गणतन्त्रले देश बनाउने नाममा सिध्याइयो, नेताहरु अझै झुठो भाषण र आश्वासन बाँड्दै

२०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य हुँदै लोकतन्त्र गणतन्त्रको घोषणा भयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्रपछि मुलुकमा तीन जना राष्ट्रपति भइसकेका छन् । प्रथम राष्ट्रपति डा.रामवरण यादव, दोस्रो विद्यादेवी भण्डारी र तेस्रो वा वर्तमान रामचन्द्र पौडेल छन् ।

यता, गणतन्त्रको घोषणासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । त्यसपछि क्रमशः माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा प्रधानमन्त्री बने । हालसम्म हेर्दा ओली चार, प्रचण्ड तीन र देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।

वर्तमान सरकारमा ओली नै प्रधानमन्त्री छन् । मुलुकमा लोकतन्त्र गणतन्त्र आएको १८ वर्ष बितिसक्यो । राजा ज्ञानेन्द्र वीर विक्रम शाह दरबार छोडेर नागार्जुन पसेको पनि यति नै समय भएको छ । यो १८ वर्षमा देशमा केही भएन । पटकपटक प्रधानमन्त्री हुँदा पनि छिमेक भारत र चीनले कब्जा गरेको नेपाली भूभाग कसैले फिर्ता ल्याउन पहल गरेनन् ।

तिब्बत, दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता पहिले नेपाली भूभाग रहेको बताइन्छ । तर, अहिले यी भूभाग भारत र चीनको भनि परिचित छ । यतिमात्र होइन भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभागमाथि पनि आँखा गाडेको छ । उसले यी भूभागलाई आफ्नो दाबी गर्दै आएको छ । भारतीय पक्षद्धारा सीमा क्षेत्र मिच्ने क्रम पनि जारी छ ।

जुन उद्देश्यले राजतन्त्र अनत्य गरेर गणतन्त्र ल्याइयो, त्योमध्ये एउटै उद्देश्य हालसम्म पूरा भएको छैन । राजतन्त्र त हट्यो । दुर्भाग्य देश अहिले पनि त्यही अवस्थामा छ । बाटो, विद्यालय केही मात्रामा बनेपनि मुलुकको अर्थतन्त्र ध्वस्त नै भएको छ । अनि गणतन्त्रले मुलुकमा के उपलब्धि भयो त ? यस अवधिमा विदेशी ऋण २७ खर्ब पाँच अर्ब १७ करोड पुगेको छ ।

देशभित्रै पनि सरकार ऋणैऋणमा छ । यता, निर्माण व्यवसायीको ४५ अर्ब, दुग्ध कृषकको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी दिन बाँकी छ । सरकारी खर्च दिनहुँ बढ्दो छ तर आम्दानी शून्यझैं छ । सरकारको आम्दानी नहुँदा फेरि जनताले नै भोग्नुपरेको छ। उखु किसानको अनुदान काटिएको छ ।

अन्य क्षेत्रमा समेत दिँदै आएको अनुदान तथा सुविधा, छुट कटौती गर्ने सरकारी तयारी देखिन्छ । अनि खर्च धान्न नसके जनप्रतिनिधि, कर्मचारीको सेवासुविधा कटौती वा अनावश्यक खर्च नियन्त्रण गर्ने कि गरिब जनताले पाइरहेको केही सहुलियत ?

