रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते

रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।शुक्रबार बिहान साढे ८ बजे  रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका-६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको छ भने गाडीमा १० जना यात्रु थिए।

घाइतेहरूमा बस चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका-५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्।घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन्।

२१ वर्षीया सबिना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंक कुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन्।

सडकबाट खसेको बस रूखमा अड्किएको अवस्थामा रहेको इन्स्पेक्टर न्यौपानेले बताए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल मन्थली लगिएको  उनले जानकारी दिए।

 

Facebook Comments Box
TOP
317 Shares