सरकारकै कारण बढ्यो अपराध, जनताले कसरी गर्ने सरकारमाथि विश्वास ?
बैंकमा भएको लुटपाटले यतिबेला समाज तरंगित छ । केही दिनअघि मात्रै सिन्धुलीमा नेपाल एसबिआई बैंक लुटियो । त्यहाँबाट ठूलो रकम चोरी भएको छ । घरधनीकै योजनामा चोरी गरिएको तथ्य सार्वजनिक भएको छ । यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय चोरहरुको बिगबिगी छ ।
दिनदहाडै चोरी भएको घटनाहरु सार्वजनिक भइरहेका छन् । कसैको सुनको गहना त कसैको रकम चोरी भइरहेको छ । सार्वजनिक यातायातमा पनि पाकेटमारको बिगबिगी छ । तर, चोरको बिगबिगी किन भइरहेको छ ? सरकारले सुरक्षा दिन नसकेको कि बेरोजगारी बढेको?
सार्वजनिक यातायातमा हिँड्न डरमर्दो छ । चोरले कतिबेला पाकेट मार्ने हो थाहा हुँदैन । गरगहना लगाएरै निस्किनै नहुने अवस्था आएको छ । कानै चुडालेर गहना चोरेको घटना घटिरहेको छ । पैसा लुट्नका लागि मान्छेको ज्यानसमेत लिइएको घटना हालै घटेको छ । यसले समाज कतातिर गइरहेको छ ? चिन्ता गर्नुपर्ने अवस्था बनेको छ ।
नत्र त मान्छेले कहीँकतै पनि सुरक्षित महसुश गर्दैनन् । पहिले बैंकमा पैसा राख्दा सुरक्षित छ भन्ठानिन्थ्यो । तर, बैंक नै फुटाउन थालेपछि त्यहाँपनि राख्न नहुने अवस्था सिर्जना भएको छ । घरमा पैसा राख्दा ज्यानै पो जाने हो कि भन्ने डर छ । सुन तोलाको दुई लाख ७८ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
थोरै सुन भएपनि मालामाल हुने भएकाले चोरहरुको नजर त्यसमा छ । सुनको लागि मान्छे नै मार्छन् । तैपनि, सर्वसाधारण सचेत हुन सकेका छैनन् । देखाउनका लागि गलाभरि सुन लगाएर हिँड्छन् । केही वर्षअघि चाबहिलमा एउटा सुनको सिक्रीका लागि महिलाको ज्यानै लिइयो ।
त्यो घटनाबाट पनि जनताले पाठ सिक्न सकेनन् । देखाउनका लागि टन्न सुन लगाएर हिँड्ने क्रम जारी नै छ । यसले ज्यानै जोखिममा पार्न सक्छ। पछिल्लो समय सर्वसाधारणमा मँहगा मोबाइलको मोह देखिएको छ । लाखौं पर्ने मोबाइल बोक्छन् अनि देखाउँदै हिँड्छन् । त्यहीँ मोबाइलकै कारण पनि ज्यान जान सक्छ भन्ने उनीहरुले बुझेका छैनन।
आफूले जे लगाएपनि, खाएपनि कसैलाई देखाउन पर्ने आवश्यकता छैन । विडम्बना, समाज नै देखासिकीमा गएको छ । जसलाई पनि आफ्नो रवाफ देखाउनु छ । जसले ज्यान नै खतरामा पारिरहेको छ । मोबाइल हातमा बोकेर हिँड्ने होइन, ब्यागमा राख्ने हो । भदौ २३ र २४ गतेको घटनामा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई राज्यले छोडिदियो ।
बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा लुटपाट गरियो । सरकारी र निजी सम्पत्ति जलाउने, लुटपाट गर्नेलाई सरकारले रिहा गर्दा चोरहरुको मनोबल बढ्दै गयो । व्यापारी र सर्वसाधारणको आत्मबल भने घट्दै गएको छ । राष्ट्रिय वाणिज्य बैंक लुट्नेहरुलाई त्यतिबेलै कारबाही गरेको भए, सायदै सिन्धुलीको बैंक लुटिन्थ्यो ।
जनतालाई चोर्न सिकाउने सरकार नै हो भन्ने पुष्टि भइसकेको छ । चोरको नाइके प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल हुन्। प्रहरीले दुई दिने घटनामा संलग्न भएको आरोपमा ५९१ जनालाई पक्राउ गरिसकेको थियो । तर, राजनीतिको नाम दिएर उनीहरुलाई छोडियो।
एकचोटि अपराधमा मुछिएकाहरु अर्कोचोटि अपराधमा मुछिदैन भन्ने के ग्यारेण्टी ? सरकारले दण्डहीनतालाई प्रश्रय दियो । आफ्नो पद टिकाउनका लागि सरकारले सरकारी र निजी सम्पत्तिमा आगजनी गर्नेलाई छोडिदियो । भदौ २३ र २४ गतेको घटनामा सरकारी सम्पत्तिमा ८४ अर्ब बढीको क्षति पुगेको छ ।
त्यसैगरी, निजी सम्पत्तिमा २७ अर्ब बढीको क्षति भएको छ । आन्दोलनको नाममा अर्काको सम्पत्तिमा आगो लगाउने र लुट्नेलाई छोडिदिँदा जनता त्रसित भएका छन् । यहाँ सुरक्षा छैन भन्ने कुरा जनताले बुझिसकेका छन् । सरकारको यस्तो प्रवृत्तिले जनता अझै पलायन हुन्छन् ।
