सहकारीपीडितको गुनासो- हाम्रो पीडामा सरकारले किन ध्यान दिँदैन ?

नारायण किलम्बू

काठमाडौं । श्रम गरेर थोरै-थोरै गरी भविष्यका लागि बचत गरेको रकम सहकारी संस्थाले नै अपचलन गरिदिएपछि पीडितहरु भौंतारिइरहेका छन् । मिहिनेतले जम्मा गरेको रकम चाहिएका बेला फिर्ता नभएपछि पीडितलाई जीवन निर्वाह गर्नै धौधौ परिरहेको छ । कतिपय त उपचार गराउन नपाएर रोग बोकेरै हिँड्नुपर्ने बाध्यतामा छन् ।
सहकारीमा जम्मा रकम फिर्ता नआउँदा कतिको परिवार नै विखण्डन हुने अवस्थामा पुगेको छ । अहिले न्याय खोज्दै पीडित आन्दोलनमा उत्रिएका छन् । तर सरकारले पीडितका समस्या समाधान गर्न ध्यान दिएको छैन ।
झापा घर भई हाल भक्तपुरको बालकोट बस्ने यमबहादुर विष्टले पाँच वर्षअघि तीन बिघा जमिन बेचेर नौ करोड ६० लाख रुपैयाँ ललितपुरको गुडविल बचत तथा ऋण सहकारीमा जम्मा गर्नुभयो । सहकारीले राम्रो ब्याज दिने आश्वासन दिएको थियो । तर ब्याज दिनु त कता हो कता सावाँसमेत फिर्ता दिएन । जग्गा बिक्री गरेको रकम डुबाएको भन्दै परिवारमा विखण्डन नै आयो । छोरा-छोरी र श्रीमती विदेशिएपछि उहाँ अहिले एक्लो जीवन बिताइरहनुभएको छ ।

काठमाडौंकी शान्ति मानन्धरले जीवनभर कमाइ गरेको १५ लाख रुपैयाँ कान्तिपुर र लालिगुँरास सहकारीमा जम्मा गर्नुभयो । बूढाबूढी भएपछि बचत गरेको रकमबाट घर-खर्च चलाउन र औषधि उपचारमा सदुपयोग गर्ने उद्देश्यले जम्मा गरेको रकम सहकारीले फिर्ता दिएको छैन । अहिले उहाँलाई दैनिकी चलाउन र औषधि उपचार गर्नसमेत मुस्किल परेको छ ।
ताप्लेजुङका कर्णबहादुर लिम्बूले १३ वर्षअघि घर बेचेर काठमाडौंको ओरेन्टल सहकारीमा जम्मा गरेको रकम फिर्ता भएको छैन । त्यही रकमबाट घरजग्गा किन्ने उहाँको सपना त अधुरो छ नै उपचार गर्नसमेत नसक्ने अवस्थामा पुग्नुभएको छ ।
गोरखाका ऋषिराज अधिकारीले लामो समय शिक्षण पेसा गरी अवकाशपछि आएको सबै रकम गोरखा सहकारी संस्थामा जम्मा गर्नुभयो । १० वर्षअघि ३८ लाख रुपैयाँ जम्मा गर्नुभएका ७० वर्षीय अधिकारीलाई अहिले आर्थिक अभावमा तीन जनाको परिवार पाल्न मुस्किल परिरहेको छ । उहाँ अहिले सहकारीले हिनामिना गरिदिएको रकम फिर्ता गराइदिन माग गर्दै सरकारसँग हारगुहार गरिरहनुभएको छ ।

काठमाडौंकी गौरीदेवी तिमिल्सिनाको परिवारले जम्मा गरेको २५ लाख रुपैयाँ स्वर्णलक्ष्मी सहकारीले फिर्ता दिएको छैन । सहकारीले रकम फिर्ता नदिएपछि गौरीदेवीलाई मानसिक तनाव मात्र भोग्नुपरेको छैन उपचार गराउन नसक्दा मिर्गौलाको रोग बोकेर हिँड्नुपरेको छ ।
सरकारी तथ्यांकअनुसारै देशभर ३५ हजार पाँच सय सहकारीसंस्था मध्ये पाँच सयभन्दा बढीले बचत रकम फिर्ता दिएका छैनन् । यसरी रकम फिर्ता नपाउनेमध्ये ७५ हजारभन्दा बढी छन् । उनीहरु अहिले रकम फिर्ता गरिदिन माग गर्दै सरकारसाग हार-गुहार गरिरहेका छन् । तर सरकारले न सहकारीपीडितका समस्या सुनेको छ न त रकम हिनामिना गर्नेहरुमाथि छानबिन गरी कानुनी दायरामा नै ल्याउन सकेको छ ।

Facebook Comments Box
TOP
324 Shares