ललितपुरको बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री बनाउन सरोकारवालाहरुको जोड

ललितपुर  ।ललितपुरको बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हिजो असार १९ गते बिहिवार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले अस्पतालको भौतिक सुधार र सेवा विस्तार गर्दै जनविश्वास जगाउन सक्नुपर्ने धारणा राखे । बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बज्रबाराही चापागाउँ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैको पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

“महानगर वा नगरपालिकाले आफ्नै स्रोतले पनि अस्पताल सञ्चालन गर्न सक्छ, तर स्रोत र साधनको अभावमा गाउँपालिकालाई गाह्रो पर्छ,” उनले भने, “नागरिकको हितलाई हामीले ध्यान दिनुपर्छ, कुनै पनि विरामीले यहाँ आएपछि सेवा नपाउने अवस्था हुनुहुँदैन, जनचेतनाको माध्यमबाट यहाँको सेवाका बारेमा जानकारी दिंदै रोग लागेर उपचार गर्नुभन्दा रोग न्यूनीकरणतर्फ ध्यान दिनुपर्छ ।”

गोदावरी नगरपालिका वडा नंं. १३ का अध्यक्ष भास्कर थापाले ‘ससिखेल हेल्टपोष्ट’ भनेर चिनिने यो अस्पताल अहिले प्रदेशस्तरीय अस्पतालका रुपमा विकास भएको उल्लेख गर्दै विश्वासिलो सेवा प्रवाह जरुरी भएको बताए ।

वडा नं. ११ का अध्यक्ष निलबहादुर देसारले विरामीको चाप बढ्दासमेत अस्पतालमा सेवा लिनेको संख्या घटेको भन्दै चिन्ता व्यक्त गरे । अस्पतालप्रति जनविश्वास कायम गर्न सेवा प्रभावमा प्रभावकारिता आवश्यक पर्ने उनको भनाइ छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारको अवसरको रूपमा लिएर कार्ययोजनामा समावेश गरिने प्रतिवद्धता जनाएका छन् । “हामी राजनीतिमा होइन, सेवामा केन्द्रित छौं, समितिले बनाएको योजना अनुसार साउनदेखि सुधारका काम हुन्छ“, उनले भने ।

मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै ९८ प्रकारका औषधि सधैं उपलब्ध नहुने, एम्बुलेन्स बिग्रिएकोजस्ता कारणल सेवा प्रवाहमा अझै पनि समस्या हुने गरेको बताए । “सेवाको गुणस्तरमा ध्यान दिँदै टोकन प्रणाली, सर्जरी सेवा, नाक कान घाँटीको उपचार जस्ता क्षेत्रमा सुधार ल्याएका छौं”, उनले भने ।

डा. अमरदीप शाहले विगतको तुलनामा भर्ना हुने विरामीको संख्या उल्लेखनीय रूपमा बढेको खुलाए । “विशेषज्ञ सेवाको पहुँच वृद्धि भएको छ, तर वीमा भुक्तानी नआउनुले समस्या बढाएको छ”, उनको भनाइ थियो। पत्रकार शिवहरि घिमिरेले औषधि उपलब्धता, निःशुल्क सेवाको कार्यान्वयन र आधारभूत उपचारमा सेवाग्राहीमैत्री व्यवहार आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षता भएको सामाजिक परीक्षण कार्यक्रममा पत्रकार, सेवाग्राही, जनप्रतिनिधि, डाक्टर, नर्सलगायतका नागरिक समाजका ७९ जनाको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP
216 Shares