बालेनको निरन्तर दबाबले प्रधानमन्त्री सुशीला कार्की अप्ठ्यारोमा
गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने खेल तीव्र, सरकारभित्र शक्ति संघर्ष चर्किँदै
काठमाडौं । पछिल्लो आन्दोलनमा ठूलो जनधनी क्षति र विध्वंशपछि बनेको नयाँ सरकारभित्र शक्ति सन्तुलनको संघर्ष तीव्र बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार अहिले आन्तरिक असन्तुलनका कारण दबाबमा परेको छ ।
विश्वस्त स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निरन्तर रूपमा प्रधानमन्त्री कार्कीमाथि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेका छन् । बालेन र गृहमन्त्री अर्यालबीच पछिल्लो समय सम्बन्ध चिसिएको बताइन्छ ।
कुनै बेला आफ्नै कानूनी सल्लाहकार रहेका अर्यालप्रति असन्तुष्टि बढेपछि बालेनकै समूहले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीविरुद्ध अभियान चलाउन थालेको छ । केही वर्षअघि ‘इनफ इज इनफ’ अभियानमार्फत चर्चामा आएका अभियन्ता “ई”ले पनि मंगलबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई हटाउने अभियान तीव्र बन्दै गएको संकेत गरेका छन् ।
“बालेनले ओमप्रकाश अर्याललाई गृहमन्त्री बन्न नदिन पहिल्यै हरसम्भव प्रयास गरेका थिए,” अभियन्ता ईले लेखेका छन्, “पहिलो प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउने प्रयास बालेन समूहले गरेको हो ।”
स्रोतका अनुसार, नयाँ सरकार गठनका क्रममा पनि बालेनले पाण्डे वा चौधरीको नाममा जोडबल गरेका थिए । तर, प्रधानमन्त्री सुशीला कार्कीकै निर्णयमा ओमप्रकाश अर्याल गृहमन्त्री बनेका हुन् ।
केही दिनअघि गृहमन्त्री अर्यालले पनि आफ्नो नियुक्तिबारे संकेत गर्दै भनेका थिए, “म प्रधानमन्त्रीको सल्लाहकार भएर काम गर्न चाहन्थें, तर परिस्थितिवश गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्यो ।”
‘प्रधानमन्त्री फेरिन सक्ने परिस्थिति’
जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अभियन्ता ईले फेसबुकमा लेखेका छन् –
“पूर्ण भ्याकुम र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य बन्नुभयो । बालेनसँगको राजनीतिक र सैद्धान्तिक अस्पष्टता बीच पनि ओमप्रकाश अर्यालले विधिसम्मत ढंगले काम गर्नुपर्छ भन्ने अडान लिए । यही कारणले प्रधानमन्त्रीले उनलाई गृहमन्त्री बनाउनुपर्यो ।”
ईका अनुसार, गृहमन्त्रीलाई हटाउने खेलमा लाग्दा प्रधानमन्त्री कार्की स्वयं नै राजनीतिक अप्ठ्यारोमा पर्ने सम्भावना बढेको छ ।
“गृहमन्त्री कमी–कमजोरीरहित व्यक्ति होइनन्, तर सारथि फेरिए प्रधानमन्त्री पनि फेरिने अवस्था आउन सक्छ,” उनले लेखेका छन्, “यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चल्दैछ । के नवयुवाको रगत यसैका लागि बगेको हो? कस्तो विडम्बना! कस्तो निर्लज्जता!”
प्रधानमन्त्रीको संकेत : ‘जेनजी र बालेनको दबाब अस्वाभाविक’
केही दिनअघि दलका नेतासँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले पनि काम गर्न कठिन भइरहेको संकेत गरेकी थिइन् । उनका अनुसार, जेनजी आन्दोलनका नाममा विभिन्न समूह र काठमाडौं महानगरको अस्वाभाविक दबाबका कारण सरकार सञ्चालन सहज छैन ।
नेपाल कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार, प्रधानमन्त्रीले दलहरूसँगको छलफलमा भनेकी थिइन् –
“दलले पनि जेनजीसँग संवाद गर्नुपर्यो । कहिले के, कहिले के माग आउँछ । हामीले मात्रै उहाँहरूलाई बुझाउन खोज्दा कठिन भयो ।”
महतका शब्दमा, “प्रधानमन्त्री कार्कीले जेनजी र बालेनबीचको प्रभाव सन्तुलनमा राख्न कठिन भइरहेको बताउनुभयो । राजनीतिक निर्णयका प्रक्रियामा दलहरूलाई पनि सक्रिय भूमिका खेल्नुपर्ने उहाँको बुझाइ थियो ।”
अन्ततः सरकारभित्र असहजता र राजनीतिक गणित
पछिल्ला घटनाक्रमले देखाउँछ — बालेन साहको सक्रियता र जेनजी आन्दोलनको प्रभावबीच प्रधानमन्त्री कार्कीको नेतृत्व चुनौतीमा परेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालमाथिको विवाद र दबाबले सरकारभित्र असहजता थपिएको छ ।
विश्लेषकहरूका अनुसार, यदि यही शक्ति संघर्ष बढ्दै गयो भने नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना नकार्न सकिँदैन ।
समाज
थप सामाग्री
आईजीपी चन्द्रकुबेर खापुङले भने: कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक भएन, विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी संरचना नराखे हुन्छ
२३ घण्टा अगाडि
1.5kViews 205 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा…



