झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो

विराटनगर- सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी भएका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणसहितको बिरामीले तीन जनाको मृत्यु भइसकेको छ ।

बुधबार मात्रै जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरापालिका-८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ । यससँगै भाइरलबाट मृत्यु हुनेको संख्या तीन पुगेको कारागार प्रशासनले जनाएको छ ।

बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएर बेहोस भएपछि यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको हो ।

सोमबार सुनसरीको गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।

उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका कैदी थिए । राई लागुऔषध कारोबारको मुद्दामा थुनामा थिए ।

शनिबार राति श्वासप्रश्वास बिग्रिएपछि उराँवलाई बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्यापछि अस्पताल लगिएको थियो । तर दुवै जनाले अस्पतालमै ज्यान गुमाए ।

तीनजना कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीको स्वास्थ्य परीक्षण भइरहेको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए । उनका अनुसार बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ ।

उच्च ज्वरो देखिएका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठान लगिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएको थियो । स्वास्थ्यकर्मीले बुधबार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको हो ।

जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच भइरहेको प्रशासनले जनाएको छ ।

चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको छ। झुम्का कारागारमा कोशीसहितबाट ल्याइएका एक हजार ७९४ जना कैदीबन्दी छन्।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
469 Shares