फरार भएको समूहले त सामाजिक सञ्जालमा खुलेआम चुनौती दिएको छ । घटना लगत्तै प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भनेको थियो । उनीहरुले फेसबुकमार्फत् आफूहरुको पछि नलाग्न प्रहरीलाई आतंकवादीको शैलीमा चेतावनी समेत दिएका छन् । तैपनि, प्रहरीले न उनीहरुलाई भेट्न सकेको छ न त कुनै कडा कारबाहीमा सफलता हासिल गर्न सकेको छ । २५ वर्षीय अरुण दासको टाउको काटेर फरार चारजनाले प्रहरीलाई चुनौती दिएका हुन् । उनीहरुमध्ये एक युवकले भनेका छन्,‘तेरो बाऊ मारेको छु । कि तेरो जोई लग्दे भन ? नलाग के नलाग हाम्रो पछि नलाग ।’

एमसीसीविरुद्धको केही दलनिकट भातृ संगठनहरुको प्रदर्शनका क्रममा पनि प्रहरी कुटिएका थिए । विगतमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने गरेकोमा यसपटक प्रहरी नै कुटिएका थिए । यतिसम्मकी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी कुटिएकोमा आक्रोश पोखेका थिए । प्रहरी कुटिंदा विपक्षी नेताले बोलेको अपवादको अवस्था बनेको छ । थापाले प्रहरीलाई यो हदसम्म निरिह बनाएको भन्दै पूर्व आइजीपीदेखि वर्तमान उच्च प्रहरी अधिकृतहरुले असन्तुष्टि पोख्न थालेका छन् । बढुवामा पनि उनले निरिहता देखाउन थालेका छन् ।

Facebook Comments Box
TOP
Shares