धनराजलाई समेत ‘दानवीरको दान’

कुलचन्द्र न्यौपाने, मातृका दाहाल, जयसिंह महरा ——

काठमाडौँ — कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले ललितपुरको मितेरी सहकारीबाट लिएको ऋण चुक्ता गर्दा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट रकम लिएको भेटिएको छ । करिब १ वर्ष कानुनमन्त्री भएका गुरुङ पदबाट मुक्त भएपछि धनराजले मीनबहादुरबाट ६ वटा चेकमार्फत ८२ लाख २७ हजार रुपैयाँ लिएका थिए । धनराज कानुनमन्त्री भएकै बेला पनि मीनबहादुर ललिता निवास जग्गा हिनामिनासहितका विभिन्न अभियोगमा मुद्दा लडिरहेका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा मीनबहादुर गुरुङको नाममा रहेको खाताबाट १४–१४ लाख पाँच र १२ लाख २६ हजार ९ सय १४ रुपैयाँ एउटा चेक धनराजले लिएका थिए । यी सबै चेक गत वैशाख १७ मा धनराजको तर्फबाट मितेरी सहकारीमा जम्मा गरिएको थियो । त्यस्तै जेठ ६ मा थप ८ लाख ९८ हजार रुपैयाँ भुक्तान गरेपछि धनराजको ऋण चुक्ता भएको सहकारीले जनाएको छ ।

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि व्यापारी मीनबहादुरबाट आएका चेकहरूमार्फत नै धनराजको ऋण चुक्ता भएको पुष्टि गरेका छन् । ‘धनराज गुरुङको ऋण तिर्नका लागि मीनबहादुर गुरुङले नै चेक दिएका हुन् । एनआईएमबीको चेक दिएका थिए,’ उनले भने, ‘चेक लिएर हाम्रो खातामा राखिदिनुस् भनेका थियौं । बैंकले हाम्रो खातामा जम्मा गरिदिएको छ ।’
२०८० वैशाख २१ मा कानुनमन्त्री बनेका धनराज २०८० फागुन २१ सम्म यो जिम्मेवारीमा थिए । त्यतिबेला ललिता निवास प्रकरणमा मीनबहादुरविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको थियो । मीनबहादुरसहित आरोपितविरुद्ध प्रहरीले किर्ते र संगठित अपराधमा अनुसन्धान अघि बढाए पनि संगठित अपराधको कसुर झिकेर किर्तेमा मात्रै मुद्दा चलाइएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन २१ मा कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता साझेदारी सुरु गरेपछि गुरुङसहित कांग्रेसका सबै मन्त्री बाहिरिएका थिए । त्यसको दुई महिनापछि अर्थात् वैशाख १७ मा गुरुङले मीनबहादुरसँग उक्त रकम लिएको देखिन्छ । यो विषय सार्वजनिक भएपछि धनराजले कान्तिपुरसँग भने, ‘मीनबहादुर दाइसँग पैसा लिएको हो, तर वकिल राखेर, कागज लेखेर, किनाराको साक्षी राखेर, दुई वटा औंठाको दायाँबायाँ सहीछाप कागज गरेर ऋण लिएको हुँ । कागजै गरेर ऋण लिँदाखेरि पनि तैंले किन ऋण लिइस्, फलानोसँग किन ऋण लिइस् भनेजस्तो कुरा आउँदा दुःख लागेको छ ।’

