संवेदनशील संक्रमणकालमा प्रहरी संगठनको भरपर्दाे नेतृत्व : एआईजी दानबहादुर कार्की

संक्रमणकाल र प्रहरीको जिम्मेवारी

सामान्यतया देशको राजनीतिक व्यवस्था परिवर्तन भएको वा राज्यले अस्थिरता र संकटको सामना गरिरहेको अवस्थालाई संक्रमणकाल भनिन्छ। नेपालमा अन्तिम पटक व्यवस्था परिवर्तन भएको करिब दुई दशक बितिसक्दा पनि देश अझै संक्रमणकालीन चुनौतीबाट मुक्त हुन सकेको छैन। यसको प्रमुख कारण अस्थिर सरकार, स्वार्थी गठबन्धन र अदूरदर्शी राजनीतिक नेतृत्व हो भन्नेमा दुईमत छैन।

यस्तो अवस्थामा नागरिकको सुरक्षा र कानूनको शासन सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सुरक्षा निकायहरू — नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग — माथि पर्छ। तर अहिलेको परिवेशमा सेना मौन छ, सशस्त्र प्रहरी नागरिकमैत्री मोडमा कमजोर देखिन्छ र गुप्तचर विभाग दिशाहीन जस्तो देखिन्छ।

यिनै अवस्थाबीच नेपाल प्रहरी नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा अझै पनि राज्यको पहिलो सुरक्षा ढाल बनेको छ।गत महिनाको २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ध्वस्त भएका काठमाडौं उपत्यका भित्रका प्रहरीका भौतिक संरचनाहरु क्रमिकरुपमा निर्माण हुँदैछन।उपत्यकाबासीले शान्तिको स्वास फेर्दैछन।जेनजी आन्दोलन लगत्तै भारी वर्षाको चपेटामा परेको उपत्यका र उपत्यकाबासीको उद्दारका लागि भारी वर्षाकै विच रातभरि छाताको भरमा सडकमा निक्लिएर प्रहरीका मनोबललाई उच्च राख्न सफल भएका छन एआईजी दानबहादुर कार्की ।

राजनीतिक हस्तक्षेप र प्रहरी नेतृत्वको चुनौती

प्रहरी नेतृत्वमा नियुक्ति कहिल्यै पनि सजिलो विषय होइन। योग्यता, अनुभव र व्यवसायिकता भन्दा बढी राजनीतिक पहुँच, चाकडी र सत्ता स्वार्थले निर्धारण गर्ने परम्परा बसिसकेको छ। “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान प्रहरी नेतृत्वमा बारम्बार प्रमाणित हुँदै आएको छ।

एक महिना अघि मात्रै नेपाल प्रहरीमा नेतृत्व परिवर्तन भएको छ। छोटो कार्यकालका लागि नियुक्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ करिब २९ वर्ष ९ महिनाको सेवायात्रामा विवादरहित र व्यावसायिक छवि निर्माण गर्न सफल अधिकारी हुन्। छोटो कार्यकालका कारण उनी संगठनमा दीर्घकालीन परिवर्तन ल्याउन नसके पनि निष्पक्षता र संगठनमाथि प्रतिवद्धताको उदाहरण स्थापित गर्न सक्छन्।

केहीदिन अगाडि भएको डीआईजी बढुवा सिफारिस र एआईजीको जिम्मेवारी वितरणले नै भविष्यको प्रहरी नेतृत्व निर्माणमा निर्णायक बन्नेछ। यसले संगठनमा योग्य र क्षमतावान नेतृत्व चयनको परीक्षा लिएको छ।

एआईजी दानबहादुर कार्की : नेतृत्वका लागि योग्य विकल्प

यसै सन्दर्भमा नेपाल प्रहरीका वरिष्ठतम अधिकारी, एआईजी दानबहादुर कार्की आगामी महानिरीक्षकका प्रबल दावेदारका रूपमा चर्चामा छन्। वरिष्ठता मात्र होइन, व्यवसायिकता, ईमानदारी र नेतृत्व क्षमताको आधारमा पनि कार्की प्रहरी संगठनभित्र अत्यन्त सम्मानित नाम हुन्।

गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ मा जन्मेका कार्की सानैदेखि मेहनती, अनुशासित र उद्देश्यप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी २०५४ चैत १८ मा लोकसेवा आयोगबाट प्रहरी निरीक्षकका रूपमा नियुक्त भएका थिए, जब उनको मासिक तलब जम्मा ४,००० रुपैयाँ मात्र थियो। प्रहरी सेवामा प्रवेशदेखि नै उनले “राज्य र जनताको हित” लाई आफ्नो सेवा सिद्धान्तको मूल मन्त्र बनाएका छन्।

व्यावसायिकता र मानवीय दृष्टिकोण

प्रहरी सेवाभित्र कार्की आफ्नो व्यावसायिक दक्षता, निर्णायक सोच र मानवीय नेतृत्वशैलीका कारण परिचित छन्। काठमाडौं, पोखरा, झापा, सप्तरीदेखि लुम्बिनीसम्मका जिम्मेवारीमा रहँदा उनले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र शान्ति सुरक्षामा प्रभावकारी नेतृत्व देखाएका छन्।

संगीतप्रेमी र सांस्कृतिक झुकाव भएका कार्कीले केही गीतहरू पनि बजारमा ल्याइसकेका छन्, जसमा प्रहरी जीवन र सेवाभाव झल्किन्छ। प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएपश्चात उनले संगठन सुधार, अनुशासन सुदृढीकरण र पारदर्शी प्रशासनिक प्रणाली विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

संवेदनशील समयमा स्थिर नेतृत्व

राजनीतिक संक्रमण, महामारी, प्राकृतिक विपद् र सामाजिक अस्थिरताको समयमै पनि एआईजी कार्कीले संयमता र विवेकपूर्ण निर्णय क्षमताको परिचय दिएका छन्। उनी प्रहरी संगठनलाई “जनताको सेवामा समर्पित प्रहरी” भन्ने आदर्श नारा व्यवहारमा रूपान्तरण गर्न सफल ठहरिएका छन्।

उनको संयम, पेशागत प्रतिबद्धता र दुरदर्शी सोचका कारण प्रहरी संगठनमा आन्तरिक मनोबल र जनविश्वास दुबै बढेको छ।

अन्ततः

संक्रमणकालीन नेपालमा प्रहरी संगठनको नेतृत्व अत्यन्त संवेदनशील विषय हो। संगठनलाई राजनीतिबाट भन्दा संस्थागत मूल्य, अनुशासन र व्यावसायिकता तर्फ उन्मुख गर्न सक्षम नेतृत्व नै समयको आवश्यकता हो।

त्यो दृष्टिकोणबाट एआईजी दानबहादुर कार्की निस्सन्देह यस्तो संक्रमणकालीन अवस्थामार्फत प्रहरीलाई स्थायित्व, पारदर्शिता र जनविश्वासको बाटोमा अघि बढाउन सक्ने सक्षम व्यक्ति हुन्।

 

Facebook Comments Box
TOP
175 Shares