जेनजी आन्दोलनपछि प्रहरी निष्क्रिय, हस्तक्षेपले हातखुट्टा बाँधिएको अवस्था

काठमाडौं, नेपाल – मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्नुपर्ने नेपाल प्रहरी जेनजी आन्दोलनपछि निष्क्रिय जस्तो अवस्थामा पुगेको छ। नियमित अनुसन्धान र कारबाहीमा समेत सरकारी हस्तक्षेप हुँदा प्रहरी अधिकृतहरूले हातखुट्टा बाँधिएको अनुभव गरिरहेका छन्।

उदाहरणका लागि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका दुई हतियार लुटेर कैलाली पुर्‍याएका तीन जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। तर गृह मन्त्रालयको निर्देशनअनुसार उनीहरू विरुद्ध मुद्दा चलाउन नपाइ छाड्नुपर्ने अवस्था आयो।

जेनजी आन्दोलनका बेला बागमती नदीमा ज्यान बचाउन पस्ने प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुडा र लाठी प्रहार गरेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो, तर पनि मुद्दा चलाउन सकिएन। महाराजगञ्ज, बानेश्वर, थानकोट, कालीमाटी वृत्तमा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हतियार लुट्ने प्रदर्शनकारीलाई भिडियो प्रमाणका आधारमा नियन्त्रणमा लिइएको भए पनि उनीहरूविरुद्ध पनि कानुनी कारबाही हुन सकेन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५३ जना प्रदर्शनकारीलाई सप्रमाण पक्राउ गरेको थियो। तर जिल्ला प्रहरी परिसरमा बुझाएको दुई–तीन दिनमै उनीहरूलाई छाड्न निर्देशन आयो। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई ‘प्रहरी हत्यामा संलग्न बाहेक सबैलाई छाड्ने’ निर्देशन दिँदा हिरासतमा रहेका सबै प्रदर्शनकारी छाडिए।

प्रहरी नेतृत्वले छाड्दा दण्डहीनता बढ्ने र मनोबल खस्किने चेतावनी दिएको भए पनि गृह मन्त्रीले आफ्नो निर्देशनमा अडिग रहे। प्रहरीको भनाइ अनुसार, भदौ २३–२४ गते पक्राउ परेकाहरूलाई तत्काल कारबाही नअगाडि बढाउन प्रेस विज्ञप्ति नै जारी गरिएको थियो।

एक उच्च प्रहरी अधिकृतले भने, “प्रहरी कार्यालय जलाइएको, हतियार लुटिएको, पोशाक च्याटेको र गाडी जलाइएको भिडियो र बयान हामीले मिसिलमा राखेका थियौं। तर एकाएक ‘सबैलाई छाडिदेऊ’ भन्ने निर्देशन आयो। यसले हाम्रो मनोबलमा गम्भीर असर पारेको छ।”

प्रहरीका अनुसार, कोटेश्वर र महाराजगञ्ज वृत्तमा प्रहरी मार्ने दुई जनालाई मात्र पक्राउ राखिएको छ। बाँकी सबैलाई छाडिएको छ। प्रहरीले गम्भीर प्रकृतिका अपराधबाहेक अन्य उजुरी दर्ता गरेको छैन।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले भने, “फौजदारी अभियोगमा आरोपी पक्राउ गर्न आयोगको निर्णय कुर्न आवश्यक छैन।” तर गृह मन्त्रालयले थप निर्देशन नदिँदा प्रहरी अहिले कसैलाई नियन्त्रणमा लिएको छैन।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, “पूर्व विज्ञप्ति सच्चाएर अब पक्राउ गर भन्यो भने मात्रै कारबाही अघि बढाउँछौं। अन्यथा अहिले कुनै कारबाही अघि बढाइँदैन।”

विशेषज्ञहरूले यो अवस्था प्रहरीको मनोबलमा असर पुर्‍याउँदै शान्ति सुरक्षा प्रणाली कमजोर भएको चेतावनी दिएका छन।

Facebook Comments Box
TOP
278 Shares