राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयमा  मैनाली र सेढाईंको सेटिङमा लुटतन्त्र

काठमाडौं । राजस्व अनुसन्धान विभाग पथलैया कार्यालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । पथलैया कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा राजस्व छली र चुहावट हुने गरेको देखिन्छ । राजस्वमा अनियमितता र चुहावटसम्बन्धी घटना बढेसँगै विभागअन्तर्गत कार्यालयका कर्मचारीकै मिलेमतोको आशंका गरिएको हो । राजस्व अनुसन्धान विभाग पथलैया कार्यालयका कर्मचारीको बदमासीका कारण भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडीलाई सेटिङमा निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई सहजीकरण गर्ने कार्यमा कर्मचारीकै सेटिङ रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार, राजस्व अनुसन्धान कार्यालय पथलैयामा विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी मालसामान ल्याउनेहरुसम्मबाट सेटिङमा प्रत्येक मालबाहक गाडीबाट पैसा लिएर छाड्ने गरेकोले राजस्व छली र अनियमितता बढेको बताइन्छ । कर्मचारीसँगको सेटिङमा राजस्व र भन्सार तिर्नुपर्ने मालबाहक गाडीले गाडीमा भएको सामानको हुबहु राजस्व नतिरी ल्याइन्छ, जसका कारण राजस्व संकलनमा समेत कमी आएको छ । पथलैया कार्यालयमा कार्यरत कर्मचारीकै मिलेमतोमा मालबाहक सवारीसाधन काठमाडौं, नारायणघाटलगायताका ठाउँका लागि प्रवेश अनुमति दिइन्छ, जसले गर्दा राजस्वमा चुहावट चुलिएको छ । राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरले काठमाडौंलगायतका मुख्य व्यापारिक केन्द्रहरुमा रहेका व्यापारिक फर्महरुमा छापा हानेर अनुसन्धान गर्दासमेत मिलेमतोमा मालबाहक सवारीसाधन छाडिएकोले काठमाडौंसम्म चोरी–तस्करीका र राजस्व÷भन्सार नतिरिएका सामानहरु आएको निष्कर्ष निकालेको छ । विभिन्न ट्रान्सपोर्ट कम्पनीहरु र क्यारिङ गर्नेहरु तथा दुई नम्बर गरी राजस्व छल्नेहरुसँग सोही कार्यालयका नायब सुब्बा प्रेम सेढाईंको मिलेमतो रहेको सोही कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।राजस्व अनुसन्धान कार्यालय पथलैयामा नारायणप्रसाद मैनाली प्रमुख रहेका छन् । उनी प्रमुख भएर त्यहाँ पुगेपछि झन् अनियमितता र बदमासी बढेको छ । विभिन्न ट्रान्सपोर्ट कम्पनीहरु र क्यारिङ गर्नेहरु तथा दुई नम्बर गरी राजस्व छल्नेहरुसँग सोही कार्यालयका नायब सुब्बा प्रेम सेढाईंको मिलेमतो रहेको सोही कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । सेढाईं र मैलानीको सेटिङमा राजस्व तिर्नुपर्ने माल–सामान बोकेका सवारीसाधनहरुलाई पनि वास्तै नगरी गन्तव्यतर्फ पठाउने गरेको र केहीलाई त लाइनै दिने गरेको स्रोतको दाबी छ । सेढाईं यसअघि भन्सार कार्यालयमा पनि बसेका थिए । त्यहाँ पनि उनले व्यापक अनियमितता गरेको कर्मचारीहरु बताउँछन् । भन्सारबाट उनी पथलैया कार्यालयमा सरुवा भएका थिए । विशेषगरी वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने मालबाहक सवारीसाधनलाई कार्यालय प्रमुख मैनाली, नायब सुब्बा सेढाईं र अन्य कर्मचारीले नै मिलेमतो गरेर सेटिङ मिलेका सवारी साधनलाई बिनाचेकजाँच पठाउने गरेको स्रोतको भनाइ छ । कार्यालयका प्रमुख मैनालीकै मिलेमतोमा राजस्व नै नतिरेका सवारीसाधनलाई गन्तव्यमा निर्वाध तरिकाले पठाउँदा त्यसको प्रश्न कार्यालयमाथि नै उठेको छ ।
