कालीमाथिका पुलको म्याद थपेको थप्यै

स्याङ्जा । चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् । सडकमार्फत दुई देश, दुई प्रदेश र दुई जिल्ला जोड्ने महत्वपूर्ण पुलहरू सम्झौताबमोजिम समयमै निर्माण नहुँदा स्थानीय नागरिकले दुःख भोग्नु परेको छ ।

दुई देश र दुई प्रदेशसँग जोडिने पुलहरू यहाँ कुनै १३ वर्षअघि र कुनै दुई वर्षअघि सम्झौता गरेर ठेकेदार कम्पनीले निर्माण अगाडि बढाएको पुल सेक्टर पोखराले जानकारी दिएको छ । सो कार्यालयका अनुसार स्याङ्जाबाट पाल्पा जोड्ने पाँच वटा र तनहुँबाट पाल्पा जोड्ने दुई वटा पुल निर्माणाधीन छन् । स्याङ्जाको दामाचौर, बासटारी, राम्दी, आँधीघाट, होस्तीबाट पाल्पा र तनहुँको पुट्टार र रोकुवाबाट पाल्पा जोड्ने गरेर पुल निर्माण भइरहेको छ ।

दामाचौर पुल सडक डिभिजन कार्यालय पाल्पा र अन्य छ वटा पुल सेक्टर पोखराले निर्माण अगाडि बढाएको हो । राम्दी पुल सिद्धार्थ राजमार्ग हुँदै भारत जोडिने पुल हो भने अन्य पुल कालीगण्डकी कोरिडोरमा जोडिने पुल हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौर र पाल्पाको रामपुर–६ जोडिने निर्माणाधीन दामाचौर पुल भारतीय सीमा सुस्ता पुगिने ट्रस पुल हो । २०६८ असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । १८१.६९ मिटर लम्बाइ रहेको पुलमा बिचमा दुईसहित चार पिल्लर राख्ने गरी काम थालेको थियो ।

वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिल्लर राखेर नदीको मध्य भागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम नभएपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो ।

डिजाइन अनुसार ‘वेल’ १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको थियो । पुल १३ वर्षमा चार पटकसम्म म्याद थपेर बल्ल ७० प्रतिशत काम सकिएको छ भने निर्माण कम्पनीले अन्य काम अगाडि बढाएको छ । आजको गोरखापत्र दैनिकबाट

Facebook Comments Box
TOP
480 Shares