सहकारीमा आम सर्वसाधारणले जम्मा गरेको खर्बौ रकम राजनैतिक दलकै नेता, कार्यकर्ताको मिलेमतोमा पचाइएको छ । सरकारी, सार्वजनिक जग्गा, गुठी, ऐलानी, ताल पोखरी, मठमन्दिरको जग्गा कार्यकर्ताको नाममा लगियो । जनताले यत्रो वर्षदेखि तिरिआएको कर पनि पचाए । विदेशमा रगतपसिना बगाएर नेपाल पठाएको पैसामा पनि यिनै नेताहरुले मोजमस्ती गरिरहेका छन् ।

मुलुकमा तीन तहको सरकार छ । ३८ हजार जनप्रतिनिधि मात्रै छन् । एउटै जनप्रतिनिधिको मासिक तलब ५० हजारदेखि तीन लाख रुपैयाँ छ । करोडौं पर्ने सरकारी गाडी चढ्छन् । सेवासुविधा अलग्गै । त्यस्तै, कर्मचारी पनि लाखौंको संख्यामा छन् । सुरक्षाकर्मीतर्फ लाखौं, निजामतीमा लाखौं, शिक्षकमा लाखौं र ज्याला, करार कर्मचारी पनि लाखौं छन् ।

उनीहरुले पदअनुसार महिनाको ३५ हजारदेखि लाखौं तलब थाप्छन् । दशैंमा पेश्की दिनुपर्छ । बिरामी हुँदा उपचार खर्च । वर्षमा दुईजोर पोशाक किनिदिनुपर्छ । कार्यालय आउजाउका निम्ति लाखौंदेखि करोडौंको सवारीसाधन दिनुपर्छ भने सुरक्षाकर्मीलाई त खानाबस्नको समेत व्यवस्था गरिनुपर्छ । पेन्सन खाने कर्मचारी पनि लाखौंको संख्यामा छन् । सामाजिक सुरक्षा भत्ता खानेहरु देशभर ४२ लाख छन् ।

उनीहरुलाई महिनाको चार हजार रुपैयाँ दिनुपर्छ । पछिल्लो १८ वर्षमा मुलुकमा एउटै उद्योग, कलकारखाना खुलेको छैन । भएकासमेत डुबाएर सरकारले व्यक्तिलाई बेचिसक्यो । लोकतन्त्र गणतन्त्र आएपछि विशेषगरी तीन वटा कुरा फस्टायो । पहिलो घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु ह्वात्तै बढे । दोस्रो वैदेशिक रोजगारी । तेस्रो सुनको मूल्य अचाक्ली बढ्यो ।

चार दशकअघि एक हजार आना नपर्ने जमिन लोकतन्त्र गणतन्त्रपछि आनाकै ६०–७० लाख पुर्याइयो । बैंकले सय रुपैयाँ निष्काशन गरेको सेयर ३५ सयमा पुर्याइएको छ भने छिमेक भारत र चीनबाट एक लाखमा गाडी ल्याएर लाखौंदेखि करोडौंमा बेचिरहेको अवस्था छ । पहिले विदेश जाने चलन थिएन ।

जतिसुके दुःख भएपनि स्वदेशमै बसेर काम गरिन्थ्यो । तर, अहिले त दिनहुँ लाखौंको संख्यामा युवाहरु विदेश जान्छन् । १८ वर्षदेखि ५२ वर्षसम्मका मानिसहरु रोजगारीको सिलसिलामा विदेश गएका छन् । उनीहरुको श्रमले विदेशीले आफ्नो देश विकास गरिरहेको छ भने हामी हेरेको हेर्यै छौं । पाँच दशकअघि सुन प्रतितोला ८० रुपैयाँ रहेकोमा अहिले दुई लाख पुर्याइएको छ ।

गणतन्त्र आएपछि लुटतन्त्र मौलायो । हरेक क्षेत्रमा दलाली, बिचौलियाको जन्म भयो । गाउँ रित्तियो त शहर भरियो । हुँदाहुँदा अहिले त शहरसमेत रित्तिएको छ । युवाजति सबै विदेशमा छन् । यसरी नै चलिरहे केही समयपछि देशै रित्तिनेछ । ओली, प्रचण्ड, देउवा, नेपाल, भट्टराईलगायत दलका नेताहरुलाई जनता सोध्छन्, ‘यही गर्न देशमा लोकतन्त्र गणतन्त्र ल्याएको हो ?

