जनता अब पनि राजनीतिक दलको झोले बनेर बस्दा देशको स्थिति के होला ?

मान्छेको जीवनमा दुःखसुःख दुवै आउँछ । कसैले पहिले दुःख भोग्छन्, पछि सुःख पाउँछन् । कसैले पहिले सुःख पाउँछन्, पछि दुःख भोग्छन् । सुःख भोगेर दुःख पाएकालाई जिन्दगी काट्न धेरै कठिनाइ हुन्छ । हिजो खुट्टामा चप्पल लगाउन नसक्ने राजनीतिक दलका नेताहरुले गलत माध्यमबाट अंकुत सम्पत्ति जोडेका छन् ।
सुःखी जीवन बिताइरहेका ती राजनीतिक दलका नेताहरुमाथि दुःखको बादल मडारिएको देख्न थालिएको छ । देशको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, विष्णु पौडेललगायतको जिन्दगी अब जेलमा कट्ने भनेर बजारमा व्यापक चर्चा चलेको छ ।
कसैमाथि सार्वजनिक जग्गा हिनामिना गरेको आरोप छ त कसैमाथि सर्प पाल्ने नाममा भ्रष्टाचार गरेको । दोषी उम्किनुहुँदैन्, निर्दोष फस्नुहुँदैन् । सर्वसाधारणले न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागलाई विश्वास गर्छन् । जुनसुकै अदालत होस् सरकारी, सार्वजनिक र गुठीको जग्गा सरकारको नाममा ल्याउनेगरी आदेश भइरहेको छ ।
यसले गर्दा अदालतप्रतिको विश्वास झनै बढेको छ । अख्तियारले त ‘ठूल्ठूला माछा’ लाई भ्रष्टाचारमा डामिरहेको छ । पछिल्लो घडीमा मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार तातेको देखेर सर्वसाधारण मख्ख परेका छन् । अब सर्वसाधारण एउटै पर्खाइमा छन्,‘सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध कहिले भ्रष्टाचार मुद्दा जारी होला ?’
उनीहरुलाई पक्राउ गर्न अदालतले कहिले पक्राउ पूर्जी जारी गर्छ ? यो जनचासोको विषय बनेको छ । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीको फाइल खोल्न शक्तिशाली आयोग गठन गर्ने बताएका छन् । २५ वटा फाइल खोल्ने उनको भनाइ छ । त्यसका लागि आगामी आर्थिक वर्ष २०८१–८२ मा बजेट छुट्याइएको उनले जनाएका छन् ।
सत्ताको आडमा गैरकानुनी काम गर्ने, देश खोक्रो बनाउने, भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाउने, विदेशमा लगेर पैसा लुकाउने, सरकारी, सार्वजनिक र गुठीको जग्गा पैसा खाँदै व्यक्तिको नाममा दर्ता गर्नेलाई अब छोड्नुहुँदैन् । चाहे त्यो देशकै प्रधानमन्त्री किन नहोस् ? गलत गर्ने कुनै पनि हालतमा उम्किनुभएन् ।
देश बनाउने नाममा आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीहरुले देश सर्वस्व बनाए । नेपाल भ्रष्टाचारको दलदलमा फसेको छ । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय स्तरमै नेपाल बद्नाम बनेको छ ।
अनि यस्तालाई छोड्नुहुन्छ ? न्यायालय र अख्तियारले छोडेपनि अब जनताले छोड्दैनन् । हिजो उनीहरु कहाँ जन्मिएका थिए ? कस्तो परिवारमा जन्मिएका थिए ? उनीहरुको पुख्र्यौली सम्पत्ति कति ? अहिले कति ? यो तुलना गर्ने हो भने भ्रष्टाचार गरेर ‘दूधको दूध, पानीको पानी’ भइहाल्छ ।
चप्पल लगाउने हैसियत नभएकाहरुले महल ठड्याएका छन् । चिल्ला गाडी चढेर हिँड्छन् । देश–विदेशमा पैसा लगेर राखेका छन् । बिजनेश–व्यापार केही छैन्, सम्पत्ति हेर्यो भने सात पुस्तालाई पनि बढी होला ? अनि यो भ्रष्टाचार नभएर के हो ? राजनीति गरेर कति कमाइन्छ ?
राजनीति व्यापार हो र ? पदमा पुग्दा त तलब पाइएला, नत्र त पाइँदैन् । अनि यत्रो सम्पत्ति कहाँबाट आयो ? सुरक्षाकर्मीहरुले जागिर खाने बेला म देश र जनताका लागि सधै समर्पित हुन्छु भनेर शपथ लिएका हुन्छन् । देश र जनताका लागि मर्न पनि तयार हुन्छु भनेर शपथ खाएका हुन्छन् ।
तर, सुरक्षाकर्मीले त्यसको विपरीत गरेका छन् । जसले देश बर्बाद बनाए, जनतालाई ‘मर्नु न बाँच्नु’ बनाए, तिनलाई सुरक्षा दिने ? यो जनताले तिरेको करको दुरुपयोग होइन् ? देश धितो राखेर यिनीहरुले २४ खर्ब रुपैयाँ ऋण लिइसकेका छन् । देशलाई विदेशी ऋणको दलदलमा फसाएर यिनीहरुले मोजमस्ती गरेका छन् ।
यत्रो ऋण जनताले आफ्नो लागि लिएका त होइनन् । जनताले हरेक वस्तु वा सेवाको प्रयोगमा कर तिरेका छन् । त्यतिले नपुगेर यत्रो ऋण लिएका छन् । कलिलै उमेरमा विदेश जानुपर्ने बाध्यता यिनीहरुले बनाइदिए । नागरिकता बनाउनेबित्तिकै पासपोर्ट बनाउन हिँड्नुपरेको छ ।
विवाह गर्नेबित्तिकै विदेशिनुपर्ने बाध्यता छ । आमाहरु आफ्ना दुधे बच्चा छोडेर कमाउन विदेश लागिरहेका छन् । लोकतन्त्र गणतन्त्र त यिनीहरुलाई मात्र आएकोजस्तो भएको छ । नाम जनताको, मोज राजनीतिक दलका नेता र कर्मचारीको । आज नेपाल कुन अवस्थामा छ ?
