उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमसहित आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक  कार्यक्रम सम्पन्न भएको  छ । कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक नाराहरू सहितको प्रभातफेरी  कार्यक्रम गरी बजार परिक्रमा पश्चात् अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो ।

सोही कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमूलक भिडियो, सडक नाटकसहित सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईँबाट उदयपुर जिल्लामा आत्महत्याको अवस्था र तथ्याङ्क विश्लेषणका सम्बन्धमा प्रस्तुति दिएका थिए ।   कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापाज्यूले आत्महत्या यस जिल्लाको प्रमुख चुनौतीहरूमध्ये रहेको, यस चुनौतीलाई रोकथाम तथा न्यूनीकरण गर्नका निमित्त सम्पूर्ण निकायहरु एकजुट भएर अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले  जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरिरहेका सचेतनामूलक कार्यक्रमहरूमा नगरपालिका तथा व्यक्तिगत तर्फबाट साथ र सहयोग भईरहेने साथै आत्महत्या प्रमुख चुनौतीको रूपमा देखा परेको हुँदा यसको रोकथाम तथा न्यूनीकरणको लागी थप कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताए। कार्यक्रमका अध्यक्ष हरि प्रसाद घिमिरेले अन्य कार्यक्षेत्रहरूमा भोगेका अनुभवहरू आदान प्रदान गर्दै आत्महत्या नगरौँ, जीवनलाई सुन्दर बनाऔँ भन्ने सन्देश समेत दिएका थिए ।

Facebook Comments Box
TOP
316 Shares