सार्वजनिक स्थलमा देशको अवस्थाबारे जनता कुराकानी गरिरहेको भेटिन्छ । ‘देश यस्तो अवस्थामा पुग्यो, तर दल र कर्मचारीले वास्ता गरेनन्’ भनेर धेरै मानिसहरु बोलिरहेका छन् । अनि त्यहाँ कुनै दलको कार्यकर्ता, सरकारी कर्मचारी भएमा उनीहरु चुपचाप बस्छन् । उनीहरुलाई पनि देश लथालिंग अवस्थामा पुगिसक्यो र यसको जिम्मेवार अरु कोही नभई हामी नै हौ भनेर थाहा छ ।

तर, बोल्यो भने जनताले पिट्ने डरमा उनीहरु मौन बस्छन् । जनताको अवस्था दिनप्रति नाजुक बन्दै गएको छ । देश पनि शिथिल अवस्थामा छ। सहकारी डुब्यो । जनताको खर्बौ रकम गुम्यो । सहकारी डुबेपछि बैंक पनि डुब्ने डरमा मानिसहरुले धमाधम डिपोजित निकालेर घरमा राखेका छन् । बजार मन्दीमा छ । लगानी गर्न मानिसहरु डराइसकेका छन् ।

डुबिन्छ भन्ने डरमा उनीहरुले लगानी गर्नै छोडेका छन् । पैसा हुनेहरु हात बाँधेर बसेका छन् त पैसा नभएकासँग हिजो पनि थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छाँटकाँट देखिँदैन । उनीहरुलाई बिहान–बेलुकाकै छाक टार्न धौधौ छ । अनि लगानी गर्न कहाँबाट पैसा ल्याउनू ? पैसा ल्याएपनि लगानी गर्ने आइडियो चाहियो ? नभए चुलुम्मै भइहालिन्छ ।

लगानी गर्ने आइडिया र पैसा भएकाहरु डुब्ने डरले पछि हटिसके भने आइडिया र पैसा नभएकालाई त चासो हुने कुरै भएन । अनि बजारमा लगानी नभएपछि राजस्व कसरी उठ्छ ? जनता आफैं नाजुक अवस्थामा पुग्दा राज्यलाई कसरी राजस्व तिर्छन् ? फेरि जनताले कर नतिरे सरकारले कसरी खर्च धान्ने ? विदेशी ऋण कसरी तिर्ने ?

देश चारैतिरबाट संकटमा परिसक्यो । तर, अझै पनि सरकारमा बसेकाहरु यस अवस्थाप्रति गम्भीर देखिदैँनन् । जनता पनि नेताहरुको भ्रमणमा परिरहेका छन् । विदेशी ऋण तिर्न नसके मुलुक कालोसूचीमा मात्र होइन, विदेशीले कब्जासमेत गर्न सक्छन् । यद्यपि, जनता यसबारे अन्जान छन् । नेताहरुले यसकै फाइदा उठाएर अझै पनि विकासको नारा लगाइरहेका छन् । अनि देशै नरहे विकास कसरी हुन्छ ? नेताहरुले विकासको नारा लगाएर देश सिध्याइसके ।

माओवादीले देश बनाउने नाममा दश वर्ष जनयुद्ध गरेर १७ हजार नागरिक मार्यो । हजारौं अंगभंग भए त हजारौं बेपत्ता छन् । जनयुद्ध सकियो, देशमा लोकतन्त्र गणतन्त्र आयो तर उपलब्धि चाँहि के भयो त ? प्रचण्डले जनतालाई जवाफ दिनुपर्छ ।

अब जनताले नेताहरुको राजनीति, कुटनीति बुझ्नुपर्छ। उनीहरुको झुठो भाषण र आश्वासन पत्याउने होइन, देश जोगाउन नेताहरुको प्रतिवादमा उत्रिनुपर्ने अवस्था आइसकेको छ।जति छिटो यो कुरा बुझेर जनता सडकमा आउने छन्, त्यति नै देश जोगाउने सम्भावना बलियो छ।रुषा थापा

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
288 Shares