न्यायाधीश रेग्मीको इजलासमातीन डीआईजीको मुद्दा

काठमाडौं  चैत २० । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को रिटमा आइतबार सुनुवाइ हुँदैछ ।  सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् । उनीहरूले सर्वोच्च जानुअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डीआईजीहरूको बढुवा गरेको थियो ।बढुवा भएकाहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्न्द्रबहादुर धानुक हुन् । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको हो ।  वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा थिए । पाण्डे नेतृत्वको समितिले वरियता मिचेर कनिष्ट डीआईजीहरूलाई एआईजी बनाएपछि उनीहरू बढुवा समिति हुँदै सर्वोच्च पुगेका हुन् ।

Facebook Comments Box
TOP
Shares