केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी : मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन चलिरहेको जनाएको छ । रोजगार व्यवस्थापन महाशाखाका सचिव गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै केयरगिभरका लागि परेका केही आवेदकहरूले पेस गरेका कागजातमा कैफियत देखिएका जनाएका छन् ।

हाल कागजातहरू छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सकिएपछि मात्र थप प्रक्रिया अगाडि बढाइने बताए । नक्कली कागजात पेस गरेको भन्दै वैदेशिक रोजगार विभागले ५६३ वटा आवेदन रद्द गरेको थियो । त्यसपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरेर प्रतिवेदन बुझाई सकेको छ ।

छानबिनको क्रममा करिब १०० को हाराहारीका आवेदनमा केही कैफियत देखिएको छ । अब मन्त्रालयले यस विषयमा निर्णय गरेपछि मात्रै थप प्रक्रिया अगाडि बढ्नेछ । मन्त्रालयको छानविनकै क्रममा इजरायलले भने लक्की ड्र गरिसकेको छ । तर उक्त लक्की ड्रको सूची नेपाल पठाएको छैन । छानबिनकै क्रममा रहेको र उक्त छानबिन सकिएपछि मात्रै सूची नेपाल पठाउने इजरायलको तयारी छ ।

Facebook Comments Box
TOP
431 Shares