कार्यायल प्रमुख, नायब सुब्बा र कर्मचारीले मिलेमतो गरी हरेक ट्रान्सपोर्ट कम्पनी र क्यारिङहरुसँग त मासिक पैसा नै उठाउने गरेको कार्यालयका एक पीडित कर्मचारीले बताए । त्यस्तै, हरेक मालबाहक सवारीसाधनसँग रकम उठाउने र त्यसबापत ती मालबाहक गाडीलाई बिनाचेक–जाँच र राजस्व नतिराई गन्तव्यसम्म जान दिने गरेका छन् । ‘माथिल्लोे तहकै कर्मचारीको मिलेमतोमा राजस्वमा अनियमितता भएको छ, गाडीवालासँग सेटिङ मिलाएर उनीहरुले फाइदा लिने गरेका छन्,’ पथलैया कार्यालयका एक कर्मचारीले नयाँसडकसँग भने । ती कर्मचारीका अनुसार, कार्यालय प्रमुखले नै अनियमितता गर्दै आएका छन् । उनले अन्य कर्मचारीको समेत डर नमानी आफूखुसी मालबाहक गाडीलाई प्रवेश र लाइन दिने गरेका छन् ।राजस्व अनुसन्धान विभागका कर्मचारीले उपत्यकाका नाकाहरुमा मालबाहक सवारीसाधनले राजस्व तिरे-नतिरेको बिल तथा भौचर हेर्छन् । तर, कतिपयले सेटिङमा राजस्व नतिरी काठमाडौंसम्म सामान ढुवानी गर्ने गरेका छन् ।पथलैयामा चेकजाँचमा कडाइ नगर्दा त्यही नाका हुँदै काठमाडौं आएका कतिपय मालबाहक सवारीसाधनलाई उपत्यका प्रवेश गर्ने नाकाहरुबाट पक्राउ गरिन्छ । उनीहरुले राजस्व नै नतिरी आएको, प्रज्ञापनपत्र र गाडीमा भएको सामान नमिल्ने गरेको भेटिनुले पथलैयामा अनियमितता भएको पुष्टि हुन्छ । राजस्व अनुसन्धान विभागका कर्मचारीले उपत्यकाका नाकाहरुमा मालबाहक सवारीसाधनले राजस्व तिरे-नतिरेको बिल तथा भौचर हेर्छन् । तर, कतिपयले सेटिङमा राजस्व नतिरी काठमाडौंसम्म सामान ढुवानी गर्ने गरेका छन् । त्यसरी राजस्व नै नतिरी आएकाहरुलाई उपत्यकाका नाका तथा अन्य स्थानबाट पक्राउ गरी विभागले कारबाही पनि गर्दैै आइरहेको छ । सम्बन्धित राजस्व कार्यालयले कडाइ नगर्दा अर्को ठाउँमा चेकजाँच गर्दा राजस्व नै नतिरेको पाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । उनले त्यसरी सेटिङमा मालबाहक गाडी वा अन्य मालसामान ओहोरदोहोर गराएको पाइएमा कारबाही हुने बताए । ‘खास नाकामा चेक भएको छ भने अन्त चेक गर्दा राजस्व नतिरेको वा नियमविपरीत सामान ढुवानी गरेको भेटिन्न,’ उनले भने, ‘यदि मिलेमतोमा सामान भित्र्याइएको छ भने अर्को ठाउँ चेकजाँच गर्दा पत्तो लाग्छ ।’ उनले अनियमितता गरेको पुष्टि भए कारबाही हुने जानकारी दिए ।
राजस्व अनुसन्धान विभाग मुलुकमा राजस्व चुहावट नियन्त्रण गर्नका लागि गठन भएको विशिष्टीकृत संस्था हो । तर, पछिल्लो समय यस कार्यालयमा काम गर्ने कर्मचारीकै मिलेमतोमा राजस्व चुहावटका घटना बढ्नुका साथै भ्रष्टाचारसमेत बढेको छ । विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने अधिकारप्राप्त विभाग अहिले देशको कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत क्रियाशील छ । राजधानीबाहेक इटहरी, पथलैया, बुटवल र कोहलपुरमा पनि यसका कार्यालय छन् । तर, त्यसमध्ये सबैभन्दा बढी राजस्व छली र अनियमिता पथलैया हुदै आउने सामानबाट हुने गरेको छ । पथलैया कार्यालयका प्रमुख नारायणप्रसाद मैनालीले आफूहरुले चेकजाँचमा कडाइ गरेको बताए । सेटिङ वा मिलेमतोमा राजस्व चुहावट नभएको उनको दाबी छ । ‘त्यसै आरोप लगाउन मिल्दैन, हामीले राजस्वमा त्यसरी अनियमितता हुन दिएका छैनौं, हरेक सवारीसाधन र मालबाहक सामानको रेकर्ड हामीसँग छ,’ उनले भने । यता, राजस्व अनुसन्धान विभागले पथलैया कार्यालय हुँदै आएका दर्जनौँ मालबहाक सवारीसाधनलाई काठमाडौंलगायतका स्थानबाट समाएर अनुसन्धान गर्दा कयौँ राजस्व छली र अनियमितता भएको विभाग स्रोतले बताएको छ । पथलैयामा मैनाली प्रमुख र ३ जना अनुसन्धान अधिकृत बाबुकाजी कार्की, प्रकाश नेपाल र ज्ञानेन्द्र शर्मा र सात जना नासु रहेका छन् ।  nayasadak.com 

Facebook Comments Box
TOP
Shares