२१ सय मिटरको उचाइमा समाजवादको बस्ती : जुगलको हगाम, जहाँ ‘म’ होइन ‘हामी’ बन्छ जीवनको आधार

सिन्धुपाल्चोक –
जंगल, झरना र हिमालले घेरेको सुन्दर गाउँ— जुगल गाउँपालिका–६, हगाम। करिब २१ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट जुगल हिमशृंखला आमनेसामने देखिन्छ। वरिपरि छङछङ झर्ने कञ्चन झरना, जडीबुटी र हरियालीले सजिएको गाउँमा अहिले समाजवादको नयाँ प्रयोग सुरु भएको छ।

८० घर तामाङ समुदायका पाख्रिन परिवारले बसोबास गर्ने हगाम अब “समाजवादी गाउँ” को परिचयले देशभर चर्चित बनेको छ। यहाँ जीवन, सुख र दु:ख सामूहिक छन्— न त व्यक्तिगत सम्पत्ति छ, न त व्यक्तिगत चुलो। गाउँकै नाममा सबैले मिलेर कमाउँछन्, बाँड्छन् र बाँच्छन्।

‘गरे हुन्छ, गरिहेरौँ’ : गाउँको सिद्धान्त

गर्न सक्छौँ, गरे हुन्छ, गरिहेरौँ’ — यही नारा हो हगाम समाजवादी गाउँको मूल दर्शन।
हगाम समाजवादी गाउँ कार्यकारिणी समितिका अध्यक्ष मिलन तामाङ पाख्रिन यस दर्शनका सूत्रधार हुन्। पर्यटन व्यवसायीसमेत रहेका पाख्रिनले गाउँलाई सामूहिकताको मोडलमा रुपान्तरण गर्ने योजना लिएपछि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले त्यसलाई प्राथमिकतामा राखे। पालिकाको सहयोगमा गाउँमा पूर्वाधार निर्माणदेखि सामूहिक उत्पादन प्रणाली सुरु भयो।

दुई वर्षमै समाजवादी रूपान्तरण

दुई वर्षअघि सुरु गरिएको अभियानले अहिले हगामलाई पूर्णरूपमा सामूहिक बस्ती बनाएको छ।
यहाँको आम्दानी र खर्च सामूहिक हुन्छ, सबैको चुलोमा एउटै खान्की पाक्छ।
काम, अवसर र जीवनका सबै पक्षमा समानताको अभ्यास हुन्छ।

हगाम अहिले सिन्धुपाल्चोकको पहिलो समाजवादी गाउँ बनेको छ।

जडीबुटी, पर्यटन र होमस्टे : सामूहिक आम्दानीका आधार

गाउँको मुख्य आम्दानीका स्रोत पर्यटन, जडीबुटी उत्पादन र होमस्टे हुन्।
पाख्रिन होमस्टे’ मा आगन्तुकले तामाङ संस्कृति, संगीत र परम्परागत खानाको अनुभव लिन्छन्।
त्यससँगै मञ्जुश्री पार्क र सय वर्ष पुरानो गुम्बा यहाँका आकर्षक गन्तव्य बनेका छन्।

जडीबुटी उत्पादनतर्फ धसिंग्रे तेल, चिराइतो, कुट्कीचियाखेती प्रमुख छन्।
धसिंग्रे तेलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिलिटर ८ हजार रुपैयाँ पर्छ— यो गाउँकै सामूहिक उत्पादन हो।

शिक्षा, स्वास्थ्य र कृषि पनि सामूहिक

गाउँमै विद्यालय छ भने स्वास्थ्यका लागि नजिकैको जेरी रोड सामुदायिक अस्पतालमा प्राकृतिक उपचार पद्धति अपनाइन्छ।
धान, मकै, कोदो र आलु खेती पनि क्रमशः सामूहिक ढाँचामा रूपान्तरण हुँदैछ।

“हाम्रो समाजवाद सजिलो बाटोबाट, नजिकबाट र सानो स्तरबाट सुरु भएको हो,” अध्यक्ष पाख्रिन भन्छन्,
“हामीले पाँच आचारसंहिता बनाएका छौँ— जसको मर्म हो, काम आजै सुरु गरौँ र आफैँले गरौँ।”

विदेशी युवाको योगदान र भविष्यको सपना

तीन सय २० जनसंख्या भएको हगामका ६० युवा विदेशमा कार्यरत छन्।
उनीहरूले कमाएको रकमको निश्चित हिस्सा सामुदायिक योजना र खेतीमा लगाइन्छ
गाउँले दश वर्षभित्र पूर्ण आत्मनिर्भर समाजवादी मोडल बन्ने लक्ष्य लिएको छ।

गाउँपालिका अध्यक्ष स्याङ्बो भन्छन्,

“हगामलाई मोडल बनाएर पालिकाभर समाजवादी गाउँ विस्तार गर्ने हाम्रो उद्देश्य छ। त्यसका लागि हरेक वर्ष पाँच लाख रुपैयाँ छुट्याइन्छ।”

स्याङ्बोले हगामको योजना तयार पार्दा लमजुङको घलेगाउँको अनुभव पनि अध्ययन गरिएको बताए।

‘हामी’ केन्द्रित जीवनशैली

यहाँ कसैको निजी सम्पत्ति होइन, सबैको सामूहिक स्वामित्व हो।
उनीहरू भन्छन् — “हगाममा ‘म’ होइन, ‘हामी’ बाँच्छौँ।”
सामूहिक उत्पादन, सामूहिक बाँडफाँड र सामूहिक निर्णयले यो गाउँ अब केवल बस्ती होइन,
नेपालमै समाजवादको जीवित उदाहरण बनेको छ।

 

Facebook Comments Box
TOP
380 Shares