राज्यको आन्तरिक सुरक्षामा स्थिरता कायम गर्न सरकारले पाँच डिआइजी बढुवा सिफारिस गर्‍यो, कार्कीका लागि आइजिपीको बाटो सहज

काठमाडौं ।
राज्यको आन्तरिक सुरक्षा, नागरिकको ज्यान–धन, शान्ति र स्थायित्वसँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीको वृत्ति विकासमा राजनीतिक हस्तक्षेप नहोस् भन्ने उद्देश्यले सरकारले पाँच नायब महानिरीक्षक (डिआइजी) बढुवाको सिफारिस गरेको छ।

प्रशासनिक निकायहरूमा देखिएको अस्थिरता सुधार गर्ने लक्ष्यसहित बढुवा प्रक्रिया छिटो अघि बढाइएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बढुवाको क्रममा वरियताक्रम (रोलक्रम) यथावत राखिएको भए पनि पहिलो नम्बरमा रहेका एसएसपी विश्व अधिकारीलाई सिफारिसबाट छुटाइएको छ।
जेन–जी आन्दोलनमा दमनको आदेश दिएको आरोप लागेपछि उनी बढुवाबाट वञ्चित भएका हुन्।

२०८० वैशाख २४ को बढुवामा पहिलो नम्बरमा रहेका अधिकारी छुटेपछि दोस्रो नम्बरका भूपेन्द्र खत्रीदेखि छैटौँ नम्बरका अविनारायण काफ्लेसम्म डिआइजीमा सिफारिस भएका छन्। भूपेन्द्र खत्री पनि संगठनमा एक काबिल र निष्ठावान अफिसरको रूपमा परिचित छन्।

कार्कीका लागि आइजिपीको बाटो खुल्यो

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २७ गते अनिवार्य अवकाशमा जाँदैछन्। वरियताका आधारमा उनको उत्तराधिकारीका प्रमुख दावेदार एआईजी दानबहादुर कार्की हुन्।

भदौ २४ मा जेन–जी आन्दोलन उत्कर्षमा पुगेको समयमा कार्की काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा खटिएका थिए। डिआइजी बढुवाको नयाँ सिफारिस सूचीले अब कार्कीका लागि आइजिपी बन्ने बाटो सहज बनाएको प्रहरी स्रोतले जनाएको छ।

कार्की कमाण्ड कन्ट्रोल, निर्णय क्षमता र संगठनप्रतिको समर्पणका कारण प्रहरी संगठनभित्र उच्च सम्मान पाएका छन्।

प्रतिस्पर्धामा एआईजी मनोज केसी र राजन अधिकारी

कार्कीका प्रमुख प्रतिस्पर्धी एआईजी मनोज केसीएआईजी राजन अधिकारी हुन्।
मनोज केसी कांग्रेसनिकट, बौद्धिक र रणनीतिक सोच भएका अफिसरका रूपमा चिनिन्छन्।
राजन अधिकारी त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट हुन् र नीति निर्माण तथा अनुसन्धान क्षमताका कारण चर्चित छन्। उनी प्रधानमन्त्री सुशीला कार्कीका निकट रहेका स्रोतले जनाएका छन्।

भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डिआइजीमा सिफारिस भएपछि प्रहरी नेतृत्वमा नयाँ शक्ति सन्तुलन देखा परेको छ। अब प्रहरी वृत्तमा केन्द्रबिन्दु भने आगामी आइजिपी चयनमा कार्की, केसी र अधिकारीबीचको प्रतिस्पर्धा हुनेछ।

एआईजी दानबहादुर कार्की : इमानदारी, दूरदृष्टि र संगठनात्मक पुनर्जागरणको प्रतीक

नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो।
यस संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशकभन्दा बढी समय समर्पण गर्ने एक नाम अहिले अग्रपंक्तिमा छ — अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की

हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक नेतृत्व गरिरहेका छन्।

उनको करिअर इमानदारी, व्यावसायिकता र दूरदर्शी नेतृत्वको उत्कृष्ट संयोजनको उदाहरण हो।
डिएसपीका रूपमा उनले बानेश्वर क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय सफलता पाएका थिए।
एसपी हुँदा कपिलवस्तु र कास्कीमा सामुदायिक प्रहरी प्रणालीमा नयाँ दृष्टिकोण ल्याए।
एसएसपी हुँदा राजधानीमा प्रविधिमुखी र जनकेन्द्रित प्रहरी सेवाको सुरुवात गरे।
डीआईजी हुँदा केन्द्रीय प्रवक्ताको रूपमा उनले प्रहरीका जनसरोकारका विषय तथ्यगत, पारदर्शी र जिम्मेवार ढङ्गले प्रस्तुत गरे।
लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा उनले संगठनलाई अनुशासन, जवाफदेहिता र दक्षताको नयाँ उचाइमा पुर्‍याए।

चुनौतीपछिको पुनर्जागरण

जेन–जी आन्दोलनपछि प्रहरीले भोग्नुपरेको चुनौती र आलोचनाबीच कार्कीले संगठनभित्र मनोबल अभिवृद्धि अभियान थाले।
उनले तालिम, समन्वय र आत्मबल वृद्धि कार्यक्रमलाई प्राथमिकता दिए।
यसले प्रहरीभित्र नयाँ ऊर्जा भर्नुका साथै जनता र प्रहरीबीचको विश्वास थप मजबुत बनाएको छ।

कार्कीको इमानदार छवि

डिएसपीका समयदेखि नै कार्की कमाण्ड कन्ट्रोलमा दक्ष र इमानदार अफिसरका रूपमा परिचित छन्।
नाकाबन्दीका बेला उनले दुगड समूहको कालोबजारीविरुद्ध मुद्दा दायर गरी भ्रष्टाचारविरुद्धको दृढता देखाएका थिए।
१२० रुपैयाँ पर्ने तोरीको तेल ३४० रुपैयाँमा बिक्री गरेको सूचनापछि उनले गोदाममा छापा मारी कालोबजारीमा मुद्दा चलाएका थिए।

त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरणमा पनि कार्कीको भूमिका निर्णायक रह्यो।
उनको पहलमा अदालतमा पुनः अनुसन्धान गर्न सकिने व्यवस्था थपिएको थियो, जसले प्रहरी अनुसन्धानको विश्वसनीयता पुनर्स्थापित गर्न सहयोग पुर्‍यायो।

तसर्थ :

प्रहरी संगठनभित्र सुधार, इमानदारी र पुनर्जागरणको प्रतिनिधि पात्रका रूपमा दानबहादुर कार्की उदाएका छन्।
अब आइजिपी चयनको निर्णायक घडी नजिकिँदै गर्दा, प्रहरीभित्र र बाहिर सबैको नजर कार्की, केसी र अधिकारीबीचको प्रतिस्पर्धामा केन्द्रित छ —
तर संगठनभित्र बहुमतको धारणा एकै छ,

“नेपाल प्रहरीको भविष्य इमानदार नेतृत्वमा सुरक्षित हुन्छ — र त्यो नेतृत्व दानबहादुर कार्की हुन्।”

 

Facebook Comments Box
TOP
139 Shares