घरजग्गा कारोबारमा भएन खासै सुधार
काठमाडौं । घरजग्गामा कित्ताकाट खुलेपछि र बैंकहरूमा लगानीयोग्य पुँजीको अधिक तरलतासँगै घरजग्गा कारोबारमा सुधार हुने अपेक्षा गरिए पनि खासै प्रगति नभएको पाइएको छ ।
दसैंका बेला चाडपर्व मनाउन विदेशबाट नेपाल आउनेहरूले घरजग्गा किन्ने समयमा पनि उत्साह नदेखिएको पाइएको छ । अपेक्षित कारोबार नभए पनि कात्तिकमा गत वर्षको कात्तिकमा भन्दा कारोबार बढेको देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको कात्तिकमा २६ हजारवटा कारोबार भएकामा यस वर्षको कात्तिकमा ३३ हजार ५ सय १४ वटा लिखत पारित भएको छ । गत असोजमा भने ३० हजार ५ सय २७ वटा लिखत पारित भई कारोबार भएको थियो ।
यसैगरी, असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाट भएकामा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट भएको छ । कित्ताकाट र कारोबार बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२ दशमलव २४ प्रतिशतले घटेको छ । गत असोजमा ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाउँदा कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै राजस्व उठेको विभागको तथ्यांक छ ।
सरकारले भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ संशोधन गरी भू–उपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा २०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेकामा पालिकाहरूले सोको निर्णय नगर्दा अन्योल कायम भएकाले पनि अपेक्षित कारोवार नभएको बताइएको छ ।
गत आर्थिक वर्षको तुलनामा भने चालू आवको कात्तिकमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन गरेका छन् ।
असोज महिनाको तुलनामा भने कात्तिकमा राजस्वमा कमी आएको छ । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४ सय ८१ रुपैयाँबराबरको राजस्व संकलन भएको थियो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालय सिर्दिवासमा कुनै कारोबार भएन भने सबैभन्दा बढी कारोबार इनरुवा सुनसरीमा भएको पाइएको छ । इनरुवामा एक महिनामा १ हजार २ सय ४६ वटा लिखत पारित भएको थियो । त्यसपश्चात् बढी लिखत पारित भएका मालपोत कार्यालयहरूमा क्रमशः मोरङ, धनुषा, राजविराज, भद्रपुर, धनगढी, मलंगवा, सिरहा र नेपालगन्ज रहेका छन् ।
मालपोत कार्यालय मोरङबाट १ हजार १ सय १२ वटा लिखत पारित भएको छ । मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट १ हजार २४, राजविराज सप्तरीबाट १ हजार २२, भद्रपुर झापाबाट ९ सय ९८, धनगढी कैलालीबाट ८ सय ६३, मलंगवा सर्लाहीबाट ७ सय ४७, सिरहाबाट ७ सय १२ र नेपालगञ्ज बाँकेबाट ७ सय ४ वटा लिखत पारित भएका छन् ।
उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोतमा ६ सय ७७ वटा लिखत पास भएका छन् । राजस्व संकलनका हिसाबले भने लगनखेलबाट बढी राजस्व संकलन भएको छ ।
काठमाडौं उपत्यकाभित्रका नौवटा मालपोत कार्यालयहरूमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६ सय ४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
चाबहिल मालपोत कार्यालयले भने २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२ रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, कलंकी मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७ सय ५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६ सय ३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । आजको राजधानी दैनिकबाट
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.4kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…