सरकारले गरिबी घटाउँछ, शून्यमा झार्नेगरी काम गर्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताएका छन्। अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना हुने पनि बताए। पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले गरिबीलाई शुन्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताए।

उनले चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताए। विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरू सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे।उनले जनताको दुःख, कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिने गरी आगामी दिनमा पनि काम गर्ने बताए।

अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरूलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। ओलीले एमालेमाथि विपक्षहरुले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।

Facebook Comments Box
TOP
369 Shares