मदिराको नसामा तीन इन्स्पेक्टरबीच कुटाकुटको घटना ढाकछोप तिर …

काठमाडौं । नेपाल प्रहरी संगठनकै छविमै आँच पुर्याउने गरी तीन प्रहरी निरीक्षकबीच भएको कुटाकुट प्रकरण सामाजिक संजालतिर भाइरल छ । घटना यसैसाताको हो । तर कुटपिटको घटना भने शुक्रबारदेखि भाइरल भएको हो ।

बिराटनगरको एक होटलमा तिनजना प्रहरी निरीक्षक राजन लम्साल, सरोज खनाल र सन्तोष खड्का साँझमा खानपिन गर्न गएका थिए । लम्साल जिल्ला ट्राफिक मोरङका इन्चार्ज हुन् । खनाल जिल्लाका घुमुवा कमाण्डर हुन् भने खड्का इलाका प्रहरी कार्यालय रंगेलीका इन्चार्ज हुन् ।

एउटै ब्याचका तीनै इन्स्पेक्टरहरुबीच खानपिनकै क्रममा मदिराको नसा लाग्दै गएपछि बिल तिर्ने क्रममा तीनै जनाबीच विवाद भयो । विवाद बढ्दै जाँदा हानाहानकै अवस्था निम्तियो । होटलका कर्मचारीहरुले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर नगर प्रहरीबाट समेत होटलमा टोली पुग्यो ।

होटलमा हानाहान गरिरहेका तीन इन्स्पेक्टरलाई रोक्न खोज्दा प्रहरीका सिपाही हवल्दारदेखि असईसम्मले कुटाई खाए । मदिरा अत्यधिक भएकाले इन्स्पेक्टर लम्साल त सडकमा बस्त्रबिहीन भएर दौडिएपछि युनिफर्म लाएकाहरु समात्न पुगेको दृश्यसमेत देखिएको थियो ।

मदिराको सुरमा प्रहरीको बर्दीमै कालो धब्बा लगाउने उक्त घटनामा संलग्न कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी भीमबहादुर दाहाल र जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमौरियाले समेत एक्सन लिन सकेनन् ।

होटलमा मदिरा पिएर कुटपिट गर्नेहरुलाई मेडिकल चेकअप गराउने प्रहरीले आफ्नै अधिकृतहरुलाई त्यसो गर्न आवश्यक ठानेन । घटना गुपचुप बनाउन खोजे पनि डिजिटल संसारमा तीन इन्स्पेक्टरको आपसी कुटाकुटको भिडियो सामाजिक संजालमा छरपष्ट भइसकेको थियोे  ।

घटना घटेको ३–४ दिनपछि बैशाख १९ गते शुक्रबार साँझमात्र कुटपिटको भिडियो भाइरल भएपछि आईजीपी दीपक थापाले कारबाही गर्न निर्देशन दिएका थिए । तर मेडिकल चेकअप नै नभएकाले कानुनी रुपमा कुटपिटमा संलग्न तीनै इन्स्पेक्टर जोगिने भएका हुन। यदि घटना भएकै दिन उनीहरुको मेडिकल चेकअप भएको भए जागिरबाटै हात धुनुपर्ने थियो । आईजीपी थापाको निर्देशन अनुसार उनीहरुले नसिहत मात्र पाउनेछन् ।

प्रदेश र जिल्लाको कमजोरीले गर्दा बरिष्ठ प्रहरी अधिकृतले संगठनको छविमा आँच आउने घटनामा संलग्नहरुलाई सामान्य कारबाहीमात्र हुने भएको छ । घुमुवा कमाण्डर सरोज खनालले जिल्लाभरबाट संकलन गरी बुझाउने भएकाले एसपी चिमौरियाले मेडिकल चेकअप नै नगरी जोगाउने काम गरेको आरोप छ ।त्यसो त इन्स्पेक्टर सन्तोष खड्का पनि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाई जीवन आचार्यमार्फत् भनसुन गराई इलाका प्रहरी कार्यालय रंगेलीको इन्चार्जमा सरुवा भएका पावरफुल अधिकृत हुन् । रंगेली मोरङकै आकर्षक मानिन्छ । जहाँबाट सबैभन्दा बढी चिनी तस्करी हुने गर्दछ भने अन्य सामान पनि उत्तिकै भित्रने गरेको छ ।ईन्पेक्टर खड्काको जिल्लामा नाम कहिलिएका तस्करहरु सँग राम्रै उठबस रहेको उनी निकट जानकारहरुले बताउने गरेका छन ।

Facebook Comments Box
TOP
388 Shares