यद्यपि सहकारी बचत अपचलनमा नाम जोडिएपछि भदौ २९ मा उनले कान्तिपुरलाई भनेका थिए, ‘घर बेचेर सहकारीको ऋण तिरेको छु ।’ तत्कालीन श्रीमती ज्योति गुरुङ सगोलमा हुँदा १ करोड ८० लाख रुपैयाँ ऋण जति तिर्दा पनि नघटेपछि घर नै बेचेर तिरेको उनले दाबी गरेका थिए । ‘जति तिरे पनि ऋण घटेन, ब्याज बढेको बढ्यै गर्‍यो, ब्याजमाथि ब्याज थपिँदै गयो । अनि २०८१ को वैशाखतिर हुनुपर्छ, सहकारीले हिसाब मिलान गरेर राखेको ९१ लाख २६ हजार १४ रुपैयाँ एकैचोटि भुक्तानी गरेको हो,’ उनले त्यतिबेला भनेका थिए ।
विभिन्न कसुर लागेका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र सुशासन कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेका कानुनमन्त्रीको पदबाट हटेको दुई महिनाकै बीचमा भएको यो लेनदेनलाई ‘शंकास्पद’ मानिएको छ । तर, गुरुङले भने प्रधानमन्त्री र मन्त्रीले समेत स्वतन्त्र न्यायालयलाई प्रभावित पार्न नसक्ने भन्दै मीनबहादुरविरुद्ध चलेको मुद्दा र आफूले लिएको ऋणका विषयलाई जोड्न नमिल्ने बताए । ‘ऋण तिर्न गाह्रो परेकाले मैले मीनबहादुर दाइसँग १० प्रतिशत ब्याज तिर्ने गरेर रकम लिएको हो,’ उनले भने, ‘एक त ऋण लिने बेलामा म मन्त्रीबाट हटिसकेको थिएँ । अर्को कानुन मन्त्री भएको र मैले ऋण लिएको विषयमा कुनै साइनो छैन ।’