विश्वले नेपाललाई कुन नजरले हेर्छ ? यिनीहरुलाई मतलब छैन् । आफ्नो जमिनको सुरक्षा गर्न नसकेकाहरुले बाँकी भएको जमिन पनि धितो राखेर ऋण लिएका छन् । जनता मरुन् कि बाँचुन्, यिनीहरुलाई मतलब छैन् । आफ्नो धोक्रो भरेरै यिनीहरुलाई भ्याइनभ्याइ छ । जसरी हुन्छ विदेशी ऋण लिने आफ्नो सत्ता टिकाउने ।
तर, यसको विरोध कसले गर्ने ? जनता खाडीमा छन् । पेट पाल्नका लागि विदेश नगईकन भएको छैन् । यहाँ भएका त सबै कार्यकर्ता हुन् । नेताहरुले आफ्नो गलत कार्यमा साथ दिनका लागि कार्यकर्ता बनाएका छन् । कार्यकर्ता भएपछि आफने विरोधमा चुइक्क आवाज निकाल्दैन् भन्ने यिनीहरुलाई थाहा छ ।
जन्मिने बेलामा कोही पनि पार्टीको कार्यकर्ता भएर जन्मिएको थिएन् । पछि बनेको हो । कार्यकर्ताभन्दा पहिले ऊ नेपाली नागरिक हो । देशको नागरिकता लिएपछि ऐनकानुन मान्नुपर्छ । आफ्नो भूमिको संरक्षण गर्नुपर्छ । गलतको विरोधमा आवाज उठाउनुपर्छ । तर, यहाँ ठ्याक्कै त्यसको उल्टो छ ।
नेताहरुले जति गलत गरेपनि कोही चुइक्क बोल्दैनन् । किन कि सबै पार्टीका कार्यकर्ता बनेर बसेका छन् । सरकारी कर्मचारी कुनै पनि राजनीतिक दलको कार्यकर्ता बन्न पाउँदैनन् । यो कानुनमै लेखिएको छ । जनताको सेवा गर्छु भनेर जागिर खाएका सरकारी कर्मचारीले नै कानुन लत्याइरहेका छन् ।
राजनीतिक दलको झोले बन्ने, काम नगर्ने । झोले बनेपछि जे गर्दा पनि छुट हुने भएपछि बन्ने भइनै हाले । मुलुकमा लाखौं सरकारी कर्मचारी छन् । सबैले जनताले तिरको करबाट तलब खाएका छन्, लुगा लगाएका छन् । तर, कामचाँहि राजनीतिक दलको गर्छन् । देश र जनताप्रति उनीहरु अलिकति पनि जिम्मेवार देखिँदैनन् ।
जनताको अवस्था दिनप्रतिदिन नाजुक बनिरहेको छ । मुलुकमा विदेशी हस्तक्षेप बढिरहेको छ । विरोधमा बोल्ने केही नभएपछि नेताहरुको मनलाग्दी चलेको छ । हामीले जे गरेपनि कसैले चुइक्क बोल्दैनन् भन्ने नेताहरुलाई भएको छ । अब देश कसले बचाउँछ ? जनताको समस्या कसले सम्बोधन गरिदिन्छ ?
नेताहरु खानै नपाएर मर्नुपर्ने स्थिति बनेको छ । जनता निराश बनिरहेका छन् । देशमा केही गर्छुभन्दा काम गर्ने वातावरण छैन् । नेपालीले आफूसँग भएको ज्ञान र सिप अर्काको देश विकास गर्नमा प्रयोग गरिरहेका छन् । आफ्नो देश लथालिङ्ग छोडेर विदेशी मुलुकमा विकास गर्नुपर्दा नेपालीलाई कति हीनताबोध महसुश भएको होला ?
नेपाल विकासमा निरन्तर पछाडि परिरहेको छ । अझै पनि सत्ताको लुछाचुडी गर्न राजनीतिक दलहरुलाई लाज लाग्दैन् ? देश र जनताको अवस्था के छ ? थाहा छैन् । चाहिएको छ सत्ता । २००७ सालपछि पटकपटक राजनीतिक परिवर्तन भयो । तर, जनताको जीवनस्तर झनै खस्कियो ।
नेपाली जनता आफ्नै देशमा श्रम गरेर खान्थे । बिहान बेलुका खानकै लागि अर्काको मुख ताक्नुपर्ने बाध्यता थिएन् । विदेश ऋण थिएन् । विदेशी हस्तक्षेप थिएन् । नेपालको भूमि कसैले मिचेका थिएनन् । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भयो । जनताको आँखा अब पनि नखुले कहिले खुल्ने ? अब पार्टीको झोले बनेर नबसौं ।
अनुसा थापा

Facebook Comments Box
TOP
217 Shares