प्रहरी नेतृत्व चयनमा अस्वाभाविक लबिङ : दानबहादुर कार्कीलाई किन रोक्न खोजिँदैछ ?

काठमाडौं ।
नेपाल प्रहरीको नेतृत्वमा फेरबदलको तयारी भइरहेका बेला संगठनभित्रको योग्यता, कार्यक्षमता र इमानदारीभन्दा बढी राजनीतिक लबिङको प्रभाव बढ्दै गएको देखिन्छ। आगामी कात्तिक २६ गते प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ अवकाशमा जाँदै गर्दा नयाँ आईजीपी नियुक्तिको दौड तीव्र बनेको छ।

एआईजी दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारीसिद्धिबिक्रम शाहमध्ये मनोज केसी सरकार नजिक देखाउने प्रयास भइरहे पनि संगठनभित्रको मूल्याङ्कन फरक दिशा देखाउँछ। प्रहरीका वरिष्ठ अधिकृतहरूका अनुसार “सङ्गठनिक दक्षता, नेतृत्व क्षमता र फील्ड कमाण्डको वास्तविक अनुभवका हिसाबले कार्की सबैभन्दा योग्य उम्मेदवार हुन्।”

 केसीमाथि राजनीतिक छायाँ, कार्कीमाथि पेशागत गौरव

गृह प्रशासनका जानकारहरू बताउँछन्— एआईजी केसी पछिल्ला महिनाहरूमा गृह मन्त्रालय र केही राजनीतिक शक्तिकेन्द्रहरूमा अत्यधिक सक्रिय देखिएका छन्। उनी “अनुकूल वातावरण सिर्जना” गर्न स्थायी ब्यूरोक्र्याट र सत्तारूढ निकट सञ्जालमा निरन्तर सम्पर्कमा छन्।
तर संगठनभित्र भने फरक धारणा छ। प्रहरी स्रोतका अनुसार, “केसी राम्रो अफिसर हुन् तर हालको दौडमा उनीभन्दा बढ्ता राजनीतिक समर्थन खोजिरहेका छन्, जुन प्रहरी नेतृत्वको स्वाभाविक संस्कारसँग मेल खाँदैन।”

त्यहीँ, एआईजी दानबहादुर कार्की भने “संगठन निष्ठा, निष्पक्षता र स्थायित्वको प्रतीक”का रूपमा चिनिन्छन्।
भदौ २३–२४ को ‘जेन–जी आन्दोलन’का घटनामा पनि कार्कीले तत्कालीन परिस्थितिमा संवैधानिक आदेश र कानुनी सीमाभित्र रहेर मात्रै सुरक्षा सञ्चालन गरेका थिए। उनले अनावश्यक बल प्रयोग गर्न नदिएको र “राजनीतिक निर्देशनलाई भन्दा नियमलाई प्राथमिकता दिएको” तथ्य प्रहरी दस्तावेजहरूमा स्पष्ट देखिन्छ।

 खापुङको सिफारिसले सशंकित बनायो प्रक्रिया

प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले हालका नियुक्ति, बढुवा र सिफारिसहरूमा राजनीतिक सन्तुलनभन्दा बढी व्यक्तिगत निकटता हेरेको आरोप संगठनभित्रै उठेको छ।
त्यो सन्दर्भमा, खापुङकै सिफारिसमा एसएसपी विश्व अधिकारीको बढुवा रोकिँदा, त्यसको अप्रत्यक्ष असर तत्कालीन महानगरीय प्रमुख रहेका दानबहादुर कार्कीमाथि पनि पारिएको विश्लेषण छ।
एक वरिष्ठ प्रहरी अधिकारी भन्छन्— “जसले संकटको समयमा संगठनलाई बचायो, उसैलाई शंका र आरोपको घेरामा पार्नु अन्याय हो।”

 जाँचबुझ आयोग र मनोबलको प्रश्न

हाल गठन गरिएको गौरीबहादुर कार्की आयोगले भदौ २३–२४ का घटनाबारे अनुसन्धान गर्दै प्रहरी प्रमुखदेखि क्षेत्रीय कमाण्डरसम्मलाई बयानका लागि बोलाएको छ।
तर यो आयोग राजनीतिक दबाबमा प्रभावित भइरहेको संकेत प्रहरी स्रोतहरूले दिएका छन्।
आयोगको पत्रका आधारमा “उपत्यका नछाड्ने निर्देशन” जारी गर्नु संगठनको मनोबल कमजोर पार्ने कदमको रूपमा हेरिएको छ।

एक प्रहरी निरीक्षकको भनाइमा,

“हामीमाथि राजनीतिक प्रतिशोध चलिरहेको अनुभूति भइरहेको छ। यस्तो अवस्थामा मनोबल गिर्छ र पेशागत आत्मविश्वास हराउँछ। कार्कीजस्ता निष्पक्ष अफिसरलाई बलियो बनाउनु पर्ने बेला उल्टै कमजोर पार्ने प्रयास भइरहेका छन्।”

 निष्कर्ष : संगठनमाथि होइन, व्यक्ति र सञ्जालमाथि भरोसा?

नेपाल प्रहरी नेतृत्वमा हुने नियुक्ति केवल पदको अदला–बदली होइन — यो संस्थागत स्वायत्तताको परीक्षा पनि हो।
यदि योग्यता, अनुभव र ईमानदारीका आधारमा नेतृत्व रोजिनुपर्ने हो भने दानबहादुर कार्की अग्रस्थानमा छन्। तर यदि लबिङ र राजनीतिक समीकरणले निर्णायक भूमिका खेल्ने हो भने, त्यो प्रहरीको आत्मसम्मानमाथिको चोट हुनेछ।

राजनीतिक शक्ति–सन्तुलनका लागि होइन, संगठनको मनोबल र स्थायित्वका लागि कार्की योग्य छन।
नेपाल प्रहरीलाई अहिले निष्ठा, अनुशासन र दूरदृष्टि भएको नेतृत्व चाहिएको छ — जसको प्रतिरूप दानबहादुर कार्की हुन्।

 

Facebook Comments Box
TOP
340 Shares