एसईई नतिजा : गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा धेरै फेल

कृपाल गौतम|नारायण किलम्बू
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा ४८ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार ४७२ जना मात्र पास भएका छन् ।
देशभर चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएकामा ५२.१४ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो नतिजाले विद्यालय शिक्षामा सरकारको नारा, लगानी र सिकाइ विधिमा प्रश्न उठेको छ भने उपलब्धिहीन पनि देखिएको छ ।
एसईईको नतिजाले विषय शिक्षकको अभाव, विद्यार्थीको सिकाइ उपलब्धि कमजोर र शिक्षकको मिहिनेत पनि नपुगेको देखाएको छ । राज्यले विद्यालय शिक्षामा मात्र डेढ खर्बभन्दा बढी लगानी गरे पनि उपलब्धि भने नदेखिएकाले सरकारको नारा एकातिर काम अर्कातिर भएको प्रमाणित गर्छ । अहिले पनि विद्यालय तहको निमावि र माविमा ४१ हजार विषय शिक्षकको अभाव छ ।
नयाँ पाठक्रमअनुसार यसपालि ग्रेडिङको नयाँ व्यवस्थाअनुसार प्रकाशित एसईईको नतिजाअनुसार दुई लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो कुल विद्यार्थीको ५२.१४ प्रतिशत हो । फेल हुनेमध्ये एक लाख २८ हजार २५२ छात्रा छन् ।
सबैभन्दा धेरै गणित विषयमा मात्रै एक लाख ७७ हजार ८५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यसैगरी एक लाख २६ हजार विज्ञानमा र एक लाख १६ हजार अंग्रेजी विषयमा फेल भएका छ्न् । एसईईमा २०७२ सालदेखि ग्रेडिङ प्रणाली लागु भए पनि यसपालिदेखि सैद्धान्तिकमा ३५ प्रतिशत नआए ननग्रेडको व्यवस्था गरिएको हो ।
‘हामीले विगतमा जुन किसिमको नतिजा हेरेका थियौं माथिल्लो जीपीए ल्याउने संख्या वृद्धिदर भएको कुराहरु देखिरहेका छौं,’ राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले भन्नुभयो, ‘यसअनुसार नतिजामा केही प्रगति देख्छौं । त्यसपछि यसमध्ये ननग्रेड ल्याउनेमध्ये जम्मा दुई विषयभित्र हामीले फेरि परीक्षा सञ्चालन गर्छौं र त्यस्ता विद्यार्थी दुई विषयसम्म अनुत्तीर्ण हुनेको संख्या एक लाख १५ हजार ८३४ छ ।’
विद्यालय शिक्षामा ठूलो लगानी गरेको शिक्षा मन्त्रालय पनि यो नतिजाप्रति सन्तुष्ट छैन । मन्त्रालय नै विद्यालय शिक्षामा सुधारको खाँचो देख्छ । तर सुधार भने गर्न सकिरहेको छैन । ‘हामीले यो विषयलाई इभिडेन्सका रुपमा विश्लेषण गर्ने विषयवस्तु मानेर आउँदो दिनमा सुधार गरेर जान्छौं । आगामी दिनमा शैक्षिक व्यवस्थापन र विद्यालयहरुले शिक्षण पद्धतिमा सुधार गर्न यसले हामीलाई सूचना दिएको छ,’ शिक्षा मन्त्रालयका सचिव दिनेश काफ्लेले भन्नुभयो ।
प्रकाशित नतिजाअनुसार जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थी ३१ हजार २०९ छन् भने जीपीए ३.२० देखि ३.६० सम्म ६८ हजार २५६, जीपीए २.८० देखि ३.२० मा ७८ हजार ८७४ विद्यार्थी छन् । त्यसैगरी जीपीए २.४० देखि २.८० सम्म ४१ हजार १७७, जीपीए २ देखि २.४० मा २९ सय ५० र जीपीए १.६० देखि २ मा ६ जना विद्यार्थी छन् । यसपालि माथिल्लो जीपीएमा विद्यार्थी संख्या बढे पनि समग्रमा नतिजा राम्रो मान्न नसक्ने अवस्था छ । ‘शिक्षा क्षेत्रबाट राजनीतिक हस्तक्षेप हटाउनुपर्छ, रत्नराज्य मावि काठमाडौंका निमित्त प्रधानाध्यापक रामाशिष यादवले भन्नुभयो ।
प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा ९९ हजार ८ सय ७२ विद्यार्थी उत्तीर्ण हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा ३५ हजार ३४ विद्यार्थी उत्तीर्ण भएका छन् । बढीमा दुई विषयमा ननग्रेडिङमा परेका विद्यार्थी साउन १८ र १९ मा हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अप्रिल 26, 2025
1.6kViews 114 Shares Share on Facebook Share on Twitter खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष…