प्रहरी एकताको जगमा दान कार्की आइजीपी

काठमाडौं ।
वर्तमान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको अवकाश म्याद सकिनु नजिकिँदै गर्दा प्रहरी संगठन नयाँ नेतृत्व पाउनको तयारीमा छ। देश राजनीतिक संक्रमण, शासन–प्रशासनमा चुनौती, र समाजमा बढ्दो असुरक्षाका परिस्थितिमा प्रहरी नेतृत्वको छनोट यसपटक विशेष चासोको विषय बनेको छ।

विगतका वर्षहरूमा देखिएको भ्रष्टाचार, कुशासन र संस्थागत अपारदर्शिताका विरुद्ध देशभर युवाहरुले शान्तिपूर्ण आन्दोलन चलाइरहेका बेला भएको आतंकी घुसपैठ र त्यसबाट सृजित अस्थिरताले प्रहरी संगठनमाथि पनि ठूलो जिम्मेवारी आएको छ। यस्तै संवेदनशील घडीमा नेपाल प्रहरीको नेतृत्व केवल संगठनकै होइन, समग्र समाजकै स्थायित्व र विश्वास पुनर्स्थापनाको प्रतीक बन्नुपर्ने आवश्यकता छ।

चलखेल होइन, प्रणालीमै आधारित छनोटको अपेक्षा

विगतमा प्रहरी प्रमुख छनोटका क्रममा हुने गरेका अनावश्यक राजनीतिक र प्रशासनिक चलखेल तथा स्वार्थका हिसाब–किताबले संगठनको विश्वसनीयता कमजोर बनाएको गुनासो धेरै थियो। तर यसपटक योग्यता, क्षमता र वरिष्ठतामाथि आधारित पारदर्शी निर्णय हुने अपेक्षा गरिएको छ।

एसएसपीदेखि डीआईजीसम्मको बढुवामा देखिएको असमान व्यवहार र इमानदार अधिकृतहरूमाथिको अन्यायका घटनाबाट सिक्दै, यसपटक ऐन–नियम र अदालतका व्याख्यालाई नै आधार बनाइने सर्वत्र अपेक्षा गरिएको छ।

संविधान र प्रहरी ऐनले तोकेको स्पष्ट मापदण्डअनुसार नेतृत्व छनोट भए मात्र यो निर्णय ऐतिहासिक, सम्मानजनक र सर्वस्वीकार्य हुनेछ भन्ने बुझाइ छ।

प्रधानमन्त्री र गृहमन्त्रीप्रति विश्वास

वर्तमान प्रधानमन्त्री सुशिला कार्की न्यायिक क्षेत्रको दृढ छविका रुपमा परिचित छिन्। न्यायाधीशको हैसियतमा विधिको शासनको पक्षमा स्पष्ट नजीर स्थापित गरिसकेकी उहाँले अब कार्यकारी प्रमुखको हैसियतमा पनि त्यही सिद्धान्तलाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विधिको शासन र पारदर्शी प्रशासनका पक्षधर गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ऐनअनुसार निर्णय गर्ने प्रतिबद्धता देखाएका छन्। यी दुई व्यक्तित्वको संयोजनले प्रहरी नेतृत्व छनोटमा निष्पक्ष र संस्थागत निर्णय हुनेमा प्रहरी निकायभित्र उच्च विश्वास छ।

संगठनभित्र एकताको भावना

नेपाल प्रहरीका उच्च अधिकारीहरूबीच आन्तरिक एकता र संगठनको हितलाई व्यक्तिगत चाहनाभन्दा माथि राख्ने मनोवृत्ति देखिनु सकारात्मक संकेत हो। उनीहरू संगठनको मनोबल, भावनात्मक एकता र सामूहिक नेतृत्वको आवश्यकतालाई गम्भीरताका साथ बुझिरहेका छन्।

यद्यपि, कतिपय स्वार्थी पात्रहरूले “धमिलो पानीमा माछा मार्ने” प्रयास गरेको खबर पनि आएका छन्। तर प्रहरीभित्रको एकता, जनतामा बढ्दो सचेतता र वर्तमान सरकारको दृढ प्रतिबद्धताले त्यस्ता प्रयास असफल हुने सम्भावना बढी छ।

अबको सम्भावना : दान बहादुर कार्की

सबै मापदण्ड र परिस्थितिहरू हेर्दा वरिष्ठतम अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की नेपालको आगामी ३३औँ आइजीपी बन्ने प्रबल सम्भावना देखिन्छ। कार्कीले आफ्नो करियरमा इमान्दारिता, अनुशासन र संगठनप्रतिको समर्पणका कारण उच्च सम्मान कमाएका छन्।

यदि नेतृत्व जिम्मेवारी उहाँकै हातमा पुग्यो भने, कार्कीले प्रहरीको आन्तरिक एकता सुदृढ गर्दै, कानून र जनताको सुरक्षालाई केन्द्रमा राखेर संगठनलाई नयाँ उचाइमा पु-याउने विश्वास प्रहरीभित्र मात्र होइन, नागरिक समाजमा समेत बढ्दो छ।

तसर्थ :

नेपाल प्रहरीको नेतृत्व परिवर्तन केवल पदस्थापनाको कुरा होइन — यो न्याय, संस्थागत शुद्धता र विधि शासनप्रतिको सरकारको वास्तविक प्रतिबद्धताको परीक्षण हो।
यदि छनोट निष्पक्ष, योग्यता र प्रणालीमा आधारित रह्यो भने, प्रहरी संगठनमा नयाँ ऊर्जा, एकता र जनविश्वास पुनःस्थापित हुनेछ।

 

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
437 Shares