सुशीला ‘आमा’को सिफारिस अस्वीकार गर्ने गणपतिको स्वार्थ के हो ? कुकुर भुक्यो भनेर हात्ति लम्कन नछाडोस् !

मधु लम्साल

मन्त्रीमा सिफारिस भएका एकजनालाई आफूले भनेकै मन्त्रालय नपाउँदा मन्त्री पद नै अस्वीकार गरेको सार्वजनिक भएको छ । भूमीसुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्री नै बन्नु पर्यो रे !
के रै’छ पर्यटन मन्त्रालय नै रोज्नुको रहश्य ?
गणपतिकै भनाइँलाई आधार मान्ने हो भने त उनी पर्यटन मन्त्रालयका लागि काविल हुन् रे ! भूमीसुधार मन्त्रालय बारे उनलाई जानकारी छैन रे ! त्यही भएर आफूलाई अनूभव नै नभएको मन्त्रालय अस्वीकार गरेका रे !
धैत् ! त्यस्तो पनि हुन्छ ? त्यो पनि अहिले देशमा उत्पन्न जटिल परिस्थितिमा ?
अहिलेको मन्त्रीपरिषद्का सदस्य अनुभवी हुनु पर्ने, उसँग काम गर्ने क्षमता पनि हुनै पर्ने, आफूमा भएको अनूभव देखाउने वर्तमान मन्त्रीपरिषद्का सदस्यलाई अवधि छ र ? यो त्यसो गर्ने समय हो र ?
अहिलेको मन्त्रीपरिषद् भनेको कामचलाउ मात्र हो भन्ने बुझ्नु पर्दैन ?
हो, वर्तमान मन्त्रीपरिषद्मा विवादित अनुहार, झल्लु व्यक्ति पर्नु हुन्न । सके राम्रो गर्ने हो, नराम्रो गर्न पनि यो सरकारलाई छुट छैन । सुशीला कार्की नेतृत्वको सरकारको एक मात्र प्रमुख एजेन्डा देशमा शान्ति सुरक्षाको अवस्था कायम गर्दै स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन गराएर नयाँ जनादेश प्राप्त दललाई आगामी सरकारको नेतृत्व हस्तान्तरण गर्नु मात्र हो । भन्नलाई भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नु पनि यो सरकारको दायित्व हो भनिएला । तर, अस्थायी सरकारको छोटो अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम पक्कै सम्भव छैन । भ्रष्टाचार देखिएर हुने होइन, त्यसैले यो सरकारले त्यसको नियन्त्रणका लागि एउटा यात्राको थालनीसम्म गर्न सक्छ ।
तर, छोटो अवधिको सरकार, जसको एजेन्डा नै निर्वाचन मात्र प्रमुख उद्देश्य हो । त्यही सरकारमा जान इच्छुक सदस्यले मन्त्रालय नै रोज्ने, रोजेको मन्त्रालय नपाउँदा अस्वीकारको घुर्कि देखाउने ? त्यो सुहाउँदो हो ? मन्त्रीमा सिफारिस हुनु अघि त्यो गणपतिलाल श्रेष्ठ भन्ने व्यक्तिलाई चिन्ने नेपाली कति थिए होला र ? न उसलाई कुनै प्रमुख राजनैतिक दलले चिन्थ्यो कि ? सामान्य अभियन्ता वा विज्ञता हासिल गरेको भन्दैमा ‘आमा’ समान कि सुशीला कार्की जो नेपालको सर्वाेच्च न्यायलयलमा महिलाले पहिलो पटक नेतृत्व गरेको नजिर कायम गरेकी छिन्, जसले न्यायमा बिचलन आउन नदिइकनै कोही कसैबाट प्रभावित, आग्रह वा दूराग्रह नराखिकनै भ्रष्टाचार विरुद्ध दह्रो अडान लिएर ‘मै हुँ’ भन्ने नेतालाई भ्रष्टाचारी ठहर गर्दै जेलको छिँडीमा पुराइदिइन्, सत्ताको पावर कति हुन्छ तँलाई देखाइदिन्छु भन्दै