कैलाश-मानसरोबरको सिजन सुरु, प्रचारका लागि विज्ञापनको होडवाजी “एजेन्सी पैसा असुल्छन्, तिर्थालुप्रति गैरजिम्मेवार हुन्छन्”

काठमार्डौं । हिन्दु धर्मग्रन्थमा उल्लेख भएअनुसार भगवान ‘शिव’ र देवी ‘पार्वती’को बासस्थानका रुपमा कैलास पर्वतलाई मानिन्छ । त्यस्तै, देवताहरुले देवादीदेव भगवान ‘शिव’ र माता ‘पार्वती’को दर्शनभेटका लागि कैलास जानु पर्दा मानसरोवरमा नुहाईधुवाई गरेर जाने गरेको कहावत छ । यसै कारण कैलास-मानसरोवरको विशेष महत्त्व रहेको बताइन्छ ।
छिमेकी मुलुक चिनको तिब्बत क्षेत्रमा पर्ने कैलास पर्वत र मानसरोवरसम्मको तिर्थयात्राका क्रममा परिक्रमा गर्न हिन्दुजन मात्रै नभएर बौद्ध, शिख, जैन, ऊँकार लगायतका धार्मिक आस्था बोकेकाहरु र धार्मिक आस्था बाहेक पनि विभिन्न मुलुकका विदेशीहरु पनि कैलास यात्राका लागि मोहित हुन्छन् ।
‘शिव-पार्वती’को बासस्थान मानिने कैलास पर्वत त्यस्तो ठाउँमा अवस्थित छ, जुन पृथ्वीको भौगोलिक बनावट अनुसार अक्षांश र देशान्तरको केन्द्र मानिने अनौठो शक्ति र प्रभावशाली ठाउँका रुपमा पनि हेरिन्छ ।
खासगरी, नेपाली र भारतीयहरुको आस्थाको केन्द्र नै मानिन्छ कैलास-मानसरोवर । त्यसो त चिनको तिब्बत क्षेत्रका स्थानीय पनि कैलास पर्वतको हप्तौं लगाएर शिरको पाऊ हात लम्पसार पार्दै सुत्ने-उठने, फेरि सुत्ने अनी उठ्ने गर्दै पूरै आफ्नो जिउले जमिन छुने गरी कठोर परिक्रमा गर्ने गर्छन् ।
विगतमा भारतीय तिर्थयात्रीको घुइँचै लाग्ने कैलास-मानसरोवरमा पछिल्ला वर्ष भारत-चिन सिमा विवादकै कारण सम्वन्धमा केही चिसोपना देखिएपछि चिनले भारतीय नागरिकलाई प्रवेशाज्ञामा रोक लगाएको छ । यद्यपि, विभिन्न मुलुकमा रहँदै आएका गैरआवाशिय भारतीयले भने कैलास-मानसरोवर प्रवेशको अनूमती पाइरहेका छन् । यस अर्थमा भन्दा धार्मीक आस्थाका आधारमा नेपाली नागरिक, गैरआवासिय भारतीय नागरिक अनी तिब्बत क्षेत्रका स्थानीयवासी तथा केही विदेशी नागरिक कैलास परिक्रमाका लागि जाने गरेको पाइन्छ ।
चैत्र महिनाको दोस्रो सातादेखि भाद्र महिनाको अन्त्यसम्मको अवधिलाई कैलास यात्राका लागि उचित ‘सिजन’ मानिन्छ । यही सिजनमा आफ्नो व्यापार बढाउनका लागि ट्रेकिड्ग एजेन्सी सञ्चालकले प्रचार-प्रसारको धन्दा चलाउने गर्छन् । अहिले त्यस्ता एजेन्सीहरुबाट सामाजिक सञ्जाल मार्फत् कैलास-मानसरोवरका लागि बुकिड्ग खोलेको भन्दै प्रचार सुरु भइसकेको छ । तर, विज्ञापनमा गरिए भनिएजस्तो यात्राका क्रममा एजेन्सीबाट सेवा-सुविधा पाउन भने मुस्किलै छ । सोझै भन्नु पर्दा कतिपय एजेन्सीले गर्ने विज्ञापन उनीहरुका लागि “लुट धन्दा” नै हो ।
गत वर्ष कैलास-मानसरोवरको परिक्रमा गर्ने अवसर मिल्यो । थुप्रै एजेन्सीको विज्ञापन हेर्दै गर्दा र उनीहरुको समय तालिका मध्ये चिनजानको एक एजेन्सीसँग सम्पर्क भयो । कैलास-मानसरोवर तिर्थाटनका लागि ट्रेकिड्ग एजेन्सीले १ लाख ३० हजारदेखि १ लाख ६० हजारसम्म असुल्दा रहेछन् । त्यसमा पनि गैरआवासिय भारतीयसँग त डलर र यूरोमै कारोवार हुँदोरहेछ । महंगो शुल्क तिरेर गएका उनीहरुको गुनासो त फर्कने बेलासम्म कतिकति ? सँगै गएका गाइडसँग त कम्पनीले ‘यो दिन्छौं, त्यो दिन्छौं भन्थ्यो ख्वै त ?’ भन्दै सुविधाका सन्दर्भमा दिनदिनै विवाद गर्ने गरेको पनि देखियो।
