प्रचण्डको आह्वान : ‘गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा आउनुपर्छ’

काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल परिस्थितिमा रहेको भन्दै सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकजुट हुन आह्वान गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले देशले भोगिरहेका समस्या र संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने बताएका छन्।

प्रचण्डले भनेका छन्, “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ।”

उनका अनुसार राष्ट्रले सामना गरिरहेका चुनौती समाधानका लागि देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।

माओवादी केन्द्रका संयोजकले वामपन्थी एकता र साझा आन्दोलनको आवश्यकता औंल्याउँदै भनेका छन्, “संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनुपर्छ।”

उनले माओवादी धारासहितका सबै वामपन्थीहरूलाई एउटै झन्डामुनि एकताबद्ध हुन पनि हार्दिक अपिल गरेका छन्।

 

Facebook Comments Box
TOP
455 Shares