प्रहरी अधिकारीलाई चौविस घन्टामा लखेट्ने धम्की दिने ज्यानमारा अपराधीलाई के देखाइदिनु पर्ने हो, त्यो देखाइदिइन । त्यस्ती ‘आमारुपी’ साहासिक महिलाले पहिलो पटक देशकै सत्ताको बागडोर सम्हाल्दै गरेको अवस्थामा उनको सारथी बनेर सघाउनु त परैको कुरा उल्टै अनुभवको प्रसंग अगाडी सारेर उनकै चित्त दुखाउने अनी वर्तमान सरकारलाई नै एउटा व्यक्तिले चुनौति दिएको सन्देश प्रवाह गर्न मिल्छ ?
गणपतिलाल श्रेष्ठलाई पर्यटन मन्त्रालयमा पुगेर के के गरौंला भन्ने थियो होला र ? उनले आफूलाई प्राप्त जिम्मेवारी अस्वीकार गरेका होलान् ? कस्ता-कस्ता कहाँ गए, कुन्नी के का छाउरा भनेजस्तो उसले यो छोटो अवधिमा गर्ने भनेको के हो ? गरेर त्यसको नतिजा बाहिर आउने भनेको के हो ? कुनै पनि कामको सकरात्मक सन्देश प्रवाह हुन निकै समय लाग्छ । त्यसमा पनि पर्यटन मन्त्रालय अन्तर्गतका कुनै पनि निकायमा सुधारका क्रियाकलाप वा केही गरेको देखाउनका लागि तत्काल नतिजा आइहाल्ने निकाय होइन र छैनन् पनि । यदी गणपतिलालले वर्तमान अवस्थामा आफूलाई प्राप्त जिम्मेवारी स्वीकार्दै म भाग्यमानी रहेछु भन्ने ठानेको भए भूमीसुधार तथा व्यवस्था मन्त्रालयमै छोटो समयमा धेरै गरेर देखाउन सक्थे । तर, उनी यहीँनेर चुके । उनले आफ्नो भाग्यमा प्राप्त उपलब्धी यहीँनेर पोखे । उनलाई ‘कठ्ठै’ बन्नुको विकल्प अव रहेन ।
र, प्रदर्शनका नाममा भएको विध्वंस पछि राज्यमा निम्तिएको संकटको निकासका लागि सुशीला कार्कीलाई सर्वसम्मत नेतृत्व सुम्पीएको अवस्था हो यो । उनलाई कसैले दया माया गरेर वा उनको अघिपछि ठूलो संख्यामा कार्यकर्ता छन् भनेर देशको नेतृत्व दिइएको होइन । तत्कालको प्रमुख आवश्यकता र त्यो जिम्मेवारीका लागि सही पात्र थिइन् उनी । उनी नेतृत्वको सरकारले अहिलेको अवस्थामा कसैलाई सुन्ने होइन, देशको हितमा हुने जुनसुकै काम गर्न रोकिनु हुन्न । बरु, सत्ता सञ्चालनका सारथी चयन गर्दैगर्दा आएका वा उठेका नाम बारे पनि पहिल्यै चासो राख्ने गरौं । गहन ढंगबाट छलफल गरौं । सिफारिस गरिसकेपछि विवाद आयो भन्दैमा त्यस्ता नाम फिर्ता लिने काम नगरौं, त्यसले आफ्नो कमजोरी मात्रै दर्शाउँछ ।
कसैले विरोध गर्यो वा असहयोग गर्यो भनेर निरुत्साहित पनि हुनु पर्दैन । कुकुर भुक्दै गर्छ हात्ति लम्कँदै गर्नु पर्छ । त्यसैले सुशीला ‘आमा’ आफ्नो जिम्मेवारी र दायित्वलाई बहन गर्न निरन्तर अघि बढ्नु पर्छ, त्यसका लागि उहाँलाई हामी सबैले एक सुत्रीय अभियान ठान्दै साथ दिनु अहिलेको अपरिहार्यता पनि हो । जसरी निडर न्यायमूर्तिको छाप सर्वाेच्च न्यायलयमा छाड्न् भो, उसैगरी संकटको बेलामा देशको प्रशासनिक बागडोर सम्हालेको पनि नजिर कायम गराउने अभियानमा लाग्नुस् । सबैको जय होस्, जय नेपाल ।

Facebook Comments Box
TOP
130 Shares