जर्मनी जाने हो ? फलिन्द्रलाई सत्र लाख बुझाउनुस्, कामदार भिसामा गैहाल्नुस्

काठमाडौं । तपाईंलाई यूरोपको पनि मुख्य देश जर्मनी जाने इच्छा छ ? छ भने फलिन्द्र चौलागाइँ नामका व्यक्तिलाई भेट्नुस्, अनी जानुस् जर्मनी ।
हो, जर्मनीको केन्द्र बर्लिनमा कर्मा रेष्टुरेन्ट सञ्चालन गरी बसेका फलिन्द्र चौलागाइँ मोटो रकम असुलेर दक्ष कामदारका नाममा नेपालीलाई जर्मनी झिकाउने धन्दा गर्छन् । उनले आफ्नै लगानीमा सञ्चालन गर्दै आएको कर्मा रेष्टुरेन्टका लागि ‘दक्ष कामदार’ आवश्यक परेको कागजात मिलाएर मोटो रकम बुझाउने जस्ता पायो त्यस्तै नेपालीलाई जर्मनीमा झिकाउने गर्छन् । २०१२ देखि चौलागाइँले सञ्चालन गर्दै आएको भनिएको कर्मा रेष्टुरेन्टका लागि अहिलेसम्म कति नेपाली जर्मनी छिरे, को-कसबाट फलिन्द्रले कति रकम असुल गरे ? त्यो भन्दा पनि मोटो रकम बुझाएर त्यहाँ पुगेकाहरुले कस्तोसम्म दुःख पाएका होलान् ? त्यो मुख्य विषय हो ।
आफ्नो रेष्टुरेन्टमा आवश्यक कामदार झिकाउने भन्दा पनि कामदारका नाममा ‘मानवतस्करी’ धन्दा मुख्य हो फलिन्द्रको । भाँडा माझ्न पनि नजान्ने, तरकारी केलाउन पनि नसक्ने व्यक्तिलाई फलिन्द्रले मोटो रकम असुल्दै ‘कुक भिसा’मा झिकाउने गर्छन् । खासगरी यूरोपमा झिकाउने कामदारसँग विशेष दक्षता हुनु पर्ने व्यवस्था भएकाले ‘नेपाली कुक’का नाममा यूरोप मात्रै छिराउने उद्देश्यका साथ कामदार झिकाउने गर्छन्, फलिन्द्र । आफ्नो रेष्टुरेन्टलाई कामदार चाहिएको बहाना बनाएर १५ देखि २० लाखसम्म नेपाली रुपैया असुल्ने गरेका फलिन्द्रले जर्मनी पुगीसकेपछि भने ५-७ महिना मात्रै आफ्नो रेष्टुरेन्टमा काम लगाउने गर्छन्, र अन्यत्र काम पाएपछि फेरि कामदार आवश्यक परेको बहानामा फेरि मोटो रकम असुलेर अर्काे कामदार झिकाउने उनको धन्दा बनेको छ । पछिल्लो १०-१२ वर्षमा छ-सात दर्जन बढी ‘नेपाली कुक’लगायत अन्य कामको सिलसिलामा भन्दै नेपालबाट कामदार झिकाइसकेको अवस्था छ । त्यसरी जर्मनी जानेहरुबाट १५ देखि २० लाखसम्म रकम असुल्ने फलिन्द्रले अर्काे ठाउँमा काम नपाउँदासम्म आफ्नै रेष्टुरेन्टमा अति सामान्य पारिश्रमिक लिएर काम गर्नु पर्ने शर्त राखेका हुन्छन् ।
यसै पनि यूरोप मात्रै छिर्न पाए हुने आशमा रहेकाहरुलाई फलिन्द्रको प्रस्ताव आकर्षक नै लाग्छ । त्यसमाथि पनि जाने वित्तिकै बस्ने र खान पनि नि:शुल्क, अझ त्यसमा धेरै-थोरै खर्च पनि पाइने र स्थानीय भाषा, बन्दोबस्ती अनी बसाइँको पनि ज्ञान हुने भएकाले यूरोप छिर्ने योजना बनाएकाहरु पनि खुस र कामदार झिकाउने नाममा मानवतस्करी धन्दा गरेर मोटो रकम असुल्न पल्केका फलिन्द्रका लागि त ‘के खोज्छस् काना -आँखा’ भनेजस्तै भै’गो ।
पछिल्लो पटक प्यूठानका नारायण प्रसाद आचार्यलाई ‘नेपाली कुक’का नाममा कर्मा रेष्टुरेन्टका लागि झिकाएका फलिन्द्र भने यतीबेला फर्सादमा परेका छन् । उनले नेपाली कुकका नाममा भाँडा माझ्न, तरकारी केलाउन समेत नजानेका नारायणसँग सत्र लाख असुलेर जर्मनी झिकाएका थिए । त्यत्रो रकम बुझाएर गएका नारायणले जर्मनी छिरीसकेपछि भने तोकिएको सुविधा र शर्त पूरा नगरेको भन्दै फलिन्द्रको कर्मा रेष्टुरेन्टमाथि नै ‘लेवर कोट’मा मुद्दा हालेका छन् । त्यत्रो रकम बुझाएर जाँदा पनि भाँडा माझ्ने काममा लगाएको भन्दै गुनासो गर्न थालेपछि रेष्टुरेन्टका सञ्चालक फलिन्द्र चौलागाइँले प्यूठानका नारायाण प्रसाद आचार्यसँग गरेको सम्झौता रद्द गरीदिएपछि उनी ‘लेवर कोट’ पुगेको बताइएको छ ।
यसअघि, उनै फलिन्द्रको सल्लाह बमोजिम नारायणले बुढानिलकण्ठ र जावलाखेलमा रहेका रेष्टुरेन्टमा काम गरेको अनुभव सहितको सिफारिसपत्रका आधारमा सेफ्स एशोसियसनले सिफारिस गरेको थियो । समाचार स्रोतका अनुसार डेड लाख खर्च गरेर नारायणले सेफ्स एशोसियशनबाट ‘कुकीड सेफ्स´को सिफारिस लिएका थिए । सेफ्स एशोसियशनका केही पूर्व र वहालवाला पदाधिकारीले चलखेलकै आधारमा मोटो रकम लिएर सिफारिस पत्र दिने गरेको बताइन्छ । सेफ्स एशोसियशनले दिएको सिफारिसलाई विभिन्न मुलुकका काठमाडौंस्थित दूतावासले विश्वास गर्ने भएकाले अनुभव नै नभएका व्यक्तिले पनि रकम खर्चेकै भरमा सेफ एशोसियशनको सिफारिस पत्र पाउने गरेको खुलेको छ ।
यस प्रकरणमा थप अनुसन्धान जारी छ ।

Facebook Comments Box
TOP
451 Shares