एकै परिवारका १६ जना बेपत्ता : ३ दिनदेखि रोइरहेको छ कुकुर , अलपत्र चौपाया

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार, गत बिहीबार (८ साउन) मा उनीहरूले घरमै सुँगुर काटेर खाएको पाइएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको अनुमान गरिएको छ । हायु परिवारको घर एकान्तमा रहेकाले बेपत्ता भएको खबर ढिलो गरी थाहा भयो ।

सोमबार बिहान खबर प्राप्त भएपछि प्रहरी, स्थानीय प्रशासन र वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूको घर पुग्दा कुकुर झ्यालमा बसेर रोइरहेको र अन्य चौपाया अलपत्र अवस्थामा थिए। घर नजिकैको छाप्रोमा आगो बालेर निभाएको जस्तो देखिन्थ्यो, जहाँ डढेका काठ र झुन्डिएका लुगाहरू भेटिए । पकाउने भाँडाकुँडा पनि बाहिरै छरिएका थिए, तर जस्ताले छाएको घरमा कोही थिएनन् ।

हायु समुदायको बसोबास रामेछापमा पनि बाक्लो भएकाले त्यहाँ पनि खोजी सुरु गरिएको छ। रामेछापका डीएसपी भोलाकुमार भट्टले पनि खोजी कार्य भइरहेको बताएका छन्।

प्रहरीले आफन्तकहाँ गएको हुन सक्ने आशङ्कामा अनुसन्धान गरिरहेको छ। स्थानीयका अनुसार, हायु परिवार ऋणको बोझमा तनावमा थियो, जसले गर्दा उनीहरू सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। साथै, लोपोन्मुख जातिको सूचीमा रहेको यो परिवारले केही दिनअघि सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय गएको र भत्ता बुझेको पनि खुलेको छ। भत्ता लिएकाले कसैले केही गरेको हो कि भन्ने आशङ्का पनि स्थानीयले गरेका छन्।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन्। यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन।

कसरी थाहा भयो?

उर्मिला हायुको भैँसी घरबाट करिब ४५ मिनेट टाढा डाँडाको गोठमा बाँधिएको थियो। तीन दिनदेखि भैँसीलाई घाँस-पानी दिन कोही नआएपछि छिमेकीले शङ्का गरे।

छिमेकीले नै भैँसीलाई स्याहार गरेका थिए । बिहीबार उनीहरूसँग भेट भएको भए पनि त्यसपछि सम्पर्क नभएको र भैँसी बेवारिसे देखिएपछि छिमेकीले घरमा जाँदा रित्तो भेटेका थिए। हायुको घरबाट नजिकको छिमेकीको घर पुग्न कम्तीमा १५ मिनेट लाग्छ। हाल स्थानीय, प्रहरी र प्रशासन खोजीमा जुटेका छन्।

Facebook Comments Box
TOP
134 Shares