काठमाडौं महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।महानगरपालिकाले गरेको परीक्षणमा तीन वटा कम्पनीका जारको पानीमा कोलिफर्म भेटिएको हो ।महानगरले १० वटा कम्पनीको जारको पानी दुई चरणमा परीक्षण गर्दा तीन वटा कम्पनीको उत्पादनमा कोलिफर्म भेटिएको हो ।
पछिल्लो पटक महानगरले १८ भदौमा पिउनका लागि प्रयोग हुने ५ वटा कम्पनीको जारको पानी परीक्षणका लागि नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रयोगशालामा पठाएको थियो ।५ वटा कम्पनीको पानी परीक्षण गर्दा ‘एक्वा पिस’ र ‘एक्वा टोखा’ कम्पनीहरूले उत्पादन गरेको जारको पानीमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ ।
‘हामीले एक पटकमा ५ कम्पनीले उत्पादन गर्ने पानीको नमूना परीक्षणका लागि ल्याबमा पठाउने गर्छौं । जसमध्ये एउटा कम्पनीको जारको पानीमा कोलिफर्म भेटिएको हो । दोस्रो चरणमा पठाइएको ५ कम्पनी मध्ये २ कम्पनीले उत्पादन गर्ने पानीमा कोलिफर्म भेटिएको हो,’ महानगरका अनुगमन निरिक्षक डा. अवधेश झाले भने ।रिर्पोट अनुसार एक्वा पिस जार कम्पनीमा प्रतिसय मिलिलिटरमा ८० फोकल कोलिफर्म देखिएको हो भने एक्वा टोखामा ३० फेकल कोलिफर्म देखिएको हो ।
‘यो शून्य हुनुपर्ने हो तर जार कम्पनीहरूको लापरबाहीले यसमा कोलिफर्म देखिएको छ, स्वास्थ्यको दृष्टिकोणले यो अत्यन्तै जोखिमयूक्त हुन्छ,’ उनले भने ।यसअघि महानगरले २५ साउनमा ५ वटा कम्पनीको जारको पानीलाई नमूना परीक्षणका लागि केयूकेएलको ल्याबमा पठाएको थियो ।
जसको ल्याब रिपोर्टमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म देखिएको थियो । एक्वा त्रिदेवलाई महानगरले २ लाख रुपैयाँ जरिबाना गरेको थियो ।महानगरका खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ ।
‘कोलिफर्म देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो । कोलिफर्म मान्छे वा पशुको दिशामा पाइन्छ,’ बस्नेतले भने ।

Facebook Comments Box
TOP
400 Shares