सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरु मन्त्रालय आफैंसँग राखेका छन् ।

Facebook Comments Box
TOP
212 Shares