परमेश्वरको मण्डली इमाडोलबाट बृहत् रक्तदान कार्यक्रम आयोजना

ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज इमाडोलद्धारा निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,३०३ औँ विश्वव्यापी रक्तदान अभियान आयोजना भयो । संसारमा रगतको अभावमा एक जना मानिस पनि नमरुन भन्ने उद्देश्यका साथ आज सोमबार ललितपुरको सानागाउँ अवस्थित सिद्धिपुर पार्टी प्यालेसमा विहान ११ बजे उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा अतिथीहरुका रुपमा पूर्व डीआईजी, सांसद तथा नेकपा एमाले वागमती प्रदेश कमिटीका सचिव नवराज सिलवाल, महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जन आमन्त्रित हुनुहुन्थ्यो । त्यस्तै अरु अतिथीहरुमा जिल्ला समन्वय समितिका उप–प्रमुख रामलाल थिङ, जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईँ, महालक्ष्मी नगरपालिका वडा नं.१ का वडाअध्यक्ष छिरिङ लामा, महालक्ष्मी नगरपालिका वडा नं. ६ का वडासदस्य सुशान महर्जन तथा वी लभ यू फाउण्डेसन नेपालका अध्यक्ष किशोर साम्होहाङ लगायत अन्य दिग्गज व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा आगन्तुक स्रष्टाहरुले बोल्नुहुँदै परमेश्वरको मण्डलीबाट यस किसिमको सेवामूलक कार्यक्रमा आयोजना हुनु भातृत्व प्रेमको महान् उदाहरण भएको जिकिर गर्नुभएको थियो । वहाँहरुले यस किसिमको कार्यक्रमले एउटा असल छिमेकीको उदाहरण प्रस्तुत भएको र यसले समाजलाई एउटा सकारात्मक दिशातर्फ उन्मुख गराउने कुरामा दुईमत नभएको बताउनुभयो । त्यस्तै आयोजक परमेश्वरका मण्डली विश्व सुसमाचार समाज इमाडोललाई अतिथीहरुले विशेष धन्यवाद सहित बधाई पनि दिनुभएको थियो ।

अपरान्ह ३ बजे सम्पन्न भएको उक्त कार्यक्रममा लगभग ४०० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो भने २२४ पिन्ट रगत पनि संकलन भएको थियो । रक्तदाताहरुलाई खाजाको व्यवस्था पनि आयोजकले वितरण गरेको थियो ।

परमेश्वरको मण्डलीचाहिँ माता परमेश्वरलाई विश्वास गर्ने अनि पवित्र र निस्वार्थ माताको प्रेम सारा संसारमा बाँड्ने त्यस्तो पवित्र संस्था हो । १७५ वटा देशहरुमा फैलिएको साथै ७५०० भन्दा बढी मण्डली रहेको छ । यस मण्डलीले निरन्तर स्वयंसेवाका गतिविधिहरु निरन्तर गर्दै आइरहेको छ ।

Facebook Comments Box
TOP
672 Shares