स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई जिताउन पूर्ण बस्नेतको अपिल

स्थानीय तहको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गरी जिताउन जनता समाजवादी पार्टी (जसपा) नेपालले अपिल गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहदेखि नै सुशासनको जग बसाल्न जसपा नेपालका उम्मेदवारलाई उपनिर्वाचनमा विजयी गराउन आह्वान गरेका हुन् ।

स्थानीय तहका चूनौति, सम्भावना र जसपा नेपालको प्रतिबद्धता सम्बन्धमा आफ्ना धारणा राख्दै बस्नेतले आफ्नो पार्टीका जनप्रतिनिधिले सरल र सहज रुपमा प्रशासनिक सेवा प्रदान गर्ने मात्र नभएर स्थानीयहरुको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार पार्ने कामसमेत गर्ने बताएका छन् ।

बस्नेतले स्थानीय तहको आर्थिक तथा सामाजिक विकासलाई दीगो बनाउन दिर्घकालीन सोच र उद्देश्यमा स्पष्टता, लक्ष्यहरुको किटान र ती लक्ष्यहरु हासिल गर्न आवश्यक नीतिगत व्यवस्था र कार्यक्रमिक योजनाहरु निर्माणमा जोड दिइने बताएका छन् ।

सुशासन र प्रभावकारी सेवा प्रदान गर्ने, लगानीका स्रोत, भौतिक पूर्वाधार निर्माण, स्थानीय अर्थतन्त्र निर्माण, वातावरण सम्बन्धी, स्थानीय लोकतन्त्र सुदृढीकरण र सामाजिक जागरणलगायतका स्थानीय तह सञ्चालनमा पार्टीको नीति, योजना तथा कार्यक्रमहरु रहेको उनले बताए ।

साथै स्थानीय तहका योजना तथा कार्यक्रमहरुमा समावेशी विकास, महिला, दलित, अल्पसंख्यक, शारीरिक अशक्तता भएका समुदायको उत्थान, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकास, ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, भौतिक पूर्वाधार विकासलगायत रहेको उनले दाबी गरे ।

जसपा नेपालले उपनिर्वाचनमा किर्तिपुर नगरपालिका प्रमुख, ग्रामथान गाउँपालिका अध्यक्ष गरी बाह्र स्थानका लागि उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

Facebook Comments Box
TOP
205 Shares