२०८० असार १२ मा पक्राउ परेका मीनबहादुर भदौ २४ मा धरौटीमा छुटेका थिए । त्यस्तै २०८० भदौ १० मा उनीसहित ३ सय ११ जनाविरुद्ध ललिता निवासको जग्गा किर्ते प्र्रकरणमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ललिता निवासको भ्रष्टाचार मुद्दामा २०८० फागुन ३ मा उनी दोषी ठहर भएका थिए । त्यसको एक महिनाअघि माघमा मीनबहादुर नै सञ्चालक रहेको भाटभटेनी सुपरमार्केट्स करछली मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएको थियो र उनले राज्यलाई करिब डेढ अर्ब राजस्व तिर्नुपर्ने फैसला भएको थियो ।
सत्तारुढ दल कांग्रेसका उपसभापति गुरुङ जोडिएको मितेरी सहकारीको बचत अपचलनदेखि पदमै रहेका बेला व्यापारीसँग शंकास्पद आर्थिक लेनदेन गरेको विषयमा प्रहरीले अनुसन्धान गरेको छैन । जबकि सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले समेत मितेरी सहकारीको बचत अपचलनमा जोडिएका धनराज गुरुङ र ज्योति गुरुङलगायत व्यक्तिहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
मितेरी सहकारी ठगी प्रकरणमा सुरुमा सहकारीका तर्फबाट ज्योति गुरुङ, धनराज गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारी, थर र वतन नखुलेका कृपेश, अर्जुन, टेकेन्द्र र सरोज यसमा संलग्न रहेको भन्दै अनुसन्धानका लागि वाग्मती प्रदेश सहकारी मन्त्रालयमा उजुरी परेको थियो । त्यसको बोधार्थ सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा दिएका थिए । दोस्रो पटक वाग्मती प्रदेश सहकारी मन्त्रालयले सुरुको जाहेरीमा समेटिएका धनराज गुरुङ र अरू ५ जनाको नाम हटाएर ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवलाई मात्रै प्रतिवादी बनाएर अनुसन्धानका लागि सीआईबीमा जाहेरी दिएको थियो । सीआईबीले भने सुरुको र पछिल्लो दुवै जाहेरीमा समेटिएका माथि अनुसन्धान भइरहेको जनाएको छ ।
सीआईबीका प्रमुख एआईजी दीपक थापाले मितेरी सहकारीको बचत अपचलन सम्बन्धमा अनुसन्धान भइरहेको र यसलाई टुंगोमा पुर्‍याउन अझै समय लाग्ने बताए । उनले धनराज र मीनबहादुरबीच भएको शंकास्पद लेनदेनको विषयमा पनि प्रमाण उपलब्ध भएसम्म कारबाहीको दायरामा ल्याइने दाबी गरे । ‘मितेरी सहकारी ठगीबारे परेको जाहेरीमा सहकारीका सञ्चालक र कर्मचारीहरूको नाम उल्लेख छ, यसमा धनराज गुरुङको नाम देखिँदैन, तर पनि गुरुङसमेतलाई अनुसन्धानको घेरामा राखेर अघि बढेका छौं, तथ्य र प्रमाणले ज–जसलाई समेट्छ, त्यही अनुसार अनुसन्धानले पूर्णता पाउँछ,’ उनले भने ।
उनका अनुसार मितेरी सहकारीको बचत हिनामिनामा सीआईबीले उक्त सहकारीकी महाप्रबन्धक ज्योति गुरुङ र अपचलन गर्ने अर्का व्यक्ति ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरिसकेको छ । दसैं अगाडि नै दुवैविरुद्ध ‘रेड नोटिस’ जारी भएको थापाले बताए ।
मितेरी सहकारी ब्रिटिस र भारतीय सेनाबाट अवकाश पाएका लाहुरेहरूको पहलमा खोलिएको संस्था हो । यो सहकारीमा कांग्रेस नेता गुरुङकी पत्नी ज्योति २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनिन् ।
महाप्रबन्धक भएपछि ज्योतिले ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाउन थालेकी थिइन् । सुरुमा ज्योतिले सहकारीबाट ३० लाख रुपैयाँ झिकेर ज्योति भण्डारीलाई एक साताका लागि सापटी दिएकोमा भण्डारीले ५ लाख थपेर फिर्ता गरेका थिए । दोस्रो चरणमा ४० लाख दिएकोमा त्यसको अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको पनि खुलेको छ । एक पटक ५० लाख दिएकोमा ६० लाख फिर्ता भयो । यसरी सातापिच्छे सहकारीको रकम मिटरब्याजमा लगाएर ज्योतिले नाजायज लाभ लिएकी थिइन् ।
यो क्रम बढ्दै जाँदा उनले भण्डारीलाई करिब साढे ३ करोड रुपैयाँ मिटरब्याजमा लगाएपछि त्यसबापतको रकम फिर्ता नदिई भण्डारी फरार भएसँगै हिनामिना प्रकरण सतहमा आएको थियो । नेता गुरुङकै योजनामा सहकारीको रकम मिटरब्याजमा लगाउने गरेको तर पछि यसमा आफू जोडिने देखेपछि गुरुङले पत्नी ज्योतिसँग ‘शंकास्पद सम्बन्ध विच्छेद’ गरेको आरोप लाग्दै आएको छ ।
यो अपचलन हुँदा धनराज पूर्ण जानकार रहेको तथ्यहरूले पनि देखाउँछ । मितेरीको रकम अपचलनको क्रम २०७९ सम्मै भएको देखिन्छ । सहकारी प्रकरणको विषय सञ्चालक समिति र सेयरधनीसम्मै पुगेपछि २०७६ फागुनमा धनराजले पत्नीसँग ‘सम्बन्ध विच्छेद’ गरेका थिए । सम्बन्ध विच्छेद गरेपछि सोही सहकारीबाट २०७७ फागुनमा १२ लाख रुपैयाँ ऋण लिँदा गुरुङले हकवालामा श्रीमती ज्योतिको नाम नै राखेका छन् । २०७९ को संसदीय चुनावमा उम्मेदवार मनोनयन गर्दा पनि गुरुङले श्रीमतीको महलमा ज्योतिकै नाम राखेर हस्ताक्षर गरेका छन् ।
त्यसो त सत्तारुढ एमालेको केन्द्रीय कार्यालय भवन पनि मीनबहादुरले बनाइदिने भएका छन् । दसैंको अष्टमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुरका दम्पत्तिले कीर्तिपुरको मित्रनगरस्थित १० रोपनी १४ आना दाबी गरिएको जग्गामा भवनको शिलान्यास गरेका थिए । राज्यसँग मुद्दा लडिरहेका व्यक्तिबाट सिधै प्रधानमन्त्रीको दलले सहयोग लिएको विषयमा प्रश्न उठेपछि एमालेले गुरुङ ‘दानवीर’ रहेको र उनीबाट सहयोग लिनु अन्यथा नहुने दाबी गर्दै आएको छ ।

Facebook Comments Box
TOP
196 Shares