कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ। आयोगले निर्धारण गरेका १७ वटा सूचकका आधारमा गरिएको मूल्यांकनमा काठमाडौंले सबैभन्दा कम अंक प्राप्त गरेको हो।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौं महानगरपालिकाले जम्मा ४४.९७ अंक मात्र प्राप्त गर्दै छैटौं स्थानमा परेको छ।
यस वर्षको मूल्यांकनमा भने विराटनगर महानगरपालिका उत्कृष्ट सावित भएको छ। मोरङको विराटनगरले ७८.११ अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।
ललितपुर महानगरपालिका ७६.३३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने चितवनको भरतपुर महानगरपालिका ६८.०४ अंकसहित तेस्रो स्थानमा परेको छ।
त्यसैगरी पोखरा महानगरपालिका ५८.०४ अंकसहित चौथो र वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा रहेका छन्।
१७ सूचकमा आधारित मूल्यांकन
आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गर्दा कुल १७ वटा सूचकलाई आधार मानेको थियो। तीमध्ये प्रमुख रूपमा:
असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको
असार मसान्तभित्र बजेट पारित गरे/नगरेको
आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको
आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको
बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको
जस्ता वित्तीय अनुशासन र पारदर्शितासँग सम्बन्धित सूचकहरू समेटिएका छन्।
आयोगको यो मूल्यांकनले स्थानीय तहको वित्तीय व्यवस्थापन, जवाफदेहिता र प्रशासनिक दक्षताको अवस्थालाई प्रतिविम्बित गरेको बताइएको छ। काठमाडौं महानगरको कमजोर प्रदर्शनले महानगरको वित्तीय अनुशासन र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ भने विराटनगरको उत्कृष्ट नतिजाले प्रभावकारी वित्तीय प्रशासनको उदाहरण प्रस्तुत गरेको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
359 Shares