उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘२ बजे सचिवालय बैठक छ । तीन बजेदेखि मस्यौदा समितिको बैठक पनि बस्छ’, खनालले  जानकारी दिए ।

सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुने नेताहरूको भनाइ छ । बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । खासगरी इलाम २ मा एमालेको सहयोगमा झलनाथ खनालले उम्मेदवारी दिने चाहाना राखेका छन् । तर एमालेले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा चले पनि निर्णय गरिसकेको छैन ।  उपाध्यक्ष केशवलाल श्रेष्ठले सचिवालय बैठकका एजेन्डाबारे जानकारी नगराइएको बताए ।

‘सचिवालय बैठकका एजेन्डाका बारेमा जानकारी गराइएको छैन’, श्रेष्ठको भनाइ छ । सो पार्टीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न शीर्ष नेता सम्मिलित ‘दस्ताबेज मस्यौदा समिति’को बैठक चैत ६ गतेबाट बसिरहेको छ । १० गतेसम्म बस्ने बैठकले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी छ । सो पार्टीले महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको थियो ।

Facebook Comments Box
TOP
387 Shares