मधेसभरि प्रहरीको ‘एक प्रहरी, एक थुनुवा’ अभियान
जनकपुरधाम ।
मधेस प्रदेशमा वर्षौँदेखि अपराध गरेर फरार रहेका अभियुक्तहरू अब सुरक्षित छैनन्। हत्या, बलात्कार, ठगी, लागूऔषध कारोबारदेखि संगठित अपराधसम्ममा संलग्न भई प्रहरीको आँखामा छलेर खुलेआम हिँडिरहेका फरार थुनुवा तथा वाञ्छित अभियुक्तहरूलाई कानुनी कठघरामा ल्याउने उद्देश्यसहित मधेस प्रदेश प्रहरीले ऐतिहासिक र साहसी अभियान सुरु गरेको छ।
“एक प्रहरी, एक थुनुवा पक्राउ अभियान” नाम दिइएको यो विशेष अभियान माघ १ गतेदेखि मधेसका आठवटै जिल्लामा एकसाथ लागू गरिएको हो। अभियान सुरु भएसँगै अपराधी वृत्तमा हडकम्प मच्चिएको छ भने आम नागरिकमा सुरक्षा र न्यायप्रतिको आशा पलाएको छ।
व्यक्तिगत जिम्मेवारीमा आधारित नयाँ अवधारणा
मधेस प्रदेश प्रहरी कार्यालयका नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाका अनुसार यो अभियान परम्परागत शैलीभन्दा फरक, व्यक्तिगत उत्तरदायित्वमा आधारित नवीन अवधारणा हो।
अभियानअन्तर्गत प्रदेशभर कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई कम्तीमा एक जना फरार थुनुवा वा वाञ्छित अभियुक्त पक्राउ गर्ने जिम्मेवारी तोकिएको छ।
“प्रहरी संगठन सामूहिक जिम्मेवारीमा चल्छ, तर व्यक्तिगत उत्तरदायित्व बिना परिणाम आउँदैन,” डीआईजी थपलियाले भने,
“यस अभियानले प्रहरीको सक्रियता, जिम्मेवारीबोध र परिणाममुखी कार्यसंस्कृति विकास गर्छ।”
अभियान लागू भएसँगै सिपाहीदेखि अधिकृत तहसम्मका प्रहरीहरू आ–आफ्नो कार्यक्षेत्रमा सूचना संकलन, निगरानी र खोजतलासमा तीव्र रूपमा खटिएका छन्।
वर्षौँदेखि फरार अभियुक्त प्रहरीको प्राथमिकतामा
मधेस प्रदेशमा हत्या, बलात्कार, अपहरण, ठगी, लागूऔषध, हातहतियार खरखजाना, घरेलु हिंसा र संगठित अपराधजस्ता गम्भीर मुद्दामा संलग्न भई सयौँ अभियुक्त फरार छन्। कतिपय अदालतबाट सजाय तोकिएपछि पनि फरार छन् भने कतिपय मुद्दा दर्ता भएदेखि नै प्रहरीको पहुँचबाहिर थिए।
प्रहरीका अनुसार विगतमा जनशक्ति अभाव, स्रोतसाधनको कमी, राजनीतिक दबाब र सूचनाको अभावका कारण अभियुक्त पक्राउमा कठिनाइ हुँदै आएको थियो। नयाँ अभियानले ती कमजोरी चिर्ने प्रयास गरेको प्रहरीको दाबी छ।
समुदाय र जनप्रतिनिधिसँग सहकार्य
अभियानको सबैभन्दा बलियो पक्ष भनेको समुदायसँगको सहकार्य हो। स्थानीय तह, जनप्रतिनिधि, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, टोल विकास समिति तथा विश्वासिला सूचनादाताको सहयोगमा फरार अभियुक्तको खोजी तीव्र पारिएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार,
“अपराधी समाजमै लुकेका हुन्छन्। उनीहरूलाई चिन्न समाजकै सहयोग आवश्यक पर्छ।”
गोप्य सूचनाका आधारमा रातारात छापा, सीमावर्ती क्षेत्रमा कडा निगरानी र अन्तरजिल्ला समन्वयलाई प्रभावकारी बनाइएको छ।
प्रारम्भिक चरणमै उल्लेख्य सफलता
अभियान सुरु भएको छोटो अवधिमै हत्या, ठगी, लागूऔषध र घरेलु हिंसाका मुद्दामा फरार रहेका अभियुक्तहरू विभिन्न जिल्लाबाट पक्राउ पर्न थालेका छन्।
केही अभियुक्त भारततर्फ लुकेर बसेको सूचनासमेत प्राप्त भएपछि सीमापार समन्वय र विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ।
उत्कृष्ट प्रहरीलाई पुरस्कार
अभियानलाई थप प्रभावकारी बनाउन उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र सम्मान गर्ने व्यवस्था पनि गरिएको छ।
“काम गर्ने प्रहरीलाई राज्यले चिन्नुपर्छ,” डीआईजी थपलियाले भने,“यसले प्रहरीको मनोबल बढाउनुका साथै नागरिकको भरोसा पनि बलियो बनाउँछ।”
कानुनको शासन स्थापित गर्ने दृढ संकल्प
प्रहरीका अनुसार यो अभियान केवल पक्राउमा सीमित छैन। यसको मूल उद्देश्य अपराध अनुसन्धानलाई परिणाममुखी बनाउने, फरार अभियुक्तप्रति कडाइ गर्ने र कानुन सबैका लागि बराबर हो भन्ने सन्देश दिनु हो।
अभियान सुरु भएसँगै लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडित परिवारमा आशा जागेको छ भने अपराधी वृत्तमा स्पष्ट त्रास देखिएको छ।
एक स्थानीय बासिन्दाले भने“वर्षौँदेखि खुल्लै हिँड्ने अपराधी अब पक्राउ पर्छन् भन्ने विश्वास पलाएको छ।”अपराधीका दिन गनिन थालेका छन।
तराई बासिन्दाहरुका अनुसार यदि यो अभियान निरन्तर, निष्पक्ष र राजनीतिक हस्तक्षेपविनै सञ्चालन भयो भने मधेस प्रदेशमा अपराध नियन्त्रणमा दीर्घकालीन सकारात्मक प्रभाव पर्न सक्छ।
मधेस प्रदेश प्रहरीले सुरु गरेको “एक प्रहरी, एक थुनुवा पक्राउ अभियान” केवल प्रहरी कारबाही मात्र होइन, कानुनको शासन स्थापित गर्ने दृढ संकल्प हो।
फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउने यो अभियान सफल भयो भने मधेसमा अपराधीका लागि कुनै सुरक्षित स्थान रहने छैन।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.4kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



