नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूको संयुक्त प्रेस विज्ञप्ति

२०८२ भदौ २१
सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो । नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको छ । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य हो ।
सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं । यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।
सरकारको कदमले विदेशमा रहेका लाखौं नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन सक्दैन । हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ ।
त्यसैगरी, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ ।
साथै, सरकारलाई दवाव दिनका लागि मिति २०८२ भदौ २२ गते आइतवार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आव्हान गरिएको छ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई आग्रह गर्दछौं । हामी प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सधैं प्रतिबद्ध रहनेछौं ।
हस्ताक्षर
१. तारानाथ दाहाल– पूर्व अध्यक्ष
२. गोविन्द आचार्य– पूर्व अध्यक्ष
३. रमेश विष्ट– पूर्व कार्यवाहक अध्यक्ष
४. खिलबहादुर भण्डारी– पूर्व उपाध्यक्ष
५. उदय जीएम– पूर्व उपाध्यक्ष
६. रोशन पुरी– पूर्व महासचिव
७. ध्रुव लम्साल– पूर्वसचिव
८. प्रकाश थापा– पूर्व सचिव
९. पवन आचार्य– पूर्व सचिव
१०. लक्ष्मी पुन– पूर्व सचिव
११. धमेन्द्र कर्ण– पूर्व सचिव
१२. लेखनाथ न्यौपाने– पूर्व लेखा समिति संयोजक
१३. विकास कार्की– पूर्व केन्द्रीय सदस्य
१४. उज्वल आचार्य– पूर्व केन्द्रीय सदस्य
१५. ध्रुव रावल– पूर्व केन्द्रीय सदस्य
१६. भीषण राई– पूर्व केन्द्रीय सदस्य
१७. प्रकाश तिमल्सिना– पूर्व केन्द्रीय सदस्य
१८. कृति भट्टराई– पूर्व केन्द्रीय सदस्य
१९. माधव पौडेल– पूर्व केन्द्रीय सदस्य
२०. अजय फुयाँल– पूर्व केन्द्रीय सदस्य
२१. माधव दुलाल– पूर्व केन्द्रीय सदस्य
२२. दीपेन्द्र कुँवर– पूर्व केन्द्रीय सदस्य

Facebook Comments Box
TOP
210 Shares