यसकारण लमजुङबाट तानिए डिएसपी श्रीवास्तव

अञ्जनकुमार

फागुन ६ गतेदेखि शुरु भएको प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सव लमजुङ २०८१ को तेस्रो दिन गायक दुर्गेश थापाको प्रस्तुति थियो । बिहान दश बज्न नपाउँदै महोत्सव अवलोकनका लागि एक बित्ताको जाँघे र टाटेपांग्रे ज्याकेट लगाएर गएका डिएसपी निशान्त श्रीवास्तवलाई गेटपालेले छिर्न दिएनन् । साथमा थिए बर्दी बिनाका अंगरक्षक । टिकटबिना छिर्न नदिएपछि आक्रोशित बनेका डिएसपीले महोत्सव सुरक्षार्थ खटिएका सबै प्रहरीलाई फिर्ता बोलाएर दुई दिनसम्म नपठाएपछि खैलाबैला मच्चियो । आयोजकले क्षमा याचना नगरी सुख पाएनन् । यता, रातको १० बजेपछि कुनै कार्यक्रम गर्न नपाइने भनिए पनि १८ गते राति १२ बजेसम्म कन्सर्ट सञ्चालन गर्न दिइएपछि दर्शकबीच दह्रो मारपिट चल्यो । एक जना जनप्रतिनिधिको टाउको फुट्न पुग्यो ।

उनै डिएसपीले तिहारताका समातिएका बाह्रमासे जुवाडेलाई कांग्रेसको आग्रहमा सिडिओलाई समेत जानकारी नदिई साधारण तारेखमा छोडिदिए । श्रीवास्तव जाँड खान जहाँ बोलाए पनि आउने ढुङ्गा, गिट्टी–बालुवाका एक व्यापारीले बताए । उनै डिएसपी ६ महिना पूरा नहुँदै प्रधान कार्यालय तानिएका छन् ।

यसरी अवधि नपुग्दै तानिनुको कारण भारतको पञ्जाबबाट एक व्यक्तिको हत्या गरी नेपाल पसेका आरोपीलाई पक्राउ गर्न आएका पारिका प्रहरीलाई आइजीको समेत जानकारीबेगर सहयोग गर्नु हो । बाँके नेपालगञ्जका श्रीवास्तव इन्टरपोल र सिआइबीमा बस्दा भारत निकटस्थ मानिन्थे । फागुन ११ गते अचानक सिडिओ बुद्धबहादुर गुरुङलाई इमर्जेन्सी काम परेकाले काठमाडौं जानुपर्‍यो भन्ने जानकारी गराए । एकदमै जरुरी काम भनेपछि सिडिओले छुट्टी दिए ।

ती भारतीय आरोपीलाई सुटुक्क भारतीय प्रहरीको जिम्मा लगाइदिएको प्रकरणमा उनी मुछिएका हुन् ।

उता, तिनै डिएसपी श्रीवास्तवले अमेरिका बस्ने एक लमजुङे युवालाई थर्काएको बताइन्छ । आफ्नै श्रीमती सिर्जना भण्डारीबाट करणी उद्योगको आरोप लागेका विष्णुलाई श्रीवास्तवले तुरुन्त आउँछौ कि अमेरिकाबाटै हातमा हत्कडी लगाएर घिसारौँ भन्दै धम्क्याएका थिए ।

निशान्तको जिम्मेवारी खोसिएको लमजुङमा रेशम बोहरालाई काज खटाइए पनि उनी पुगेका छैनन् भने निमित्त भएर इप्रका भोटेओडारकी प्रहरी निरीक्षक चोनु गुरुङले चलाएकी छन् । आफू सरुवा हुँदै गर्दा निशान्तले जिल्ला प्रहरी कार्यालय खाली हुनेगरी कसैलाई घरबिदा त कसैलाई सरुवा स्वीकृत गरिदिएका छन् । २२ गते बिदा भएर जाँदै गर्दा केही पत्रकारबाहेक कोही भएनन् । जानेबेलासम्म पनि हाकिम श्रीवास्तव र एकाउन्टेन्टको समेत बोलचाल भएन ।

Facebook Comments Box
TOP
471 Shares