रिचा ट्रेकले ठग्यो
यसैक्रममा ठमेलमा रहेको रिचा ट्रेकका जिम्मेवार व्यक्ति सांघे गुरुड्गसँग सम्पर्क भयो । आफूसँगै जाने अर्काे साथीका कारण रिचा ट्रेकका सांघे गुरुड्गसँग जोडिन पुग्दा साथीले चिनेजानेको एजेन्सीबाट गयो भने उता आर्थिक लगायत अन्य कुनै समस्या आई परे सामाधान हुन सक्छ भनेर आस्वस्त पारेका थिए ।
रिचाका सांघेले सुरुवातीमा यती लाग्ने उती लाग्ने बताएनन् । उनले ‘अरुलाई भन्दा केही हेरौंला’ मात्र भन्थे । तर, राहदानी बुझाएर प्रवेशाज्ञाका लागि फर्म भरिसकेपछि र यात्रा मिती नजिकै आउँदै गर्दा सांघेले १ लाख ६० हजार माग गरे । “त्यत्रो रकम किन ? अर्काे ट्रेकले १३०-१३५ सम्ममा लैजाने बताइरहेको छ”, त्यती भन्दा नभन्दै उनले जवाफ फर्काए- ‘हाम्रो कम्पनी अरुको जस्तो होइन । अर्काको कम्पनीसँग तुलना नगर्नुस् ।’ केहीबेरको बहसपछि सांघेले १ लाख ५० हजार असुली छाडे ।
प्रथमतः कैलास-मानसरोवरको यात्रा नथाल्दै चिनेकै भनिएका साथीले प्रस्ताव गरेकै ट्रेकिड्ग एजेन्सीबाटै ठगीयौं । जब यात्रा तय गरियो, तब यहाँ भनिएको जस्तो सुविधा त्यहाँ खासै उपलब्ध भएन ।
धर्मकर्म/तिर्थ गर्न हिँडेकाले सुविधाभन्दा पनि मन बुझाउनेतिरै लागियो । जसोतसो दार्चेन पुगियो, अनी एजेन्सीबाट ठगीएको भान पलपलमा भइरह्यो । प्रायः एजेन्सीले उपलब्ध गराउने सुविधा उहीँ र उस्तै हुँदारहेछन्, भन्नका लागि मात्रै हाम्रो कम्पनीले यसो र त्यसो गर्छ भन्दै आफ्नै तारिफ गरेर कम्पनीको बढाइँ गर्ने अनी रकम बढी असुल्ने गरिँदोरहेछ ।
कतिपय त यस्ता कम्पनी पनि रहेछन्, जसले विज्ञापन गरेकै भरमा आफूले पैसा असुल्ने र अर्काे कम्पनीको जिम्मा लगाएर कमिशन मात्रै खाने । हाम्रो ग्रुपमा अर्कै कम्पनीसँग सम्झौता गरेकी तर हाम्रो ग्रुपमा सँगै गएकी अमेरिका बस्ने भारतीय महिला पनि थिइन । उनले पनि आफू ठगीएको गुनासो बारम्बार गरीन् । त्यस्तै, अष्ट्रेलिया बस्ने भारतीय युवाको पनि उस्तै गुनासो थियो । उनीहरुलाई त रिचा ट्रेकले काठमाडौंमा पाँच तारे होटल दिन्छु भनेर रोयलसिंहेमा राखेको प्रति चित्त बुझेको थिएन ।
दार्चेन शहरबाट निस्केर यमद्धार पुगेपछि कैलासको ३ दिने पैदल यात्रा सुरु हुन्छ । हो, त्यहाँबाट देखाउँछन् ट्रेकिड्ग एजेन्सीले आफ्नो वास्तविकरुप । यामद्धारदेखि दिरापुग र दिरापुगदेखि जुथुलपुकसम्मको पदयात्राका क्रममा एजेन्सीले उपलब्ध गराउने खान्की यती तुच्छ हुन्छ कि मगन्तेलाई दिएजस्तो । त्यसमाथि पनि एजेन्सीले सहयोगीका रुपमा पठाएका गाइडको व्यवहार उस्तै झर्काे लाग्दो र गैरजिम्मेवारपूर्ण । अझै सकेसम्म त स्वास्थ्य अवस्था बिग्रने डर देखाएर परिक्रमा नै नगरोस्, यतैबाट फर्काउन सकिन्छ कि भन्ने अवस्था ती गाईड भनाउँदाले उत्पन्न गराइ दिँदारहेछन् ।
तपाईंहरु पनि विज्ञापनमा गरिएजस्तो प्रचारकै भ्रममा परेर कैलास-मानसरोवर दर्शनका लागि जाँदै हुनुहुन्छ भने सावधानी अपनाउनु होला।
समाज
थप सामाग्री
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
२ दिन अगाडि
2.3kViews 174 Shares Share on Facebook Share on Twitter विराटनगर, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र…