कर तिर्दैनन् । पर्यटकहरु पनि नेपाल आउँदैनन् । कानुनको पालना गराउने पेशाबाट आएका प्रधानमन्त्री र गृहमन्त्रीले कानुनको धज्जी उडाएका छन् । यिनीहरुको कारणले जनताको निदहराम भएको छ । यता, सुरक्षा निकाय पनि अडिग हुन सकेन । जसका कारण सुरक्षा निकाय बारम्बार विवादित बनिरहेको छ ।
सरकारले जसरी चाहन्छ, सुरक्षाकर्मी त्यसरी चल्छन् । सरकारले निर्णय गर्यो, सुरक्षा निकायले छोडिदियो । तर, सुरक्षा निकाय कानुनबमोजिम अघि बढ्नुपर्छ भन्नेमा अडिग हुनुपर्थ्यों । अपराध गर्नेलाई छोड्दैनौं भनेर उनीहरुले आवाज उठाउन सक्नुपर्थ्यो । विडम्बना, सरकारको अगाडि सुरक्षा निकाय मौन भयो ।
विगतदेखि नै सुरक्षाकर्मी सरकारको दाहिने हात भयो । सरकारले जे भन्यो, त्यही गर्नें ? सुरक्षा निकायले आफ्नो स्ट्याण्ड लिन सक्नुपर्छ नत्र कमजोर हुन्छ । जसको नमूना नेपालको सुरक्षा निकाय नै हो । अपराध गर्नेलाई छोड्यो भने देश असुरक्षित हुन्छ भन्न सक्नुपर्थ्यो, सुरक्षा निकायले ।
राज्य सबै जनताको अभिभावक हो । तर, कार्की नेतृत्वको सरकार रवि लामिछाने, सुधन गुरुङ्ग, बालेन्द्र साह, कुलमान घिसिङको अभिभावकजस्तो मात्र देखिएको छ । भदौ २३ र २४ गतेको घटनालाई रविले समर्थन गरेका थिए । बालेन, सुशीला र कुलमान पनि आन्दोलनको पक्षमा थिए ।
आन्दोलनलाई उचाल्ने सुशीला देशको प्रधानमन्त्री भइन् । उनकै योजनामा रवि छुटेको जनताले बुझिसकेका छन् । यता, उनले नै रविको मुद्दा फिर्ता लिने काम गरेको पनि जनताले बुझिसकेका छन् । बचतकर्ताको आँशु नदेखेकी उनले रविलाई निकालेरै छाडिन् । उनी विगतदेखि नै रविको पक्षमा थिइन् ।
पद पाउनेबित्तिकै उनले आफ्नो योजनालाई मूर्त रुप दिएरै छोडिन् । रविको कारणले नेपाल सम्पत्ति शुद्धिकरणको कारबाहीमा पर्ने जोखिम बढेको छ । नेपाल कालोसूचीमा पर्यो भने यसको जिम्मा सुशीला कार्की, रवि लामिछाने, सुधन गुरुङ्ग र बालेन्द्र साहले लिनुपर्छ । रविलाई निकाल्न यी सबैले सराबरीको भूमिका खेलेको प्रष्ट देखिन्छ ।
सहकारी पीडितहरु न्याय माग्दै हिँडेका छन् । सुशासनका लागि बनेको सरकारले एउटाका लागि लाखौं सहकारी पीडितमाथि अन्याय गर्यो । अहिले रविलाई निकाल्नुपर्ने के आवश्यक थियो ? तर, निकालियो । आफ्नो भूभाग र जनताको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो ।
न सरकार देशको भूभागको सुरक्षा गर्न सक्छ न जनताको जनधनको । दिँउसै आतंक मच्चाउनेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । जनताले तिरेको करबाट सुरक्षाकर्मीले तलब खान्छन् । लुगा लगाउँछन्, पेन्सन खान्छन् । तर, देश र जनताको लागि काम गर्दैनन् । सुरक्षाकर्मी सरकारको कठपुतली बने ।
सुरक्षाकर्मी स्वतन्त्र हुन सकेनन् । निजामती कर्मचारीको अवस्था पनि उस्तै छ । राजनीतिक दलको सदस्यता लिने, एउटा पार्टीको सरकार ढालेर अर्को सरकार ल्याउने काम ब्यूरोक्रेसी र सुरक्षा संयन्त्रबाट भइरहेको छ । सरकारले जनता र विदेशीलाई विश्वास दिलाउन सक्नुपर्छ । अनि मात्र अर्थतन्त्र सुध्रिन्छ ।
त्यसपछि जनताले लगानी गर्छन् । विदेशी लगानीकर्ता आउँछन् र धेरैले रोजगारी पाउँछन् । तर, जनताले कसैलाई विश्वास दिलाउन सकेन । जसका कारण अर्थतन्त्र डामाडोल भयो । भएका उद्योगहरु पनि बन्द भयो । नागरिक बेरोजगार हुँदा चोरी, लुट्पाटका घटना बढ्यो । जनताले अब आफ्नो जनधनको आफैं सुरक्षा गरौं ।अनुसा थापा
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.6kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



