अर्थमन्त्रीले राप्रपामाथि विभेदकारी नीति राखेको सांसद लामाले आरोप लगाएपछि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीमाथि विभेदकारी नीति राखेको आरोप लगाएकी छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफू बोल्ने बेलामा अर्थमन्त्री बाहिर गएको भन्दै लामाले अर्थमन्त्री पुनको आलोचना गरेकी हुन् ।

तर, सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले पुन आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरिन् ।  तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन् । यसैबिच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे । सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको बताइन् ।

त्यसपछि उनले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन आग्रह गरिन् । सांसद लामाले गरिब महिला उद्यमीहरूका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

Facebook Comments Box
TOP
303 Shares