सिन्धुपाल्चोक–२ बाट युवराज दुलालको उम्मेदवारी घोषणा, ‘इमानको राजनीति’लाई मूल आधार

सिन्धुपाल्चोक । “सपना, सङ्कल्प, योजना र इमानको राजनीति”लाई आफ्नो मूल मन्त्र बनाउँदै युवराज दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आदरणीय आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा नवयुवा (Gen-Z) पुस्तालाई भावुक सम्बोधन गर्दै दुलालले आफू पुनः जनताकै माया, प्रेरणा र आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको स्पष्ट पारे। उनले यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई सिन्धुपाल्चोक–२ का विकासप्रेमी र परिवर्तनप्रेमी नागरिकहरूको साझा संकल्प भएको बताए।
सिन्धुपाल्चोक र समग्र देशको विकास, राष्ट्रिय हितको रक्षा तथा जनताको जीवनस्तर सुधार नै आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै दुलालले गाउँबाटै उठेका जनभावना र आवाजलाई सिंहदरबारसम्म पुर्‍याउने प्रतिबद्धता जनाए। “जनताकै कलमले कानून लेख्ने र जनताकै पक्षमा राजनीति गर्ने मेरो अठोट हो,” उनले भने।
उनले आफ्नो उम्मेदवारीलाई सिन्धुपाल्चोक–२ का आम नागरिकको गौरव र पहिचानसँग जोड्दै यसलाई विजयी बनाउने जिम्मेवारी पनि जनताकै काँधमा रहेको उल्लेख गरे। दुलालको घोषणासँगै जिल्लामा नयाँ राजनीतिक उत्साह र बहस सुरु भएको छ, विशेषगरी युवापुस्तामा उनको उम्मेदवारीप्रति चासो बढ्दो देखिएको छ।
स्थानीय स्तरमा विकास, सुशासन र इमानदार राजनीतिका पक्षधरका रूपमा चिनिँदै आएका दुलालको उम्मेदवारीले सिन्धुपाल्चोक–२ को चुनावी समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
359 Shares