

मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु
महोत्तरी । भाद्र पूर्णिमाकै दिन महोत्तरीमा पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो ।
मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ”, महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन्, “देवर्षि पितृ तर्पणसँगै पितृपक्ष सुरु भएको मानिने मैथिल परम्परा छ ।” आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गत स्वजनलाई तर्पण दिइनेछ ।
पितृपक्षमा दिवङ्गत पितृको दुई प्रकारका श्राद्ध विधान छ । पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यसपक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ । त्यसैगरी पितृपक्षभित्रै दिवङ्गत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ । एकोपार्वणमा एकोदिष्ट (दिवङ्गत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकोपार्वण’ भनिएको पण्डित झाको भनाइ छ ।मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू आफ्नो बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् । मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । यो परम्पराले आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको भीड भएको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।
असोज कृष्णपक्षको अवधिलाई पितृपक्ष (मैथिली बोलीचालीमा पितरपक्ष) र सोह्रश्राद्ध भनिने गरिएको छ । यसपक्षमा पितृहरु (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउछन्।
पितृपक्षमा बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिबास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायतका नदीतटमा तर्पण दिने यजमान (श्राद्ध गर्ने कर्ता) लाई सङ्कल्प पढाउन पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई धपेडी पर्ने गर्छ ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू मैथिल पितृपक्षमा तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । यस पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष)सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिने चलन छ ।
दसैँं, तिहार र छठजस्ता मुख्य चाडवाडअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास गरिन्छ । यी पर्वबाहेक घरमा आयोजन गरिने माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादिसहितका शुभकार्य) अघि पनि पितृहरूलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने हिन्दू वैदिक परम्परा रहेको भङ्गाहा–५ का बासिन्दा मैथिल कर्मकाण्डी पुरोहित चन्द्रकान्त झा बताउछन् ।वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको झाको कथन छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।रासस
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



